काठमाडौं(जस)–प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तरकारीमा विषादी परीक्षणमा सरकारको राष्ट्रवादी चरित्र विसर्जित भएको आरोप लगाएको छ । सरकारले तयारी नपुगेको भन्दै भारतबाट आउने तरकारीको विषादी परीक्षण गर्न तत्काल स्थगित गरेपछि काँग्रेसले सरकारलाई यस्तो प्रश्न गरेको हो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो प्रश्न गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘नागरिक जीवनका प्रति गम्भीर संवेदनशीलता राखेको भ्रम सम्प्रेषण गर्ने तर नागरिकको स्वास्थ र समग्र जीवनप्रति गम्भीर खेलवाड गर्न किञ्चित नहिच्किने वर्तमान सरकारको जनविरोधी प्रवृत्तिलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ ।’
काँग्रेसले नेपाल–भारत सिमाको भन्सार विन्दुमा तरकारी फलफुल लगायतमा विषादीको अवशेष अनिवार्य परिक्षण गर्ने नीति सरकार स्वयंले सूचना प्रकाशित गरेर सार्वजनिक गरेकोमा अहिले आएर सरकारले एकाएक कुनै परिक्षण वेगर भित्रिन दिने आदेश दिएको समाचार अत्यन्त गम्भीर रहेको जनाएको छ । काँग्रेसले यसबारेमा पारदर्शी र आधिकारिक धारणा तत्काल सार्वजनिक गर्न सरकार समक्ष माग समेत गरेको छ ।
काठमाडौँ सहरको प्रदुषणको प्राविधिक मापनको ज्ञान वेगर एकातर्फ मास्क नलगाई हिड्न अपिल गर्ने अनि अर्कोतर्फ विषादीयुक्त तरकारी परिक्षण वेगर अन्धाधुन्ध प्रवेश गर्न दिने दोहोरो चरित्र सरकारले प्रस्तुत गर्नु अत्यन्त दुःखद रहेको काँग्रेसले बताएको छ ।
विषादीयुक्त खाद्य पदार्थका कारण अनेक रोगले नागरिकलाई गाँजिरहेको तथ्यलाई विर्षिएर सरकार आफ्नै घोषणा विपरीत उभिनु नागरिक जीवन माथि हदैसम्मको गैह्र जिम्मेवारी हो भन्दै निर्वाचनका बेला अभिव्यक्त महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विर्स्जित हुँदैछ ? भन्दै प्रश्न गरेको छ । नागरिक जीवन माथि खेलवाड गर्ने गैह्र जिम्मेवार सरकारको भत्र्सना गर्दै काँग्रेसले विषादीयुक्त तरकारी–फलफुल प्रवेशमा तत्कालै कडा परिक्षण र नियन्त्रणको मार्गमा उभिन सरकारलाई सचेत गराएको छ ।