काठमाडौँ(जस)–सरकारले इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आइफा) अवार्डको सन्दर्भ सरकारसँगको विषय नभई निजी मामिला भएको स्पष्ट पारेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आइफा अवार्डबारे सरकारसँग जोडेर अनर्गल प्रचार गरिएको भन्दै यो सरकारको नभई निजी क्षेत्रको विषय भएको बताए । हालै भएको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न बिहिबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले आइफा अवार्डका विषयमा छलफल गर्नका लागि सैद्धान्तिक स्वीकृति मात्र दिएको उल्लेख गरे ।
उनले भने, “आइफाबारे नेपाललाई लाभ हुन्छ, भने छलफल गर्नका लागि सरकारले सैद्धान्तिक स्वीकृति दिएको हो । कुन विधि र प्रक्रियाबाट टुङ्गोमा पुग्ने भन्ने बाँकी नै थियो । यो एउटा ‘इभेन्ट विजनेश’को प्रश्न हो । त्यसमा सरकारले यति नै पैसा दिने भनेको थिएन, त्यसको फाइदा, घाटाका आधारमा निर्णय गर्नुपर्ने हुन्थ्यो । प्रस्ताव आउँदैमा आकासै खसेजस्तो गर्नुपर्ने थिएन ।” उनले आइफाका लागि सरकारले पैसा दिने नभई सुरक्षा दिने मात्र भनेको उल्लेख गर्दै संसदीय समितिले दिने निर्णय निर्देशन विषय वस्तुको गहिराइमा पुगेर लिनुपर्ने धारणा राखे ।
सरकार एकपछि अर्को निर्णय गर्दै पछि हट्दै गइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा सञ्चारमन्त्री बाँस्कोटाले सम्पूर्ण विषयको निरुपण गनै संवैधानिक र कानून निर्माण गर्ने थलो संसद् भएकाले उसको निर्णयलाई सरकारलगायत सबैले सम्मान गर्नुपर्ने धारणा राखे । “सरकार एउटा प्रक्रियाबाट बन्छ, जुनसुकै सरकार भए पनि सरकारले गर्नुपर्ने काम आफ्नो ढङ्गले अघि बढाउने हो । संसद्मा पेश भएका कतिपय विषयबारे भन्नुपर्दा हाम्रो सम्पूर्ण कुराको समाधानको थलो संसद् हो । संसद्को सार्वभौमिकतालाई हामी सबैले सम्मान गर्नुपर्छ तर एउटा विचित्र के देखिन थालेको छ भने विषय वस्तुमाथि छलफल गर्नुभन्दा पनि दृष्टिकोणका आधारमा बहस र विवाद तीव्र बनाउने र भ्रम सिर्जना गरिदिने प्रवृत्ति देखा परेको छ, यसले नागरिकमा भ्रम फैलाएको छ”, उनले भने ।
विप्लवलाई वार्तामा आउन पुनः आह्वान
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री बाँस्कोटाले नेत्रविक्रम चन्द समूहलाई वार्तामा आउन पुनः आग्रह गरेका छन् । उनले भने, “हामीले वार्ता पनि ग¥यौँ, वार्तालाई उन (विप्लव समूह) ले रुचाउनु भएन, अनुचित र गैर संवैधानिक कार्य गर्दै हिँड्नुभो, त्यसो भएपछि नियन्त्रणमा लिने र निस्तेज गर्ने सरकारको काम हो ।” “फेरि पनि वार्ताको लागि सरकारको अनुरोध छ । वार्ताका लागि रातो कार्पेट बिछ्याउँदा पनि हिंसाको निम्ति वातावरण बनाइरहने, धम्क्याइरहने, त¥साहिरहने र चन्दा आतङ्क मच्चाउने हो भने यो जङ्गली राजलाई छुट दिन सकिन्न”, सञ्चारमन्त्री बाँस्कोटाले भने । उनले वार्ताबाट भाग्ने कुरा ठीक नभएको भन्दै दुई तिहाइ जनमत प्राप्त सरकारले राजनीतिको नाममा हुने अपराधलाई निस्तेज पार्ने बताए । मन्त्री बाँस्कोटाले भने, “यो दुई तिहाइको सरकार सिमलको भुवाँ होइन । यो त्यतिकै आएको पनि होइन । देश र जनताका लागि के गर्नुपर्छ हामीलाई राम्ररी थाहा छ ।”