धनुषा/ पूर्व राज्यमन्त्री संजय साह (टक्ला) लाई जन्मकैदको फैसला सुनाइएकाे छ । धनुषा जिल्ला अदालतले जनकपुरका सञ्चार उद्यमी अरुण सिंहानिया हत्याकाण्डमा समेत दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाइएकाे हाे । जिल्ला अदालत धनुषाले जनकपुरको बमकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका साहलाई संचार उद्यमी हत्याकाण्डमा समेत मुख्य योजनाकार ठहर गरेकाे छ ।
मंगलबार धनुषा जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले संचार उद्यमी हत्याकाण्डमा योजनाकारको रुपमा पूर्व मन्त्री साह र साहको निर्देशनमा गोली हानेर सिंहानियाको हत्या गरेको बयान दिएका मनक लामालाई जन्मकैदको फैसला सुनाएको हो ।
रेडियो तथा जनकपुर टुडे पत्रिकाका सञ्चालक सिंहानियाको २०६६ साल फागुन १७ गते होली पर्वका दिन जनकपुरको शिव चोकमा गोली हानेर हत्या गरिएको थियो । यस्तै सिंहानिया हत्या आरोपमा पूर्वपक्षको लागि थुनामा रहेका एकलाल सहनी, पवन लामा र चनरदीप यादवलाई १० वर्षको कैद सुनाइएको छ भने रामविनोद यादवलाई ३ वर्ष कैदको फैसला गरेको हो ।
यस्तै ओमप्रकाश यादव, रामकरण यादव र अन्सी राइनले सफाइ पाएका छन् भने मुकेश चौधरीलाई २० रुपैयाँ जरिबाना गरेको छ । यसअघि पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बमकाण्डको मुख्य योजनाकारको आरोपमा जिल्ला अदालत धनुषाले दोषी ठहर गर्दै २०७५ चैत १४ गते पूर्व मन्त्री साहलाई जन्मकैदको सजाय सुनाएको थियो ।
२०६९ साल वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै जनकपुरको रमानन्द चोकमा धर्ना बसेको बेला बम विस्फोट हुँदा ५ जनाको ज्यान जानुको साथै ३२ जनाभन्दा बढी घाइते भएका थिए । पूर्व मन्त्री साह काठमाण्डौको नखु जेलमा जेल जीवन बिताइरहेका छन् ।