तेहरान । अमेरिकाले सैन्य दबाब कम गरी इरानी बन्दरगाहहरू माथि लगाएको नाकाबन्दी हटाए इरान सात दिनभित्रै होर्मुज जलसन्धि खुला गर्न तयार रहेको जनाएको छ।
एक वरिष्ठ इरानी अधिकारीले सो कुरा बताएका हुन्। ती अधिकारीका अनुसार संयुक्त राष्ट्रसंघको महासभाका लागि न्युयोर्कमा रहेको इरानी प्रतिनिधिमण्डलसँग अमेरिकासँगको कूटनीतिक सम्बन्ध पुनः सुचारु गर्ने पूर्ण अधिकार छ।
“अमेरिकाले यो मुद्दा कूटनीतिक रूपमा समाधान गर्न चाहेको कुरा घोषणा गर्नुपर्छ, त्यसलाई आधिकारिक रूप दिनुपर्छ र त्यसपछि यो प्रक्रिया कसरी अघि बढ्छ भन्नेबारे समयसीमामा सहमति जनाउनुपर्छ,” उनले भने, “संयुक्त राष्ट्रसंघको महासभा अमेरिकाका लागि कूटनीतिमा फर्कने एक सुनौलो अवसर हो।”
यसैबीच, एनबीसीसँग कुरा गर्दै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा इरानसँग वार्ता गर्न अमेरिका तयार रहेको बताएका छन्। उनले दुई देशबीच कुनै औपचारिक वार्ता तय नभए पनि भने, “हामी त्यस्तो सम्भावनाका लागि पक्कै पनि तयार छौं, विशेष गरी यदि त्यसबाट सकारात्मक नतिजा निस्कने सम्भावना छ भने।”
क्षेत्रीय देशहरूको सहयोगमा अमेरिकाले पुनः आक्रमणको योजना बनाइरहेको जानकारी इरानी सेनाले पाएलगत्तै यी भनाइहरू सार्वजनिक भएका हुन्। गत आइतबार इरानको सैन्य नेतृत्वले अमेरिकाले योजनाबद्ध आक्रमणहरू अघि बढाएमा तेहरानले “कुनै पनि सीमा वा हिचकिचाहट बिना” जवाफी कारबाही गर्ने चेतावनी दिएको थियो।
ती अधिकारीका अनुसार इरानी राष्ट्रपति मसुद पेजेस्कियनले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने छैनन्।
यसैबीच अमेरिकी सरकारले पेजेस्कियनको प्रतिनिधिमण्डलको आवतजावतमा कडा प्रतिबन्ध लगाउँदै म्यानहटनस्थित होटल र संयुक्त राष्ट्रसंघको मुख्यालय बीच मात्र यात्रा गर्ने अनुमति दिएको छ।
साथै, इरानी राष्ट्रपतिको उच्चस्तरीय मिडिया टोलीका सदस्यहरूलाई भिसा दिन अस्वीकार गरेको छ। इरानी सरकारी समाचार संस्था ‘इर्ना’ ले यस कदमलाई वासिङ्टनको अभूतपूर्व शत्रुतापूर्ण कार्यको रूपमा वर्णन गरेको छ। यद्यपि, न्युयोर्कमा रहँदा अमेरिकी विदेश मन्त्रालयले इरानी विदेशमन्त्री अब्बास अराघचीलाई भने सुरक्षा व्यवस्था उपलब्ध गराउनेछ।
गत जुलाई १४ मा अमेरिकी सेनाले इरानी बन्दरगाह र तटीय क्षेत्रहरूमा नाकाबन्दी लागू गर्ने कार्य पुनः सुरु गरेको थियो।
अमेरिका र इरानबीच बढ्दो तनावमा ‘होर्मुज जलसन्धि’ एउटा प्रमुख विष्फोटक बिन्दुका रूपमा देखा परेको छ। यो रणनीतिक जलमार्ग विश्वव्यापी ऊर्जा ढुवानीका लागि अत्यन्त महत्त्वपूर्ण छ। यस समुद्री मार्गमा लगाइएका प्रतिबन्धहरूले अन्तर्राष्ट्रिय व्यापार तथा तेल आपूर्तिमा थप अवरोध आउने चिन्ता बढाएको छ।
अमेरिका-इरान द्वन्द्व सुरु भएको झन्डै सात महिना बितिसक्दा पनि लडाइँ अन्त्य गर्न आवश्यक पर्ने ठूला सम्झौताहरू गर्न कुनै पनि पक्ष तयार देखिएका छैनन्। विश्वव्यापी ऊर्जा बजारमा पहिले नै दबाब सिर्जना भइसकेको अवस्थामा यो द्वन्द्व यस क्षेत्रका अन्य संकटहरूमा समेत फैलिरहेको छ।