सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

जिम्मेवार पत्रकारिता के हो ? युट्युबर र पत्रकारबीच फरक के ?

सोमबार, चैत्र २१ २०७८

dilli

■ डिल्ली अम्माई
पत्रकारको भूमिकाको कुरा गर्दा परापुर्वकालका सुचना सम्बाहक परेवाको स्मरण गरिन्छ। त्यो जमानामा युद्ध र छिमेकी राज्यहरु बिचको सत्रुताको कारण सुचनाको आदान प्रदान परेवाको माध्यामबाट गरिन्थ्यो। पछि राजा वा उच्च ओहदाका मानिसहरुले सुचना सम्प्रेषणको लागि दुतहरु नियुक्त गर्न थाले। छिटो छरितो सुचनाको लागि चराहरुको समेत प्रयोग गरिएका कुराहरु बैदिक उपनिषद्हरुमा भेटिन्छन। खास गरेर परेवालाई चिठ्ठीपत्र बोक्ने तालिम दिएर परापूर्वकालमा सुचनाको आदान प्रदानमा प्रायोग गर्ने गरेका कुराहरु ईतिहासमा धेरै छन् । त्यहि कारणले नेपाल पत्रकार महासंघको लोगोमा सुचना सम्बाहकको संकेत स्वरुप परेवा छ।
अझ अगाडी बैदिक युगमा पुग्दा,पूर्वीय हिन्दु दर्शनमा उल्लेखित नारद मुनिको नाम देव दानव बिचको सुचना सम्बाहकको रुपमा आउँछ। बैदिक युग पछि अझ भनौँ,आधुनिक युगको प्रारम्भिक चरणसम्म हाम्रो पूर्वीय विश्वमा गाउँ पंचायतबाट नियुक्त कटुवालहरुले सुचना सम्बाहकको भूमिका खेल्न थाले। यिनै कटुवालले नेपालको दुर्गम भेगमा अझै पनि एउटा पत्रकारको भूमिका खेलिरहेको भेट्न सकिन्छ। सुचना प्रबृद्धिमा भएको विकासले भित्ते सुचनाको कालाखंड हुँदै क्रमश छापा पत्रकारिता र इलोक्ट्रोनिक मिडियाको आबिस्कार गर्यो। जसलाई हामीले पत्रकारिता बिकासको आधुनिक युग भन्दछौं । आधुनिक युगमा पत्रकारिताले कार्यक्षेत्र र प्रबृद्धिको क्षेत्रमा रुपान्तरणकारी परिवर्तन गरेको छ।

भौतिक बिकासको आधुनिक चरणमा पत्रकारिता केवल चिठ्ठी पत्रको आदान प्रदान गर्नुलाई मात्र मानिदैन। पत्रकारको नित्य कर्म भनेको सूचना खोज्नु, प्रशोधन गर्नु र त्यसलाई सामाजिक हितको लागि प्रक्षेपण गर्नु हो । पत्रकार समाजको भविष्यवक्ता नभएर सूचनाको माध्यम मात्र हो । उसले जारी गरेका सूचनाले समाजको हित गर्छ भन्ने उसलाई लाग्यो भने आँफु सम्बद्ध न्युज हाउसमा दिन्छ, सम्पादकले सुचनाको उपादेयतालाई अनुमोदन गऱ्यो भने समाचार प्रकाशित हुन्छ ।
सम्बाददातालाई महत्वपुर्ण लागेको कुरा सम्पादकलाई नलाग्न पनि सक्छ र त्यो न्युज सम्पादकको टेबुल तल रहेको कन्टेनरमा फ्याँकिन पनि सक्छ । रिपोर्टरले सामान्यतया आफ्नो समाचारको उपयोगिता र प्रकासित नहुनुको कारणबारे चासो राख्नु बाहेक सम्पादकलाई अनावस्यक दवाब दिन पाउँदैन । त्यसमा सम्पादकहरुको बिबेकपूर्ण आचारसंहिता हाबी हुन्छ। कुनैकुनै समाचारहरु यति संबेदनशिल हुन्छन कि ति समाचारले धार्मिक,जातिय वा क्षेत्रीय सद्भावलाई नकारात्मक असर पार्दछन मुलुकमा गृहयुद्ध हुने वातावरण समेत बन्दछ। सम्पादकले त्यस्ता समाचार पुनसम्पादन गरेर छाप्न पनि सक्दछन र फ्याक्न पनि सक्दछन।
सुचनाको गलत प्रयोगले भएको युद्ध हो अमेरिका र इराकको युद्ध। अमेरिकाको एक प्रतिष्ठित पत्रिका(The New York Times)को पत्रकारले इराकमा जैविक, रासायनिक र आणविक हतियारहरू छन् भनेर गलत समाचार दिए। जसको कारण १२ लाख मान्छे मार्ने युद्ध सुरु भयो। पछि त्यो मिडियाले माफी त माग्यो तर समय बितिसकेको थियो(New York Times: we were wrong on Iraq:https://www.theguardian.com/media/2004/may/26/pressandpublishing.usnews)

गलत सुचनाले युद्धको लागि उक्साएको अर्को प्रमाण हामीसंग छ, जसलाई भियतनामी युद्ध भनिन्छ। सन् १९६४को अगष्टमा गल्फ अफ टंकिनमा अमेरिकी पानीजहाजमाथि आक्रमण भएको न्युज अमेरिकी पत्रिकाले सम्प्रेषण गर्यो। त्यो घटना अमेरिकी सेनाबाटै भुलबस भएको थियो। तर त्यो न्युजले अमेरिकी सरकार उत्तेजनामा आयो। समाचारको सत्यता र युद्धको परिणामलाई बिचार नै नगरी अमेरिकाले भियतनाममाथि अन्दाधुन्द आक्रमण गरेर करिब २० लाख निर्दोष भियतनामीहरुको कत्लेआम गर्यो। ‘नापाम’ नामक खतरनाक बम हानेर देश नै आगोले खरानी बनायो,’एजेन्ट ओरेन्ज’ नामक केमिकल बम हानेर गाउँ शहर ध्वस्त बनायो।
त्यस्तै हामीले प्रत्येक वर्ष कोष्टारिका बराबरको अर्थात् ७०,००० वर्गकिलोमिटर वन गुमाउँदै आएका छौँ । प्रत्येक वर्ष ३.५ बिलियनदेखि ७ बिलियन रुखहरू काटिन्छन् । यो हिसाबले केही समयपछि हाम्रो प्रकृतिको बायुमण्डल तथा चक्रीय प्रणालीलाई सन्तुलन राख्न सक्ने अवस्थामा जंगल रहने छैन । संसार मरुभूमि र अक्सिजनको ठुलो स्रोत सकिने छ।
शक्तिराष्ट्रका मालिक तथा बहुराष्ट्रिय कम्पनिले औद्योगिक उत्पादनबाट नाफा आर्जन गर्नको लागि विकल्प हुँदाहुँदै पनि वन सिध्याइरहेका छन् । तर यो र यस्ता खाले समाचारलाई ठुला मिडियाले महत्व दिदैनन। अथवा यस्ता रिपोर्टहरु प्रकासित हुँदा सम्पादकहरु सेल्फ सेन्सरसिपको दवावमा पर्दछन। कारण हो मल्टिनेशनल कम्पनीहरुको दवाब,धम्कि वा जागिरबाट निस्कासन। स्वतन्त्र भनिएपनि अहिलेका विश्व मिडिया हाउसहरु यिनै कम्पनीको लगानीमा खडा गरिन्छन। ति अन्तराष्ट्रिय कम्पनीहरुले पृथ्वीको प्राकृतिक कच्चा पदार्थमाथि एकाधिकार कायम गरेकोले उनीहरुको इन्ट्रेष्ट बिरुद्ध जाने जोखिम सम्पादकहरुले मोल्न सक्दैनन्। समस्या यहींनेर छ। संसार भरिको नाफा बहुराष्ट्रिय कम्पनीले लुटेको छ तर ब्यथा हामीले भोगिरहेका छौँ।
अहिले नेपालका प्राय मुलधारका टेलिभिजन र पत्रिकाहरुले सक्ति राष्ट्रहरुले छिमेकी विरुद्ध नेपाललाई प्रयोगशाला बनाउदै लागेको कुरा लेख्न,देखाउन र भन्न सकिरहेका छैनन्। एउटा कारण हो मिडियामा सक्ति राष्ट्रहरुको लगानी त्यसपछि मनोबैज्ञानिक दवाव,सेल्फ सेन्सरसिप र अन्त्यमा सम्पादकहरुलाई पारिने आर्थिक प्रभाव। नेपालका सबै मिडिया, समाचार वा खोज सूचनाका अन्वेषक,प्रेसक र सम्पादक सबैलाई थाह थियो कि कुनै सक्ति नेपालमा अनाबस्यक रुपले पस्न खोज्नु राष्ट्रिय स्वाभिमानमा खतराको सुचना हो। तर ठुला मिडिया एमसीसी मार्फत गोप्य रुपमा मिडिया किन्न छुट्टयाईएको करिव १३ मिलियन डलरको कारण चुप हुने,समाचार प्रसोधनमा फिल्टर नजिर बिगार्ने र मुलुकको अस्थिरताका कारणहरु खोज्ने झंजटबाट मुलधारका मिडियाहरु पन्छिने गरेको देखियो। यो मुलुकको लागि दुर्भाग्य हो।
हामी सबैले खम्पा विद्रोह, दरबार हत्याकाण्ड, भण्डारी हत्याकाण्ड लगायत अनगिन्ती अदृश्य काण्ड रचेर इन्डो-अमेरिकन खुफियाद्वारा उनीहरुको अनुकूल वातावरण बनाउँदै लगिएको कुरा नबुझेका छैनौँ । अहिलेको समीकरण वा प्रतिपक्षीको छेपारे भूमिका जे भनौँ राजनैतिक तरलताको कारण बनेर रहेका छन्। नेपालको बर्तमान नेतृत्व वर्ग क्रमश सक्ति राष्ट्रहरुको रणनीतिमा साझेदार बन्दै आएको कुरा युक्रेन तथा एमसीसी प्रकरणले छर्लंग पारेको छ। त्यसको असर भोलि हाम्रो मुलुकको हितमा समेत नपर्ला भन्न सकिन्न। तर हामी पत्रकारहरु सक्तिका अगाडी निरिहतापुर्वक आफ्ना सम्भावित परिणामहरुलाई दवाएर मुस्कुराउन बाध्य छौँ। पत्रकारितामा प्रतक्ष र परोक्षरुपले मुलुकको अमन चयन,सार्वभौमिकता,अखंड़ता र नागरिक हित सापेक्ष रुपले प्रभावी हुनु पर्ने हो। राष्ट्रिय स्वाधिनताको पक्षमा हामी कतै चुकेका छौँ वा बेईमान बन्दै गैरहेका छौँ ।

त्यसैले भनिएको होला समाचार वा सम्पादकीयहरुले आफ्नो लय बिर्सन थाले वा बहकिन थालेभने देशमा अराजकता फैलिन्छ,देश टुक्रिन्छ वा कतै बिलय हुन्छ।
सुचनाको सहि प्रयोजन कति छ भन्ने कुरा बुझ्न हामीले अनुमान गरौँ त ! एक दिन सुचना र समाचार रोकिदा संसारको अबस्था के होला ? त्यसले पार्ने असरबारे हामीले कल्पनै गर्न सक्दैनौँ। अत समाचारको परिणाम र देशमा पर्ने प्रभाव हेरेर सम्पादकहरुले बिबेक प्रयोग गर्नुपर्छ भनिएको हो।
समाचारको प्रसोधन :
समाचारले कुनै निश्चित समूह वा पहिचानवाला समुदायको मनोदशामा प्रतिकुल पार्ने सम्पादकलाई लाग्यो भने न्युज प्रकाशित हुन रोकिन्छ । त्यो अधिकार सम्पादकलाई छ । सम्वाददाता, प्रकाशक वा सम्पादकहरूले समुदायको लागि पस्किएका सूचनाको विवेकपूर्ण चुनाव आँफै गर्दछन् तर यो ठिक या बेठिक भनेर निर्णय सुनाउँदैनन् । पत्रकारहरूले दिएको सूचना समुदायबाटै लिन्छन्, फिल्टर गर्छन् र समुदायको सहज पहुँचको लागि सार्वजनिक गर्छन् । सुचना वा समाचारको प्रशोधनमा चाहिने तथ्यगत सूचना मात्र रहन्छ अरु फ्याँकिन्छ ।
यो धर्ति, खगोल र ब्रमाण्ड अथाह घटना र तथ्यहरूको भण्डार हो । प्राकृतिक घटना र त्यसका असरबारेको रिपोर्ट वा सुचना एक व्यापारीको लागि के काम ? खगोल विज्ञानका जटिल तथ्यहरूको समाचार वा वृत्त चित्र एक किसानलाई के काम ? सूचना जो जसलाई पुऱ्याउनु पर्ने हो त्यहि पक्ष वा ब्याक्तिलाई पुऱ्याउने काम पत्रकारको हो । पत्रकारले समुदायको हितलाई ख्याल गर्दै तथ्यको धरातलमा टेकेर सही सूचना मात्र सम्प्रेषण गर्दछ र सम्पादकले अफवाहलाई बिलौनी झैँ थिग्राएर फ्याँकिदिन्छ ।

तटस्थ,विनयी र बिबेकशील पत्रकार
माथि नै भनि सकियो कि कतिपय सूचनाका बबण्डरहरूका कारण ठुला–ठुला हिँसा भएका हुन्छन् । समाचारको अविवेकी प्रशारणले मानिसबीच जातीय वा धार्मिक दङ्गा र कतिपय अवस्थामा गृहयुद्ध समेत हुन सक्ने सम्भावना रहन्छ । त्यसैले सूचनाको संकलन र प्रशोधन गर्ने पत्रकार सामाजिक मूल्य–मान्यताहरूको सम्मान गर्ने, सबैका स्वतन्त्र मूल्यको पक्षपाती र विवेकी हुनु जरुरी छ । किनकि, पत्रकारको सामाजिक अधिकार नागरिक अधिकार भन्दा टाढा हुँदैन । एक पत्रकार सूचनाको माध्यम र सोझो रूपमा भन्दा समाजको हुलाकी हो । उसले दिएको सूचनाको मूल्य स्वरुप समुदायले पत्रकारलाई आफ्नो परिवारभित्र सम्मानपूर्ण स्थान दिएको हुन्छ । राज्यले उसको सेवाको मूल्य चौथो अङ्गको सम्मानले विभुषित गरेको हुन्छ । अतः एक पत्रकार पुरानो जमानाको कटुवाल जस्तै बिशाल समुदायको विवेकशील सुचना नोकर हो भन्दा आत्युक्ति नहोला ।

समाजमा पत्रकार र जनसमुदायका बीच अन्योन्याश्रित सम्बन्ध आवश्यक हुन्छ। तर बेलाबेलामा समुदायका बिबिधपक्षहरुसँग अन्तरविरोध पनि पैदा भइरहन्छन् । समुदाय र पत्रकारका बीच हुने सबै अन्तरविरोधहरूको समझदारी र समन्वयबाट समाधान गर्न सकिन्छ। समुदायका आस्थालाई आधार मान्दै सापेक्ष सत्यबारे बहस पनि भइरनु पर्छ ,जसले पत्रकारहरुलाई अझ आफ्नो कर्तब्य बुझ्न सहजता प्रदान गर्दछ । सुचनाको लागि सामुहिक हितका बहसहरूमा व्याक्तिका हितहरू बाझिनुलाई स्वाभाविक रुपमा लिनु पर्छ ।
अन्तरविरोध हल गर्ने विधिको अज्ञानताले टकराव उत्पन्न हुन्छन् । त्यसमा समुदायको हितलाई कसी मानेर निर्णय गर्दै गयौँ भने अन्तरविरोधले रुपान्तरणमा फड्को मार्छ । अन्यथा पत्रकार र समुदायबीच टकरावको स्थिति उत्पन्न हुन्छ र जसको लागि सेवा गर्दै आएको हो उनीहरूकै बहिष्करणमा पर्ने खतरा पैदा हुन सक्छ । त्यसैले समुदाय र पत्रकारिताबीचका विश्वासका सेतुहरूको सम्वेदनशीलतालाई एक होसियार र विवेकशील पत्रकारले हेक्का राख्नै पर्दछ ।

बुझ्नु पर्छ कि जीवन संघर्षमा गल्ती नगर्ने मानिस हुनै सक्दैन । काम गर्ने शिलशिलामा हुने गल्तीबाट रुने, चिच्याउने, गल्ती देखाइदिनेहरूप्रति प्रतिशोधपूर्ण रुपमा प्रस्तुत हुने मान्छेको लागि पत्रकारिता उपयुक्त पेशा हैन। पत्रकार समुदायको सेवक हो भने उसले आफ्ना मालिकरूपी आममानिससँग विनयी र नतमस्तक हुन सिक्नुपर्छ । त्यो पत्रकार हुनुको पहिलो सर्त हो। यी कुराहरुलाई निम्नानुशार सहजीकरण गरेर बुझ्न सकिन्छ :

१) एक विवेकी पत्रकारले समाजको चरित्रका बहुआयामिक सम्वेदनशीलताहरूलाई सारमा बुझेको हुनुपर्छ । समाजको स्वरुप,मानिसहरुका सोच र साँस्कृतिक बिबिधता जस्तै समुदायभित्रका सूचनाका ट्युनिङ समेत बहुआयामिक र संबेदनशील हुन्छन् । जसको हेक्का नराख्ने हो भने हाम्रा कलम समुदायको हितमा भन्दा अन्यत्र बहकिन थाल्दछन् । पत्रकारहरु आँफै फोहरको नालीबाट बग्न सकभर रोकिने प्रयास गर्नु पर्छ र बगीहाले पनि तुरुन्त नुहाउन बिर्सिनु हुँदैन।

२) हजारौँ सूचनाहरूको थुप्रोबाट आफ्नो समुदाय वा मानवहितको लागि कुन सूचना महत्वपुर्ण छ, त्यो मात्रै समुदायलाई दिनु पर्दछ । तर त्यसलाई छान्ने काम यस मानेमा ज्यादै कठिन छ कि सूचनाहरूको थुप्रोमा त्यो भन्दा धेरै अफवाह र गलत आरोपहरू मिसिएका हुन्छन् । एक विवेकशील पत्रकारले मात्र समुदायको सूचना निचोरेर तथ्यसहित सही सूचना सम्बन्धित जनसमुदायमा फिर्ता गर्छ । त्यसैले समाचार बनाउँदा कसैलाई उछिन्ने बहानामा गलत सूचना सम्प्रेषण हुने खतराबाट सदैव बच्नु पर्दछ ।

३) कहिलेकाहीँ गल्तीमा पत्रकारहरू डरले थर्थरी हुन्छन्, यो पनि राम्रो हैन । संसारमा सबैभन्दा धेरै गल्तीबाट सिक्ने पेशा भनेकै पत्रकारिता हो । त्यसैले गल्तीलाई सिक्ने कला र गल्तीको आधारस्वरुप जनसमुदायलाई शिक्षक मानियो भने हाम्रो गम्भीर गल्तीमा पनि माफी पाइन्छ । पत्रकारले सिक्ने गल्ती, अनुभव र प्रशिक्षणबाट हो । जानाजान सुचना लुकाउने वा बिक्रि गर्ने धन्दा,धोकाघडी वा छिप्छिहाअट गल्ति नभएर त्यो समुदायप्रति गरेको अपराध हो। तर अन्जानमा हुने गल्तिहरु जीवनभर भै रहन्छन। सबैभन्दा बढी सिक्ने अन्जान गल्तीबाट हो । त्यस्ता गल्तीले जनसमुदायसँगको सम्बन्धमा दरार पैदा गर्दैन, बरु सम्बन्ध अझै कस्छ । सूचनाको छनौटलाई भरपर्दो बनाउँछ र तथ्यहरूलाई पारख गर्ने कलाको विकास गर्दछ । त्यसैले गल्ती गर्ने पत्रकारको लागि गल्ती गुरु बन्दछ। हजारौँ सिकारु पत्रकारहरूको लागि गल्तीहरु गुरु समान हुन्छन् । सिकारुको एक गल्तीबाट हजारौँ पत्रकार, सूचना सम्वाहक र नागरिकहरूले समेत सिक्ने मौका पाउँछन् ।

४) कसैले गरेका गल्तीलाई उचालिरहनु आत्मघातीसमेत हुन सक्छ । गल्ती भनेको सिक्ने प्रक्रियाको एक छोटो प्रशिक्षण जस्तै हो । जसले अरुको गल्तीमा गाली गर्दछ, समुदायमा उसका झन् धेरै गल्तीहरू भेटिन्छन् । जीवन संघर्षमा गल्ती नगर्ने मानिस हुनै सक्दैन । त्यसैले गल्तीबाट रुने, चिच्याउने, गल्ती देखाइदिनेहरूप्रति प्रतिशोधपूर्ण रुपमा प्रस्तुत हुने मान्छेले पत्रकारिता नगर्दा राम्रो हुन्छ ।
पत्रकार समुदायको सेवक हो भने उसले आफ्ना मालिकरूपी आममानिससँग नतमस्तक हुन सिक्नुपर्छ । समुदायको संवेदनशीलता र गल्तीको प्रकृति हेरेर एक पत्रकारले आफ्नो गल्ती सच्याउन अबेर गर्नु हुँदैन । सेवकले सेवाको मूल्य आफ्नो गल्तीको खियाभित्र खोज्नु अत्यन्त हानिकारक हुन्छ । त्यसैले गल्ती गर्नु अपराध हैन, त्यसलाई महसुस नगर्नु, सिक्न नखोज्नु र समुदायसँगको आफ्नो अन्तरविरोधलाई शत्रुतापुर्ण बनाउन खोज्नु अपराध हो ।

भनिन्छ, मान्छे प्राकृतिक समागमको उत्तेजनाबाट संयोगले जन्मन्छ र जीवनभर जान अन्जानमा गरिएका गम्भीर गल्तीको कारण बनेर मर्दछ । मृत्युपछि आफ्ना पुराना गल्तीहरूबारे पश्चाताप गर्ने समय पनि बाँकी रहँदैन । त्यसैले आफ्ना गल्तीबारे सेवाग्राहीलाई बताउने आँफु जीवित छँदै हो । यो पङ्क्तिकारले गल्तीमा मागेको क्षमाबारे कहिल्यै पश्चाताप गरेन । बरु आदरणीयजनहरूबाट निःशर्त माफी पाएकोमा आभारी भैरह्यो । केहि नेपाली मुलका पत्रकार छन्,जसले आफ्ना सेवाग्राहीसँग धम्क्याएर बोल्दछन। ‘म पत्रकार हुँ’भन्ने दम्भका कारण समुदायसंग उनीहरुको टकराव बेलाबेलामा देख्न पाइन्छ। त्यस्ता छुद्र सोचका कथित सुचना कर्मीलाई समुदायले स्वीकारेको देखिन्न।
कुनै ब्याक्तिलाई समुदायमा अपराध गरेको आरोप लागेको छ वा ऊ न्यायालयबाट अपराधी प्रमाणित हुन बाँकी छ भनेपनि एक पत्रकारले त्यो ब्याक्तिलाई अन्य ब्याक्ति सरह सम्मान गर्नु पर्दछ। राज्य ब्याबस्थामा कानुनले बाहेक अपराधि घोषित गर्ने अधिकार अन्यले प्राप्त गर्न सक्दैन।

संसारमा अहिले डिजिटल सुचानाकर्मिहरुको संख्या ह्वात्तै बढेर गएको छ। ब्लगरले जस्तै युटुबबाट समाचार वा सुचना बेचेर आर्थिक आयआर्जन गरिरहेका सुचानाकर्मिहरुलाई युटुबर भनिन्छ। उनिहरुमद्धे धेरैले पत्रकारिता सम्बन्धि कुनै पनि तालिम लिएका हुँदैनन्। राज्यको सुचनाकेन्द्रमा उनीहरुलाई नियमन गरिएको पनि हुँदैन। उनीहरु समुदायको सुचना सम्बन्धमा भन्दा भड्काउपूर्ण प्रदर्शनीमा आफ्नो भिडियो हेर्नेहरुको संख्या बढ्ने सोचाइले सामाग्री उत्तेजक बनाउछन। प्रस्तुतिले दुन्दुन्ति आगो बाल्छन तर निष्कर्ष दिन सक्दैनन्।
पत्रकार निश्चित योग्यताले लेश भएको संचारकर्मी हो। तर त्यो योग्यतामा युटुबरहरु कमजोर देखिन्छन। युटुबरहरूलाई ‘सञ्चारकर्मी’ मात्रै भन्नु पर्ने कारण आचार,ज्ञान र प्रशिक्षण नभएकोले हो। तर, मुलधारका अधिकतम पत्रकारहरू लामो अध्ययन, प्रशिक्षण र अनुभवबाट आएकोले समुदायको दीर्घकालिक हित र धर्तीका हरेक उपयोगी सूचनाहरूको तह विभाजन गरी समुदायमा समाचार सम्प्रेषण गर्दछन् ।

युटुबरहरूलाई ‘सञ्चारकर्मी’ मात्रै भन्नुको अर्को कारण के हो भने उनीहरूले सूचनाका तथ्य, त्यो सूचनाले समाजमा पार्ने असर र सूचना सन्तुलनको सामान्यज्ञानलाई हेक्का राख्दैनन् । उनीहरूले संकलित सूचनाको ब्यापारलाई मात्रै ध्यान दिएका हुन्छन् । विषयवस्तु गम्भीर र समाज उपयोगी हुँदाहुँदै पनि भाइरल बनाउन नसकिने भयले त्यस्ता कतिपय सूचना युटुबरको रोजाइमा पर्दैनन् । त्यसैले युटुबरहरुलाई पनि नियमन गर्दै आधारभूत आचार संहिता लगायतका तालिमहरु दिनु आबश्यक देखिन्छ।

५) समुदायको हकमा पनि एउटा कुरा भन्नुपर्ने हुन्छ कि थोरै तथ्य र धेरै कथ्यको बीचबाट सूचना प्रशोधन गर्ने सञ्चारकर्मी समुदायकै हितमा सबैभन्दा जोखिम मोल्ने सेवकहरू हुन् । उनीहरूले अफवाह र भ्रमको चाङबाट तथ्यगत सूचनाहरू प्रशोधन गरिरहनु पर्ने भएकोले गल्तीहरू धेरै हुन सक्ने सम्भावना रहन्छ । त्यो बेला समुदायले पनि ‘पत्रकार मार्फत आएका सूचनाहरू समाजलाई सुसूचित गर्ने सन्दर्भमा नै गल्तीवश भएका हुन्’ भनेर सामान्यीकरण गर्दै जानुपर्छ ।

६) पत्रकारको आफ्नो भन्ने कलम र मसि पनि हुँदैन । उसले बोक्ने सबै भित्री–बाहिरी औजार समुदायका सम्पत्ति हुन् । एक पत्रकारले दिने सूचनादेखि हरेक समाचारहरू समुदायको हितमा हुन्छन् वा हुनु पर्छ । सूचना सम्प्रेषण र समुदायको प्रतिक्रियालाई एक पत्रकारले आफ्नो प्रतिष्ठा वा लालसाको विषय बनाउन पाइँदैन । पत्रकारको प्रतिष्ठा समुदायको हितसँग जोडिएको हुन्छ । त्यसैले ‘म पत्रकार हुँ, मेरो उचाई समुदायभन्दा माथि हुनु पर्छ र म चर्को बोल्दा वा कलमले निर्दोषलाई पोल्दा पीडितले’ऐया’भन्ने अधिकार हुँदैन’ कसैले भन्दछ भने त्यसको सुचना सेवा समुदायको लागि हुँदैन । त्यो ब्याक्ति सुचनाको ब्ल्याकमेलिङ्ग गर्ने अपराधि जस्तै पत्रकारिताको क्षेत्रमा कलंक हो।

अन्तमा एक पत्रकारले घमण्ड र आत्मस्वाभिमानका बीच फरक छुट्याउन सक्नु पर्छ । सूचनाको गाम्भीर्यतालाई छाम्न सक्नु पर्छ । त्यसैले भनिएको होला कि पत्रकारिता भनेको माछाको मासु र काँडा छुट्ट्याएर खानु जस्तै हो । पल–पलमा जिब्रोमा काँडाले घोप्छ तर जिब्रोले आफैं यातना भोग्छ कदापि भित्र जान दिँदैन ।

थोरै गल्ती र धेरै सम्मान खोज्ने ब्यक्तिले पनि पत्रकारिता छोड्दा हुन्छ किनकि यो अपजशिया वा अवगाले पेशा हो । नागरिक हितका मुद्धाहरूमा राज्यसँग कठोर तर समुदायसँग प्रायः झुकेर गर्नुपर्ने यो पेशा गलत नियतका मानिस तथा राज्यको लागि दबाब जस्तो र समुदायको सूचना हकको त्राणको रुपमा लिने गरिन्छ । एक इमान्दार पत्रकार जीवनभर राज्यका भ्रष्ट नेता तथा प्रसासकहरु र समुदायका थुप्रै दुस्मनहरुसंग एकैसाथ लडिरहेको हुन्छ। त्यही कारणले नै होला, पत्रकारहरू संसारमा सबैभन्दा असुरक्षित पेशाकर्मी मानिन्छन् ।

पत्रकारले के पनि हेक्का राख्नुपर्छ भने, समाजको विवेकी हुलाकी भएकोले उसले परिवेश वा प्रमाण आफैं सिर्जना गर्न पनि पाउँदैन । उदाहरणका लागि नदीमा मान्छे डुब्दै छ,त्यो अवस्थामा उसले त्यो ब्यक्तिको उद्दार गर्ने कि घटनाको भिडियो बनाउने ? यहीँनेर पत्रकार र युटुबर छुट्टिञ्छन। प्रशिक्षित पत्रकारले डुब्न लागेको मान्छे बचाउने प्रयत्न गर्न थाल्छ भने युटूबर भिडियो खिच्न थाल्छ। तसर्थ पत्रकारमा विवेक हुनै पर्छ । जव सबाल कसैको जीवन रक्षासंग जोडिएर आउँछ, उसकोलागि समुदायको जीवन रक्षा प्रथम र सुचना दोश्रो हुन जान्छ।तर अधिकांश युटुबरहरुले सूचनाको ब्यापारलाई महत्व दिन्छन। उनीहरुले मानवताको गहिराइमा पुगेर अरुको जीवनरक्षालाई महत्व दिँदैनन् । बिबेकशील पत्रकार र सञ्चार व्यापारीको परिक्षा यस्तै बेलामा हुन्छ ।

त्यस्तै, पत्रकारको मूल स्पिरिट निष्पक्षता र निरपेक्षताको कसीले जाँच गरिन्छ । पत्रकारले पीडक वा पीडितको पनि पक्ष लिनु हुँदैन । हामी सम्बन्धित ब्याक्तिको अनुमति बिना समाचारमा तस्बिर राखेर समाचार बनाउँदा बेला बेला चिप्लिन्छौँ । यदि नियतवश तस्विर राखिएको हैन भने सम्बन्धित ब्याक्तिलाई सुचना दिनु पर्छ । सम्बन्धित ब्याक्तिले कुनै दोषारोपण गरेनन भने सक्कियो। यदि आपत्ति जनाए भने तस्विर र नाम हटाउनु पर्छ। तर पत्रकार आचार संहिता बिरुद्ध सूचनाको गलत सम्प्रेषणले घटना भैहाल्यो भने त्यो दुःखद हुन्छ । यस्तो न्युज बनाउँदा दुवै पक्षका भनाइ समाचारमा समावेश गर्दै अनुमति सहित तस्विर राख्नु पर्छ । पीडित र पीडक छुट्टाउने अधिकार न्यायालयलाई मात्र हुन्छ, पत्रकारलाई हुँदैन ।

अन्त्यमा,नागरिक हितका मुद्धाहरूमा राज्यसँग कठोर तर समुदायसँग प्रायः झुकेर गर्नुपर्ने यो पेशा गलत नियतका मानिस,भ्रष्ट नेतृत्व तथा राज्यको लागि दबाब जस्तो र समुदायको सूचना हकको त्राणको रुपमा लिने गरिन्छ । समुदायको असल भविष्यका लागि, मानवको सुखद प्रयोजनका लागि सुचनाको क्षेत्रमा पत्रकारहरुले त्याग गर्दछन् । त्यो समर्पण र त्याग समुदायको विभिन्न क्षेत्रमा हुनसक्छ । त्यो छापा,श्रब्य,दृष्य वा अनलाइन पत्रकारिता मार्फत पनि हुनसक्छ र भेटघाटबाट पनि हुन सक्छ । प्रेस स्वतन्त्रताको लागि ,पत्रकारहरुको जीवन रक्षाको लागि र विभिन्न खालका पेशागत शोषणको बिरुद्ध, नागरिक पहिचानका लागि, दिग्दर्शन वा मार्ग निर्देशनका लागि पत्रकारहरुले बोल्न वा लेख्न छोड्नु हुँदैन। किनकि प्रेस स्वतन्त्रता नागरिक न्याय र स्वतन्त्रतासंग अभिन्न रुपले जोडिएको हुन्छ। यो सताब्दीको शुरुवात देखि हाम्रो कार्यभार केवल मानव समाजको सुचनामा सिमित छैन। आकास कार्वनडाइ अक्साइडले धुम्म छ,स्वास फेर्न प्रत्येक घर भेन्टिलेटर राख्ने हैसियतमा हामी छैनौँ। नदी वा समुन्द्रको पानी हामी आँफै बिसाक्त बनाउदै छौँ। पृथ्वीमा जीवको अस्तित्व समेत संकटमा छ। अत धर्तीमा जैविक अस्तित्वका लागि समेत सुचना सम्प्रेषणको लागि मानिसले लेखक,पत्रकार वा सम्पादक खोजिरहेको छ।

(सन्दर्भ सामग्री : Ethical Considerations for Journalists – Using Disturbing Images./Principles and guidelines for media, Handbook for Journalism Education and Training, UNESCO Series on Journalism Education)

प्रतिक्रिया
सम्बन्धित समाचार