मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

कमल थापालाई भरत ढकालको खुल्ला पत्र !

बिहिबार, फाल्गुन २६ २०७८


श्री कमल थापा ज्यु,
अध्यक्ष, राप्रपा नेपाल
केन्द्रिय कार्यालय, काठमाण्डौ
महोदय,

२१औँ शताब्दीको अत्याधुनिक एवं सभ्य समाजका शिक्षित नागरिक हुन् नेपाली जनता । पृथ्वी मात्र नभई विश्व ब्रम्हाँण्ड बुझेर “देश खाई शेष” भएका नेपालीलाई रास्ट्रबादी बनाउन खोज्ने तपाईँ को हो ? सिँगो पृथ्वीलाई नै ग्लोबल भिलेज बनाऊन महाशक्तिहरू उद्धत भएको आजको युगमा जाबो १४७५१६ वर्ग कि.मी क्षेत्रफल बीखण्डित भएर नामेट हुनसक्नेमा यति धेरै चिन्ता तपाईंलाई मात्र किन ? नेपालीले त्याग्दै गएको सनातन धर्म संस्कृति अनि पूर्वीय संस्कारलाई स्वचालित चक्र सरी पश्चिमाहरुले छिटपुटरूपमा अँगाल्दै आएका छन् त यो देशलाई सर्वधर्म समभाव सहितको बिश्वमै नभएको सनातन धर्म सापेक्ष हिन्दु रास्ट्र कायम गर्न तपाईंलाई के हतार पर्यो ?
निर्वाध चलीरहेका उद्योगधन्दा र कलकारखानाहरू नियोजीत रूपमा बन्द गराइएपछी सँसारिक बाध्यताले थिचेर निरीह बनेका तमाम कर्मठ नौजवानहरू बिदेशिनु परेको छ आज । तिनका रगत पसिनाले लत्पतिएको रेमिटेन्सको आँकडामा गर्व गर्ने बानी परेका हामीलाई के दिन्छ तपाईंको राष्ट्रवादले ? यसरी भित्रीएको रेमिटेन्सबाट, आयातित दैनिक उपभोग्य बस्तु र अन्य सँसाधनको खरिद मार्फत नेपालीको दैनिकी चलीरहेको छ भने घुमीफिरी उक्त रकम पुन: बिदेशिंदा कसैलाई नलागेको चिन्ता तपाईंलाई मात्र किन ? जात, धर्म, लिंग र पहिचानका नाममा ससाना टुक्रामा विभाजित भएर बस्न रमाएका हामीलाई बडामहाराजा पृथ्वीनारायण शाहले भनेझैँ अखण्ड बनाएर एउटै मालामा किन जोड्न चाहनु हुन्छ तपाईँ ? सारीरिक एवं मानसिक रूपले अपरिपक्व किशोर किशोरीहरू उच्च शिक्षाको नाममा बिदेश पलायन हुँदा वार्षिक ४० अर्बको हाराहारीमा स्वदेशी मुद्रा बिदेशिने गरेको अवस्थामा गर्वगर्ने हामी नेपालीको मनमा किन देशभक्ति जगाउँदै हुनुहुन्छ तपाईं ? हाम्रो इतिहास, सनातन धर्म संस्कृति, रीति रिवाज अनि चालचलनबाट वाक्क भएर विदेशीहरूको देखासिकी गरी तीनकै पिछलग्गु भएर त्यहीँ रमाउन लालायित नेपालीलाई किन सम्बर्धनबादी बनाउन व्याकुल हुनुहुन्छ तपाईँ ?
अध्यक्ष ज्यु, मुख्तियार काजी भीमसेन थापा जस्ताले जेलभित्र आफैँ सेरिएर मर्नु परेको थियो यो देशमा । बीपी जस्ता महान नेताद्वारा महेन्द्र जस्ता राजालाई मार्ने प्रपन्च रचिएको थियो यहाँ । पूरा जीवन राजनीतिमा बिताएका गणेशमान जस्ता त्यागी र कृष्ण प्रसाद जस्ता सन्त नेतालाई जीवनको उत्तरार्धमा राजनीतिप्रति नै वितृष्णा पैदा भएको भूमि हो हाम्रो । पुष्पलाल र मनमोहन जस्ता सक्कली कम्युनिस्ट नेताको पदचापलाई अनुशरण गरेर खरो रूपमा अघी बढ्दा योजनाबद्ध रूपमा आफ्नाहरूबाटै दुर्घटना गराएर मारिएका मदन भण्डारी जस्ता नेताको मृतात्मा रोईरहेको धर्तीमा छौं हामी । सुशील कोईराला जस्ता स्वाभिमानी नेताको आफ्नै पलँगमा अस्वभाविक एवं रहस्यमय मृत्यु भएको घटना अझै ताजै छ हाम्रा मानसपटलमा । यस्ता कयौँ घटनालाई ओझेल पार्नेगरी राजदरबारको अत्यन्त सुरक्षित चौघेरा भित्र राजा वीरेन्द्रको सपरिवार हत्या गरी वंशनास गराईएको घटनाको समेत जिंउँदो साक्षी छौँ हामी नेपाली ।
उल्लेखित तमाम घटनाका पात्रहरु मध्य यो देशको कुभलो सोच्ने सायदै कोही थिए होला तर विडम्बना, इतिहाँस जिउँदाले नै लेखाउने गर्दछन् यहाँ । देश र जनताको भलो चाहने अधिकांश महापुरुषहरूको दुःखदायी अवसानले सिंचित भएको छ हाम्रो धर्ती । सही र सत्यलाई जरैसमेत नोमोठेर फाल्न खोज्नेहरूको लहैलहैमा मग्न छन् आज यसै धर्तीमा अंकुरित अधिकांश धर्तीपुत्रहरु । यही धर्तीको एउटा पात्र, सैनिक परिवारमा जन्मेर हुर्की बढी त्यही संस्कार सिकेका अत्यन्त निर्भीक, नबिराउने र नडराउने (खरो) मानविय स्वभावका प्रखर रास्ट्रबादी व्यक्तित्व तपाईं । तर दुर्भाग्य, नेपाली जनता त परको कुरा रह्यो, तपाईंका पार्टी भित्रका आफ्नै कार्यकर्ताले समेत चिन्न सकेनन् तपाईंलाई । बाबु, दा, बा, कमरेड जस्ता मीठा शब्दले सम्बोधन गर्ने कार्यकर्ता र मक्ख पर्ने नेताको ठुलै जमात देखेका तपाईंका शुभचिन्तक एवं कार्यकर्ताले सायद तपाईंको स्पष्ट र खस्रो स्वभावलाई पचाउन सकेनन् ।
सत्ता मार्फत अख्तियारीको चरम दुरुपयोग गर्ने कांग्रेस, एमाले, चरम दक्षिण पन्थी र उग्र बामपन्थी सहित अन्य पार्टी र नेतृत्वले गरेका युगौँ असरदार रास्ट्रघाती सन्धि सम्झौताहरु; मौलाईरहेको खुलेआम अर्बौँ संस्थागत भ्रष्टाचार; राजनीतिक नियुक्तिका नाममा कार्यपालिका, न्यायपालिका र सुरक्षा जस्ता सम्बेदनशिल क्षेत्रहरुमा गरिने मनलाग्दी नियुक्तिहरू; हत्यारा, बलात्कारी र भ्रष्टाचारी जस्ता जघन्य अपराधीहरूलाई दिईएको संरक्षणका साथै सामाजिक सम्मान सहितका अन्य सयौं अक्षम्य गल्ती कमजोरीलाई आँखा चिम्लेर सहने अनी सहज स्वीकार्ने बानी परेका नेपाली माझ आफैले राजनीति सिकाएका चेलाहरु समेत तपाईंका प्रतिस्पर्धी भएर मैदानमा उत्रिँदैछन् आज । सुन्दा अवश्य नराम्रो लाग्छ तथापि यो कटु सत्य हो की यथास्थितिमा नेपाली जनताले तपाईंलाई पत्याउने आधार अत्यन्त न्यून देखिन्छ अध्यक्ष ज्यु ।
त्यसैले, यथार्थमा अत्यन्त सभ्य अनि निष्ठावान तर लोकाज मा गलत चरितार्थ गराईएका तपाईंका जन्मजात स्वभावलाई अविलम्ब परिवर्तन गर्ने अठोट गर्नुहोस् ताकि आफ्नै नाभीबाट निस्किएको सुगन्धको खोजीमा कस्तुरी भौंतारिएझैं तितर बितर भएका तपाईंका तमाम सुभचिन्तक एवं कार्यकर्ता मार्फत आम नेपाली सम्म त्यसको आभाष पुगोस् । गठबन्धित सत्तारोहणका न्यून समयमा पनि तपाईंको कार्य कुशलताको फाइदा लिएर अन्य पार्टीले दुई तिहाईको तर मार्न भ्याउँदा समेत आफनै पार्टी भित्र तपाईंको चरित्रमाथी सन्देह पैदा गराइनुको भित्री रहस्य नेपाली जनतालाई छर्लँग होस् । त्यसपछी मात्र “देश गुनाको भेष र कपाल गुनाको केश” गर्न माहिर समकालीन नेताहरूका चिप्ला र मीठा भाषणमा सँबृद्धि देख्ने बानी परेका जनताले कमल थापालाई चिन्नेछन् र शान्तिपूर्ण ढंगले जनताको अभिमत मार्फत सँबृद्ध नेपाल बनाउने तपाईंको दृढ संकल्प पूरा हुनेछ । अन्तमा, नेपाल र नेपालीलाई केन्द्रबिन्दुमा राखेर पून: सुरू गर्नुभएको तपाईको राजनैतिक यात्राले सिघ्रातिसीघ्र निर्दिष्ट लक्ष प्राप्त गरोस्, हार्दिक शुभकामना व्यक्त गर्दछु ।

याचक
……………
भरत ढकाल
त्रिपुरासुन्दरी-२, धादिङ, नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार