बीबीसी । रुसी फौजले किएभ टेलिभिजन टावरमाथि हमला गर्दा कम्तीमा पाँचजना मारिएको युक्रेनको आपत्कालीन सेवासम्बन्धी निकायले जनाएको छ।
रुसले युक्रेनमा अब लक्षित हमला गर्ने चेतावनी दिएकै दिन टेलिभिजन टावरमाथि प्रहार गरिएको हो। बीबीसी मोनिटरिङलाई थाहा भएअनुसार रुसी क्षेप्यास्त्र हमलामा अरू पाँचजना घाइते भएका छन्।
आक्रमणपछि टेलिभिजनका केही प्रसारण रोकिन पुगेको विवरणमा जनाइएको छ। आक्रमणबाट टेलिभिजन टावरनजिकै रहेको यहुदी नरसंहारका पीडितहरूको सम्झनामा बनाइएको एउटा स्मारकमा समेत क्षति पुगेको छ। ठूलो विस्फोट भएको र टावरबाट धुवाँको मुस्लो निस्किरहेको भिडिओ फुटेजमा देखिन्छ।
आक्रमणले टेलिभिजन टावरलाई नै निशाना बनाएको वा नबनाएको विषयमा स्पष्ट हुन सकेको छैन। आक्रमणपश्चात् पनि ३८० मिटर अग्लो टावर ठडिइरहेकै अवस्थामा छ।