आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

रुस–युक्रेन युद्ध : अहिलेसम्म के–के भयो ? कस्तो छ अवस्था (विस्तृतमा)

सोमबार, फाल्गुन १६ २०७८

पूटिनले आणविक प्रतिरोधक बललाई उच्च सतर्कतामा रहन निर्देशन
काठमाडौं । पश्चिमले आफ्नो देशविरुद्ध ‘अमित्रवत’ कदम चालेको आरोप लगाउँदै आइतबार रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले आफ्ना रक्षा प्रमुखहरूलाई देशका आणविक ‘प्रतिरोधक बल’ उच्च सतर्कतामा राख्न आदेश दिनुभएको छ ।

यूक्रेनमाथि रूसको आक्रमणबाट अन्तर्राष्ट्रिय तनाव बढिरहेका समय पूटिनको आदेशले थप संसूचक उत्पन्न गर्ने अनुमान गरिएको छ ।

मस्कोमा आणविक हातहतियार र ब्यालेस्टिक मिसाइलहरूको विश्वकै दोस्रो धेरै भण्डार छ जुन देशको प्रतिरोध बलको मेरुदण्ड बनेको छ ।

पुटिनले भन्नुभयो, “म रक्षा मन्त्री र रूसी सशस्त्र फौजका जनरल स्टाफका प्रमुखलाई रूसी सेनाका प्रतिरोध बलहरूलाई युद्ध सेवाको विशेष मोडमा राख्न आदेश दिन्छु ।

“तपाईंले देख्नुभयो कि पश्चिमी देशहरू आर्थिक क्षेत्रमा हाम्रो देशप्रति ‘अमित्रवत’ मात्र छैनन् । मेरो मतलब रूसमाथि उनीहरूले लगाएको प्रतिबन्ध अवैध हो,” उहाँले टेलिभिजन सम्बोधनमा भन्नुभयो ।

उहाँले थप्नुभयो, “उत्तर एटलाण्टिक सन्धि संगठन (नेटो) का सदस्य मुलुकका वरिष्ठ अधिकारीहरूले पनि हाम्रो देशविरुद्ध आक्रामक बयान दिन अनुमति दिन्छन् ।”

उहाँको आग्रहलाई रक्षा मन्त्री शोइगुले ‘सकारात्मक’ भनी समर्थन जनाउनुभएको थियो ।

रुसी राष्ट्रपतिले बिहीबार यूक्रेनमाथि आक्रमण गर्न दिएको आदेशले विश्वभर भयको तरङ्ग उत्पन्न गरेको छ ।

पश्चिमी स्रोतहरूका अनुसार रूसी स्थल सेना उत्तर, पूर्व र दक्षिणबाट यूक्रेनमा घुसेका छन् । यद्यपि युक्रेनी सेनाको तीव्र प्रतिरोधको सामना उनीहरूले गरिरहेका छन् जसको तीव्रताले सम्भवतः मस्कोलाई सोच्न बाध्य पारेको छ ।

यूक्रेनका अधिकारीहरूले केही रूसी सेनाहरू निरुत्साहीे र थकित भएका र दर्जनौंले आत्मसमर्पण गरेको दाबी गरेका छन् ।

रूसको सेनाले आक्रमणको एक दिनमै यूक्रेनी राजधानी कीभ पुगेको भएपनि यूक्रेनी सेनाले उनीहरूलाई पछि हटाउन लडिरहेका भन्ने यूक्रेनी दाबी रहेको छ ।

रूसी आक्रमणपछि तीन लाख ७० हजार यूक्रेनी विदेशी शरणमा

रूसले बिहीबार आक्रमण गरेयता दशौँ हजार युक्रेनी देश छोडेर भागेका छन् ।

संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय, यूएनएचसीआरले बताएअनुसार अहिलेसम्म कम्तीमा तीन लाख ७० हजार मानिसहरू यस युद्धबाट बच्न विभिन्न विदेशी मुलुकमा शरण लिन पुगेका छन् । यदि स्थिति थप खराब बनेको खण्डमा यूएनएचसीआरले ४० लाखसम्म यूक्रेनी शरणार्थीलाई व्यवस्थापन गर्ने योजना बनाएको छ ।

पोल्याण्ड, रोमानिया, हङ्गेरी र माल्दोभामा यूक्रेनी नागरिकहरूले शरण लिएका प्रारम्भिक सूचना छ ।

– पोल्याण्ड –

पोल्याण्डका सीमा रक्षकहरूको भनाइअनुसार करिब एक लाख ५६ हजार युक्रेनी पोल्याण्डको सीमा पार गरेर भागेका छन् । शुक्रबार मात्रै ५० हजार युक्रेनी पोल्याण्ड पुगेका थिए ।

पोल्याण्डका अधिकारीले ९० प्रतिशत शरणार्थीहरूलाई साथीभाइ वा सम्बन्धले स्थापना गरिरहेको भए तापनि सीमा नजिकै नौवटा स्वागत केन्द्रहरू स्थापना गरिएको बताएका छन् ।

रूसको आक्रमण अघि पोल्याण्डमा १५ लाख युक्रेनीमुलका नागरिकले बसोबास गर्दै आएका छन् ।

देशभरिका मानिसहरू नयाँ व्यक्तिहरूलाई आवास, पैसा, लुगाफाटा र काम दिन जुटिरहेका बताइएको छ ।

– रोमानिया –

बिहीबारदेखि रोमानिया पुगेका ४७ हजार युक्रेनीमध्ये २२ हजार अन्य मुलुकमा गइसकेको सरकारले बताएको छ ।

अधिकांश मानिसहरू देशको उत्तरमा सिरेट हुँदै यात्रा गरिरहेका छन्, जहाँ मार्माटाई नजिकै दोस्रो शिविर स्थापना गरिएको छ । रोमानियालीहरूले पनि शरणार्थीहरूलाई खाना र लुगाफाटा अनुदान दिन सामाजिक सञ्जालहरूमार्फत् सबैलाई आग्रह गरेका छन् ।

– हङ्गेरी –

यस आक्रमणपश्चात् लगभग ७१ हजार यूक्रेनी शरणार्थी हङ्गेरी पुगेका यहाँको आन्तरिकमामिला मन्त्रालयले जानकारी गराएको छ ।

जाहोनी जस्ता धेरै सीमावर्ती शहरहरूले स्वागत केन्द्रको रूपमा सार्वजनिक भवनहरू स्थापना गरेका छन् । साधारण मानिसहरूले खाना र लुगा अनुदान दिएका छन् ।

– मोल्दोभा –

शनिबारको अन्ततिर कम्तीमा पनि २५,००० युक्रेनी नागरिक मोल्दोभा पार गरेका थिए । संयुक्त राष्ट्रको शरणार्थी एजेन्सीको मध्य यूरोप प्रमुख रोलान्ड शिलिङले ‘हृदयविदारक स्थिति’प्रति यसको प्रतिक्रियाका लागि सानो राष्ट्र माल्दोभाको प्रशंसा गर्नुभएको छ । उहाँले स्थानीय जनताका साथसाथै मोल्दोभियाली सरकारले कठीन परिस्थितिमा व्यवहार गर्ने तरिकामा ‘साँच्चै प्रभावकारिता’ देखिएको बताउनुभयो ।

प्रधानमन्त्री नटालिया गाभ्रिलिताले शनिबार पलाङ्काको सीमा पार गर्न भ्रमण गर्नुभएको थियो । उक्त स्थानमा पाल गाउँ र चिकित्सा सुविधाहरू स्थापना गरिएका छन् ।

उहाँले ट्वीट गर्दै भन्नुभयो, “यूक्रेनका लागि यी अन्धकारमय दिनहरूमा हामी यसका नागरिकहरूको पक्षमा उभिन्छौं । “सुरक्षित यातायात वा आवासको खाँचो परेकाहरूलाई मोल्दोभाले मदत गर्नेछ । हामी तपाईंको युक्रेनसँगै छौं !”

– आन्तरिक रूपमा विस्थापित –

युक्रेनभित्र आइतबार बिहानसम्ममा लगभग एक लाख ६० हजार मानिसहरू आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ ।

संयुक्त राष्ट्र शरणार्थी प्रमुख फिलिपो ग्रान्डीले यसबारे ट्वीटमा भन्नुभएको छ, “यूक्रेनमा विस्थापन बढिरहेको छ तर सैन्य आक्रमणको स्थितिले सङ्ख्या अनुमान गर्न र सहायता प्रदान गर्न कठिन बनाएको छ ।

यूक्रेनद्वारा रूसविरुद्ध अन्तरराष्ट्रिय अदालतमा मुद्दा दर्ता
यूक्रेनले आफ्नो मुलुकविरूद्ध बिहीबार सुरु भएको रूसी सैनिक परिचालनलाई लिएर न्यायका लागि ‘द हेग’को अन्तर्राष्ट्रिय न्यायालयलाई अघि सारेको छ ।

रूसलाई ‘आक्रमण’ रोक्न आदेश दिन उच्च अदालतलाई आग्रह गरेको हो ।

ट्वीटरमा यस बिषयबारे जानकारी गराउँदै यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भन्नुभयो, “यूक्रेनले रूसविरुद्ध आफ्नो आवेदन अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा पेश गरेको छ । आक्रामक गतिविधिबारे सफाइ दिन जातीय संहारको धारणालाई छलकपट गरेकोमा रूसलाई जवाफदेही ठह¥याउनुपर्छ । हामीले आइसीजेसँग रूसलाई अहिले नै सैन्य गतिविधि बन्द गर्न र अर्को हप्ता मुद्दामा सुनुवाई हुनेगरी तत्काल निर्णय गर्न अनुरोध गर्छौं ।”

“यूक्रेनले द हेगस्थित संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायलयमा आधिकारिक रूपमा रूसविरुद्ध मुद्दा दायर गरेको छ । आक्रामण र जातीय संहारको अवधारणालाई विकृत गरेकोमा रूसलाई जवाफदेही ठह¥याउन यूक्रेनले माग गरेको छ ।

मस्को र किभबीच चलिरहेको तनावबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले शनिबार युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीसँग कुराकानी गर्दै रुस कूटनीतिक र आर्थिक रुपमा पृथक हुनुपर्ने बताउनुभएको थियो । यसअघि उहाँले जर्जियाका राष्ट्रपति सालोम जुराबिचविली र चेक गणतन्त्रका प्रधानमन्त्री पेटर फियालासँग वर्तमान अवस्थाबारे पनि कुराकानी गर्नुभएको थियो ।

जेलेन्स्कीले फोन वार्तालापमा युक्रेनलाई यूरोपेली संघमा सदस्यता प्रदान गर्ने आफ्नो व्यक्तिगत नेतृत्वको लागि पोल्याण्डका राष्ट्रपति आन्ड्रज डुडाप्रति आभार प्रकट गर्नुभएको छ ।

ट्वीटमार्फत् दिएको एक सन्देशमा जेलेन्स्कीले पोपको प्रार्थनाप्रति पनि आभार प्रकट गर्नुभयो ।

उहाँले भन्नुभयो, “यूक्रेनी जनताले उहाँको पवित्रताको आध्यात्मिक समर्थन महसुस गर्छन् ।” यूक्रेनको विकट क्षेत्र डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र पहिचानका रूपमा मान्यता दिएपछि रूसले बिहीबार बिहान सबेरै डोन्बास क्षेत्रमा विशेष सैन्य परिचालन सुरु गरेको थियोे । पश्चिमी देशहरूले रूसी सैनिक परिचालनको कडा निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्धको दबाब बढाएका छन् ।

युक्रेनमा रुसको आक्रमण जारी
रुसले युक्रेनमा शनिबार पनि आक्रमण जारी राखेको बताइएको छ । शनिबार राति पनि स्थल सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गरेका थिए । त्यसक्रममा आफूलाई पक्राउ गर्न खोजेको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले बताएका छन् । उनले गएराति रुसको सेनाले आफूलाई पक्राउ गर्न खोजेको तर सफल नभएको बताएका हुन् । रुसले आक्रमण गरेको आइतबार चौथो दिन रुसी सैनिक युक्रेनको राजधानी किभ पुगेका छन् । राजधानी किभको उत्तरी भेगमा रुसी सेना पुगेको युक्रेनले जनाएको छ ।
यहाँका नागरिकले सामाजिक सञ्जालमा राखेका भिडिओमा रुसी सेनाका ट्याङ्कर युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ । शुक्रबार नै किभ पुगेको रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडी किभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । युक्रेनले पूर्णरुपमा सेना परिचालन गरेको बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले यहाँ आमरूपमा सेना परिचालनको आदेश दिएका छन् । यहाँ अतिरिक्त ड्युटीमा रहेका र जगेडामा रहेका सेनालाई काममा बोलाइएको छ । त्यसैगरी यहाँका युवा जनशक्तिले पनि रुसी सेनाका विरुद्धमा लड्नुपर्ने भएको छ । यहाँका १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने घोषणा गरिएको छ । उता रुसले आत्मसमर्पण गर्न युक्रेनी राष्ट्रपतिलाई भनेको छ । आफू आत्मसमर्पण गर्ने र देश छोडेर भाग्ने पक्षमा नरहेको उनको दाबी छ ।
जेलिन्स्किीले रुससँग वार्ता गर्न तयार, बेलारुसमा वार्ता नगर्ने
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी आइतवार रुससँग वार्ता गर्न इच्छुक रहेको बताएका छन् । उन वार्ताको लागि बेलारुसमा भने नबस्ने बताएका छन् । मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय भू–भाग प्रयोग गर्दै आएको हुृनाले त्यहाँ नबस्ने बताएको समाचारमा जनाइएको छ ।
युक्रेन सङ्कटको कारक अमेरिका : उत्तर कोरिया
उत्तर कोरियाले युक्रेन सङ्कटको मुख्य कारक अमेरिका नै रहेको आरोप लगाएको छ । रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस र युक्रेनका बीचमा युद्ध हुनुमा अमेरिका नै मुख्य कारक रहेको उल्लेख गरेको हो । अमेरिकाले युक्रेनलाई हरेक कुराका आफ्नो सहयोग रहने आश्वासन दिँदै रुससँग भिड्न उक्साएको पनि उत्तर कोरियाको आरोप छ । अमेरिका निकट हँुदै गएकोप्रति असन्तुष्ट रहेको रुसले युक्रेनमा आक्रमण गर्दा पनि अमेरिकाले उल्लेख्य सहयोग नगरेको टिप्पणी भइरहेको छ ।
उत्तर कोरियाको विदेश मन्त्रालयको वेभसाइटमा अमेरिकाले युक्रेनलाई उक्साएपनि सहयोग नगरेर दोहोरो भूमिका खेलेको लेखिएको छ । शान्ति र स्थायित्वको नाममा अमेरिकाले अरु देशको आन्तरिक मामिलामा खेल्ने गरेको आरोप पनि उत्तर कोरियाले लगाएको छ । क्षेत्रीय तथा अन्तराष्ट्रियस्तरमा आफ्नो प्रभुत्व कायम राख्नका लागि पनि अमेरिकाले अन्य देशहरुको आन्तरिक मामिलामा चलखेल गर्ने गरेको उत्तर कोरियाको भनाइ छ ।
युक्रेनका राष्ट्रपतिद्वारा युरोपियन युनियनको सदस्यता माग
युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई युरोपियन युनियनको सदस्यताको माग गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा सो आग्रह गरेका हुन् । उनले ट्वीटमा भन्नुभएको छ, अहिले नै सबै कुराको छलफल गर्न सम्भव छैन, हामी निकै अप्ठेरो अवस्थामा छौँ । त्यसैले हामीलाई युरोपियन युनियनको सदस्यता दिइयोस् । हाल युक्रेनमाथि रुसले हमला गरिरहेको छ । त्यसैले यतिखेर युक्रेन निकै अप्ठेरो अवस्थामा परेको छ ।
रुसी सेना युक्रेनको दोस्रो सहरमा प्रवेश, लडाइँ जारी
रुसी सेना युक्रेनको दोस्रो शहर खार्किभमा प्रवेश गरेका छन् । रुसले आक्रमण गरेको आइतबार चौथो दिन आइतवार लडाइँ चलिरहेको क्षेत्रीय प्रशासनका प्रमुखले बताएका छन् । “रूसी शत्रुका गाडी खार्किभ शहरमा प्रवेश गरे, “ओलेग सिनेगुबोभले फेसबुक पोस्टमा बताएका छन् । “युक्रेनी सशस्त्र बलले शत्रुलाई नष्ट गर्दैछन् ।“ उनले थप जानकारी दिएका छन् ।
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गरेका थिए । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए । शनिबार बेलुकासम्ममा युक्रेन र रुसबीचमा भएको भीडन्तका क्रममा तीन बालबालिकासहित कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको जनाइएको छ ।
युक्रेनमा सबैतिरबाट आक्रमण गर्न रुसी सेनालाई फेरि निर्देशन
युक्रेनमा सबैतिरबाट आक्रमण गर्न रुसी सेनालाई फेरि निर्देशन दिइएको छ । वार्ताका लागि रुसले गरेको आग्रह युक्रेनले अस्विकार गरेपछि युक्रेनमाथी फेरि आक्रमण गर्न रुसले आफ्नो सेनालाई निर्देशन दिएको हो । अमेरिकाले शनिबार वार्ताका लागि आह्वान गरेकोमा युक्रेनले अहिले वार्ताको औचित्य नभएको जवाफ दिएको थियो । शनिबार बेलुकासम्ममा युक्रेन र रुसबीचमा भएको भीडन्तका क्रममा कम्तीमा १९८ युक्रेनीको मृत्यु भएको थियो । तीमध्ये तीन जना बालबालिसमेत रहेका थिए ।
युक्रेनी सेना र रुसी सेनाबीचमा युक्रेनमा आइतबार पनि युद्ध जारी छ । आइतबार युक्रेनको दक्षिणी सरह नोभा काखोभ्कालाई रुसले आफ्नो नियन्त्रणमा लिएको छ । युक्रेनी सञ्चारमाध्यमले नै डीनीपर नदीको किनारमा रहेको यो सहरलाई रुसले नियन्त्रणमा लिएको जनाएका हुन् । रुसी सेनाले सहरको कार्यकारी समितिलाई नियन्त्रण गरेको र सबै भवनबाट युक्रेनको झन्डा झिकेको नोभा काखोभ्काका नगरप्रमुखले बताएका छन् । यसैगरी युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा पनि रुसी सेना प्रवेश गरेको स्थानीय अधिकारीले जनाएका छन् । खार्किभका क्षेत्रीय प्रशासन प्रमुख ओलेग सिनेगुबोभले साना सैन्य सवारी सहर छिरेको पुष्टि गरेका छन् । नागरिकलाई भने घर भित्रै रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार