काठमाडौं, १० असार । उपत्यकामा नेत्र विक्रम चन्द नेतृत्वकोे नेकपा माओवादीले आह्वान गरेको बन्दको आंशिक प्रभाव देखिएको छ ।
सार्वजनिक सवारीसाधन फाट्टफुट्ट चले पनि निजी सवारीसाधन सामान्य अवस्थामा जस्तै चलेको छ । अधिकांश शिक्षण संस्थाहरु बन्द रहेका कारण सडकमा यातायातको चाप भने कम छ ।
बन्दका कारण लामो दूरीका गाडी चल्न सकेका छैनन् । काठमाण्डौ उपत्यकामा छोटो दूरीका गाडी पनि कम मात्रै चलेका छन् । बन्दका कारण बिहानै आवतजावत गर्ने सर्वसाधारण समस्यामा परेका छन् ।
यसैबीच ललितपुरको जावलाखेलमा प्रेसर कुकर बम भेटिएको छ । मंगलबार बिहान जावलाखेल खेल मैदान अगाडि होटलको सटरमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे निष्क्रिय बनाएको छ ।
गएको साता बिहीबार सर्लाही लखनदेहीमा विप्लव समूहका कुमार पौडेललाई प्रहरीले पक्राउ गरेपछि हत्या गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले मंगलबार बन्द आह्वान गरेको हो ।
प्रहरीले भने पौडेल विभिन्न अपराधमा पनि संलग्न रहेको र प्रहरीलाई गोली चलाएपछि जवाफी कारबाहीमा मारिएको बताउँदै आएको छ ।
जावलाखेलमा प्रेसर कुकर बम, सेनाद्वारा डिस्पोज
ललितपुरको जावलाखेलमा प्रेसर कुकर बम भेटिएको छ । मंगलबार बिहान जावलाखेल खेल मैदान अगाडी होटलको सटरमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे डिस्पोज गरेको छ ।
प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार जावलाखेलमा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनालाई खबर गरिएको थियो ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । गएको बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले मंगलबार बन्द घोषणा गरेको हो । बम विप्लव समूहले नै राखेकाे प्रहरीकाे दाबी छ ।