बिहिबार, पुष ८ २०७८
स्वास्थ्य राम्रै रहे अर्काेपटक पनि राष्ट्रपतिमा उठ्छु : राष्ट्रपति बाइडेन
वासिङ्टन(रासस÷सिन्ह्वा) ः अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दियो भने अर्थात् स्वास्थ्य अवस्था राम्रै रह्यो भने अब हुने अर्काे राष्ट्रपतिको निर्वाचनमा पनि आफू निर्वाचनमा लड्ने बताउनुभएको छ । अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी सन् २०२४ मा हुन्छ । सो समयसम्ममा आफ्नो स्वास्थ्य अवस्था ठीक रहेका खण्डमा आफू पुनः राष्ट्रपतिमा उठ्ने उहाँले बताउनुभएको हो ।
बुधबार एबिसी वल्र्ड न्यूजसँगको अन्तर्वार्तामा उहाँले सो कुरा बताउनुभएको हो । उहाँलाई सो अन्तर्वार्ताका क्रममा अर्काे निर्वाचनमा राष्ट्रपति पदमा पुनः उठ्नुहुन्छ भनी सोधेको प्रश्नमा उहाँले सो जवाफ दिनुभएको हो । सो क्रममा उहाँले भन्नुभएको थियो, “हेर्नुस् म अहिलेजस्तै स्वस्थ भएँ र मलाई अबको चार वर्षपछि पनि म अहिलेजस्तै अवस्थामा आफूलाई पाएँ भने त्यो निर्वाचनमा पनि म अवश्य उठ्छु ।”
बेलायतमा एकै दिन कोरोना भाइरसका १ लाखभन्दा बढी संक्रमित
लन्डन(रासस÷सिन्ह्वा) ः बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित पाइएका छन् । यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार बुधबार मात्र एक लाख छ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका हुन् । यसअघि यहाँ एकै दिनमा ९६ हजार जना जतिमा यो भाइरसका सङ्क्रमित भेटिएका थिए । यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी सङ्क्रमित सङ्ख्या हो । बेलायतमा पछिल्ला केही हप्ताहरूमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । हरेक दिनजसो सबैभन्दा धेरै सङ्क्रमितहरू देखिन थालेका छन् ।
यहाँका अधिकारीहरूले प्रकोप सुरू भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन् । यहाँ केही समययता हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ । यसकारण यहाँका कतिपय कार्यक्रमहरूमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ । यहाँ अहिलेसम्म एक करोड १६ लाखभन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४७ हजारभन्दा बढी पुगेको बताइएको छ । पछिल्ला हप्ताहरूमा सङ्क्रमणको तुलनामा मृत्युदरमा भने उल्लेख्यरूपमा कमी आएको देखिएको बताइएको छ ।
दुर्घटनामा सातको मृत्यु
लापाज(रासस÷सिन्ह्वा) ः बोलिभियाको दक्षिणी क्षेत्र चुकेसामा सडक दुर्घटनामा परी कम्तीमा पनि सात जना यात्रुको निधन भएको छ । यहाँका स्थानीय अधिकारीका अनुसार सडकमा गुडिरहेको गाडी खोँचमा खस्दा ती यात्रुको निधन भएको हो । आठ जना यात्रु लिएर गएको भ्यान दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी एक जना घाइते भएका बताइएको छ । यहाँको नगरपालिकाका प्रमुखले अविरल वर्षाका कारण सडक चिप्लो भएर उक्त सवारी चिप्लिएर सडकमा खसेको बताएका छन् ।
भारतमा थप २३६ जनामा ओमिक्रोन भेरियन्ट भेटियो
नयाँ दिल्ली(रासस÷एएनआई) ः भारतमा कोरोना भाइरसबाट थप सात हजार ४९५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । तीमध्ये २३६ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्रमा ६५ जना, दिल्लीमा ५४, तेलङ्गानामा २४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको समाचारमा जनाइएको छ । सोही अवधिमा थप ४३४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ७८ हजार ७५९ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । पछिल्ला हप्ताहरूमा सङ्क्रमणको तुलनामा मृत्युदरमा भने उल्लेख्यरूपमा कमी आएको देखिएको बताइएको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७८ हजार २९१ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.२३ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या ५७६ दिनको नै सब भन्दा कम रहेको अधिकारीले जनाएका छन् । गएको २४ घण्टामा भारतमा छ हजार ९६० कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख ८ हजार ९२६ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् ।
भारतमा कोरोना भाइरस निको हुने दर ९८.४१ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ । भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६६ करोड ८६ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३८ करोड ४० लाखभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।
अफगानिस्तानमा मानवीय अवस्था गम्भीर छ
मस्को (रुस)(रासस÷एएनआई) ः अफगानिस्तानमा मानवीय अवस्था अझै गम्भीर रहेको रसियाली विदेश मन्त्रालयका मानवअधिकार आयुक्त ग्रिगोरी लुक्यान्त्सेभकाले बताउनुभएको छ । आर्थिक सहायताको प्रावधानमा समस्याहरू रहेका पनि उहाँ स्थानीय सञ्चारमाध्यमलाई बताउनुभएको छ । अफगानिस्तानको अवस्था कसरी विकास हुनेछ भन्न गाह्रो भएको उहाँले बताउनुभएको छ ।
सबैले अफगानिस्तानमा नयाँ अधिकारीहरूको कार्यलाई हेरिरहेका तर उनीहरूले आफ्नो आधिकारिक अन्तर्राष्ट्रिय मान्यताअनुसार कार्य गर्न कुनै हतार नगरेका पनि उहाँले बताउनुभएको छ । त्यहाँको मानवीय अवस्था एकदमै गम्भीर रहेको र आर्थिक सहयोग व्यवस्थामा समस्या भएको लुक्यान्त्सेभलाई उद्धृत गर्दै स्पुतनिकले जनाएको छ । यसबाट आप्रवासी समस्या बढ्ने कुरा बिर्सिन नहुने पनि उहाँले चेतवनी दिनुभएको छ ।
उत्तरपश्चिम पाकिस्तानमा कार र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते
इस्लामावाद(रासस–सिन्ह्वा) ः पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार बिहान जानकारी दिएका छन् । कार र ट्रक एकापसमा ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
उद्धारकर्मीहरूले घाइतेलाई अस्पताल पु¥याएका छन् र घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटना इस्लामावाद–पेशावर मोटरवेको उत्तरपश्चिमी अटक इन्टरचेन्ज नजिक भएको हो । हालै, पाकिस्तानको ठूलो भाग, विशेषगरी खुला क्षेत्रहरूमा बाक्लो कुहिरो लागेको छ जसले सडक दुर्घटनाहरू बढाएको छ । यसैबीच कमजोर मर्मत गरिएको सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरवाही पाकिस्तानमा सडक दुर्घटनाका अन्य प्रमुख कारणहरू हुन् ।
अमेरिका र इयुद्वारा लिथुआनियाविरुद्ध चीनको जबरजस्तीको बारेमा चासो
वासिङ्टन (रासस–एएनआई) ः अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विदेश मामिलाका लागि युरोपेली सङ्घका उच्च प्रतिनिधि जोसेप बोरेलसँग टेलिफोन वार्ता गर्दै लिथुनियाविरुद्ध चीनको बढ्दो राजनीतिक र आर्थिक दबाबका बारेमा साझा चिन्ता व्यक्त गर्नुभएको छ । विज्ञप्ति जारी गर्दै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले ब्लिन्केन र बोरेलले चीनको जबर्जस्ती व्यवहारको सामना गर्दै लिथुआनियासँग इयू र अमेरिकाको निरन्तर ऐक्यबद्धतालाई जोड दिएको जनाउनुभएको छ । सो अवसरमा ब्लिन्केन र बोरेलले संयुक्त राज्य अमेरिका–इयू साझेदारीलाई सुदृढ गर्न र साझा चुनौतीहरूको सामना गर्नसँगै काम गर्ने आफ्नो निरन्तर प्रतिबद्धता पुष्टि गर्नुभएको छ ।
“उहाँहरूले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई समर्थन गर्न समन्वयात्मक कार्यको आवश्यकतामा जोड दिँदै युक्रेनविरुद्ध कुनै पनि रूसी सैन्य आक्रमण गरेमा रूसी सङ्घको लागि ठूलो मूल्य चुकाउनुपर्नेमा जोड दिइएको छ । लिथुआनियाको विरूद्ध जनवादी गणतन्त्र चीनका कदमले अमेरिका र युरोपेली कम्पनीहरूलाई असर गरिरहेको छ । “उहाँहरूले चीनको जबर्जस्ती व्यवहारको सामना गर्दै लिथुआनियासँग निरन्तर ऐक्यबद्धतालाई जोड दिँदै आर्थिक पक्षलाई बलियो बनाउन सँगै काम गर्न पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ”, प्रवक्ताले भन्नुभयो ।
लिथुआनिया र चीनबीचको विवाद यस वर्षको सुरुमा लिथुआनिया पूर्वी युरोपको ‘१७+१’ ब्लकबाट बाहिरिएपछि भएको हो । त्यसपछि लिथुआनियाले ताइवानसँग कूटनीतिक सम्बन्ध बढाएको थियो र ताइवानको प्रतिनिधि कार्यालयलाई अनुमति दिने एकमात्र युरोपेली देश बन्यो । फलस्वरूप गत अगस्टमा चीनले भिल्नियसबाट आफ्नो राजदूत फिर्ता बोलायो त्यसलगत्तै प्रतिक्रियास्वरूप लिथुआनियाले पनि सेप्टेम्बरमा सोही कदम चाल्यो ।
संयुक्त राष्ट्रसङ्घद्वारा अफगानिस्तानमाथिको आर्थिक प्रतिबन्ध खुकुलो बनाउने प्रस्ताव पारित
न्यूयोर्क (रासस–एएनआई)ः संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको प्रस्ताव २६१५ पारित गर्दै मानवीय उद्देश्यका लागि अफगानिस्तानमा पैसा प्रवाह गर्न अनुमति दिएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन् । नयाँ प्रस्तावका आधारमा अमेरिकाले मानवीय उद्देश्यका लागि अफगानिस्तानमा आर्थिक प्रतिबन्धहरू खुकुलो पार्नेछ र तालिबान अधिकारी र उनीहरूका संस्थाहरूलाई प्रक्रियामा संलग्न हुन अनुमति दिने कुरा खामा प्रेसले उल्लेख गरेको छ ।
अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि थोमस वेस्टले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को कदमको स्वागत गर्दै अफगान जनताको समर्थनमा अन्तरराष्ट्रिय समुदायसँगै एकजुट रहेको बताउनुभएको छ । “आज बिहान सर्वसम्मतिले उक्त प्रस्ताव पारित गरेको छ । यसैबीच भारतले सङ्कटग्रस्त देशलाई मानवीय सहायताका लागि प्रतिबन्धहरूबाट छुट दिने प्रस्तावलाई समर्थन गरेको छ ।
अमेरिकी विदेशमन्त्री र कतारी विदेशमन्त्रीबीच छलछल
वाशिङ्गटन (रासस–एएनआई) ः अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुधबार कतारी विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग अफगानिस्तानको पछिल्लो घटनाक्रमका बारेमा समीक्षा गर्नुभएको छ । ब्लिन्केनले कतारी जनतालाई हालै कतार राष्ट्रिय दिवस मनाएकामा बधाई दिँदै कतारले अमेरिकी नागरिक, कानुनी स्थायी बासिन्दा र अफगानिस्तानबाट सुरक्षित ट्रान्जिटमा सहयोग गर्न निरन्तर काम गरेकामा धन्यवाद व्यक्त गर्नुभएको छ ।
ब्लिन्केनले यसअघि नै अफगानिस्तानलाई प्रदान गरिने सहयोगको स्तर बढाउन अन्तरराष्ट्रिय समुदायसँग मिलेर काम गर्ने र कोभ्याक्समार्फत सङ्घर्षग्रस्त देशलाई थप १० लाख कोभिड–१९ खोपको खुराक उपलब्ध गराउने बताउनुभएको छ । सो अवसरमा संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका जनतालाई सहयोग गर्न मानवीय सहायता र अन्य आवश्यक सहयोग प्रवाह सुनिश्चित गर्न अन्तरराष्ट्रिय समुदायसँग अथक प्रयास गरिरहेको समेत उल्लेख गर्नुभएको छ ।
मेडागास्कर जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो
अन्टानारिभो(रासस–एएफपी) ः माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ । समुद्री अधिकारीहरूले बिहीबार २१ शव निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको बताइएको हो । सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको १२ फिट लामो डुङ्गा (जहाज)मा १३८ जना सवार रहेको र ५० जनाको मात्रै उद्धार गरिएको बताएका छन् । मृत्यु हुनेमा पाँच बालबालिका रहेका छन् ।
यात्रुहरू बोक्नका लागि अनुमतिप्राप्त नभएको उक्त काठको जहाज एन्टसेराका गाउँबाट सोआनिराना–इभोङ्गोकोतर्फ लगभग १०० किलोमिटर (६० माइल) दक्षिणतर्फ प्रस्थान गर्दै थियो । नदी र सामुद्रिक बन्दरगाह एजेन्सीका एड्रियन फेब्रिस रत्सिम्बाजाफीका अनुसार प्रारम्भिक अनुसन्धानले जहाजको इन्जिनमा ‘प्राविधिक समस्या’ भएको देखाएको छ ।
यमनमा खाद्य सङ्कट गहिरिँंदै
न्यूयोर्क (रासस–एएनआई) ः संयुक्त राष्ट्रसङ्घ खाद्य राहत एजेन्सीले बुधबार १३ मिलियन यमनीहरूलाई प्रदान गरिरहेको खाद्य सहायतालाई निरन्तरता दिन कोष सकिन लागेको जनाएको छ । मध्य पूर्व र उत्तरका लागि विश्व खाद्य कार्यक्रमका क्षेत्रीय निर्देशक कोरिन फ्लिसरले सो कुरा बताउनुभएको हो । यमनका परिवारहरू जो बाँच्नका लागि विश्व खाद्य कार्यक्रमको खाद्य सहायतामा निर्भर छन् । यमनमा खाद्य सङ्कट गहिरिँदै गर्दा तिनीहरूका लागि सबैभन्दा खराब समय आउँदै गरेको टिप्पणी भइरहेको छ ।
जनवरीदेखि यमनमा ठूलो सङ्ख्यामा जनताहरू खाद्य सङ्कटमा फसेका छन् र विश्व खाद्य कार्यक्रमको सहयोगको तीव्र र निरन्तर पर्खाइमा छन् । यसका पछाडि मुद्राको अवमूल्यन र उच्च मुद्रास्फीति मुख्य कारण रहेको बताइएको छ । विगत तीन महिनादेखि यहाँका प्रायः सबै परिवारमा यसको प्रत्यक्ष असर देखिएको छ । “यमनी जनता अहिले पहिलेभन्दा धेरै कमजोर छन्, निरन्तर द्वन्द्व र गहिरो आर्थिक सङ्कटले लाखौँलाई विपन्नतामा धकेलिरहेको छ”, फ्लिसरले टिप्पणी गरेका छन् ।
जापानी प्रधानमन्त्रीद्वारा २०२२ मा ज्याला वृद्धि गर्न आह्वान
टोकिया(रासस–सिन्ह्वा) ः जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार आफ्नो सम्पत्ति वितरणको नीतिगत लक्ष्यअनुसार अर्को वर्षको सुरुमा वार्षिक श्रम–व्यवस्थापन वार्ताअघि ज्याला वृद्धि गर्न आह्वान गर्नुभएको छ । “मजदुरी बढाएर (सम्पत्ति) बाँडफाँट गर्नु भनेको भविष्यमा लगानी गर्नु हो”, किशिदाले औपचारिकरूपमा जापान बिजनेस फेडरेशन भनेर चिनिने केइदानरेनको बैठकमा उक्त टिप्पणी गर्नुभएको हो । अक्टोबरमा पदभार ग्रहण गरेका प्रधानमन्त्रीले आफ्नो नयाँ पूँजीवादमा बलियो मध्यम वर्ग निर्माण गर्ने वाचा गर्नुभएको थियो । त्यसका लागि ज्याला वृद्धिको गतिलाई प्रमुख कामका रूपमा लिनुभएको छ । उहाँले प्रि–प्यान्डमिक स्तरमा फर्केका कम्पनीहरूको चार प्रतिशतभन्दा बढी तलब वृद्धि गर्न आह्वान गर्दै आउनुभएको छ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij