सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

प्रथम विश्वयुद्धको लेन्सबाट ‘बेल्जियमको ईपर’ (तस्वीरसहित)

शुक्रबार, कार्तिक २६ २०७८

नोभम्बर ११ तारिक अर्थात प्रथम विश्वयुद्धको अन्त्यको घोषणा भएको दिन इपरको मेननमा अबस्थित सहिद स्मारक पुगेर बेल्जियमका नेपालीहरुले स्रद्धान्जली अर्पण गर्न थालेको २१/२२ बर्ष भयो। प्रत्येक वर्ष तमु समाज बेल्जियमको नेतृत्वमा इपर पुगेर प्रथम विश्वयुद्धमा जर्मन सेनाबाट मारिएका ब्रिटिश भारतीय गोर्खा आर्मीप्रति श्रद्धान्जली दिने गरिएको छ। त्यो दिन बेल्जियमको इपरमा प्रथम विश्वयुद्धमा मारिएका सम्पूर्ण सेनाहरुलाई सम्मान स्वरुप तात्कालिन मित्र राष्ट्रहरुको पक्षबाट सलामी दिईन्छ। मृत आत्माको चिर शान्तिको कामना गर्दै शान्तिको धुन बजाइन्छ र स्मारकमा फूलका गुच्छा अर्पण गरेर युद्धमा मारिएकाहरुलाई आत्मिक समबेदना अर्पण गरिन्छ।

प्रथम विश्वयुद्ध जसमा अकारण करोडौं मानबहरु मारिए वा अंगभंग भए, खरबौंको सम्पति तहसनहस भयो र त्यसको असर दसकौं वर्षसम्म रहन पुग्यो। त्यो युद्ध हुनुका धेरै कारण मद्धे प्रथम कारण अरु देशका स्रोत साधनको लुट प्रमुख हो। प्रथम विश्व युद्धमा संसारका अधिकतम देशहरु प्रतक्ष र परोक्ष रुपमा सहभागी थिए। प्रथम विश्व युद्धमा नेपाल प्रतक्ष रुपले सहभागी थिएन। तर तात्कालिन बेलायती भारतीय सेनामा रहेका नेपालीहरु जर्मन सहित केन्द्रिय शक्तिको बिरुद्ध लड्न बेल्जियमको इपर आएका हुन्। त्यस्तै दोश्रो विश्वयुद्धमा जर्मनी सेना बिरुद्ध लड्न गोर्खाली बेलायति सेना इटालीको रिमिनी र फ्रान्सका बिभिन्न स्थानमा आएको कुरा इतिहाँसले देखाउंछ। सन् २१ सेप्टेम्बर १९४४मा ब्रिटिस गोर्खाली सेना हजारौंको संख्यामा मारिएको कुरा इटालीको रिमिनी युद्ध चिहानले बताएको छ। गोर्खा युद्ध चिहान (Rimini Gurkha War Cementery,SS72, 47924 Rimini RN, Italy) जहाँ अहिलेसम्म पनि त्यहाँको सरकार,आफन्तहरु र बेलायति गोर्खाहरुले आफ्ना बिर अग्रजको सम्झनामा फुल चढाउँन आउछन। गोर्खालीहरु ति दुवै विश्व युद्धमा कहाँ कति मारिए त्यसको खोज अझै हुँदै छ। इतिहाँस खोजकर्ता,कुटनैतिक निकाय तथा खोज पत्रकारहरुले आफ्ना पुर्खाले सम्हालेका लडाईका मोर्चा वा मारिएको सम्भावित स्थानबारे अझै ब्याबस्थित खोजीनीति गर्नु आबश्यक छ।

परिवेश :

युद्धको अन्तर्यमा साना ठुला अनेक कारणहरु हुन्छन। प्रथम विश्व युद्धको बिषयमा पनि त्यो कुरा सत्य हो। त्यो बेला दुई सामान्तबादी आधार सहित बनेका साम्राज्यबादी देशका बेग्लाबेग्लै अन्तराष्ट्रिय गुठहरु थिए। अर्थात त्यो बेला बिस्व शक्ति दुई ध्रुबमा विभक्त थियो। एउटा शक्ति जर्मनीको नेतृत्वमा केन्द्रिय शक्तिको नामले परिचित थियो भने अर्को शक्ति बेलायतको नेतृत्वमा मित्र राष्ट्र शक्तिको रुपमा परिचित थियो। सन् १९१४को जुलाई २८बाट युद्धको शुरुवात भयो। तात्कालिक निहुँ थियो-अष्ट्रियाका तात्कालिक राजकुमार आर्क्ड्युक फ्रान्सिस फ़र्डिनाण्डको हत्या। राजकुमार अष्ट्रियाको राजगद्धीका उत्तराधिकारी समेत थिए। अष्ट्रियाले त्यसको दोष सर्भियालाई लगायो। सन् १९१४को जुन २८को दिन तात्कालिक युबराज आर्क्ड्युक र युवराज्ञी साराजेवोको नगर सभागृहतिर गइ रहेका थिए। सभागृहबाट सोझै उनीहरु संग्राहलयतर्फ गए।त्यहि बेला पार्कमा राजकुमारको गाडी रोकी पछाडी हटाउनु पर्यो। ठिक त्यति खेरै ग्राभिलो प्रिन्सिस भन्ने युवकले दुईवटा गोलि चलाएर राजकुमार र राजकुमारीको हत्या गर्न सफल भयो। अष्ट्रिया र हंगेरीले त्यो हत्या योजनाको दोष सर्भिया माथि लगायो। तत्काल कडा सर्तहरु राखेर सर्त पुरा नगरे २८ घण्टाभित्र युद्ध गर्ने धम्कि दियो। सर्भियाले अष्ट्रिया-हंगेरीको उक्त चेतावनीलाई अस्विकार गर्यो। अन्त्यमा २८ जुलाई १९१४मा दुई देश बीच घमासान युद्ध सुरु भयो।

शुरुमा रुसले सर्भियाको पक्ष लियो भने जर्मनी अष्ट्रियाको पक्ष लियो। त्यसै शिलसिलामा जर्मनीले ४ अगस्त,१९१४ बेल्जियममाथि आक्रमण गर्यो। बेलायतले सदैब बेल्जियमको स्वतन्त्रतालाई समर्थन गर्ने भएकोले फ्रान्ससंग मिलेर बेलायति सेना बेल्जियमको इपर वरपर आधार बनाएर जर्मनीको बिरुद्ध लडे। युद्धको पछिल्लो चरणमा इपरका बेलायति सैनिक आधारहरुमा जर्मनी सेनाले हवाई आक्रमण गर्यो। उसले हवाई हमला मार्फत रासायनिक आक्रमण समेत गरेको कतिपय इतिहाँसकारहरुले बताएका छन्। सन् १९१५ पछि बेलायत र फ्रान्सले युद्ध जित्न नसक्ने देखे पछि रुस,इटाली,जापान,सर्भिया र पोर्तुगलसंग उनीहरुले पूर्ण सहयोग मागे। सन् १९१७ पछि अमेरिका,क्युवा,चीन,पानामा,लाइबेरिया,ब्राजिल पनि बेलायतको नेतृत्वमा रहेको मित्र सक्ति समुहको पक्षमा लड्न आए। त्यो बेला सम्म जर्मन सेनाले बेल्जियममा ब्यापक बिनास गरिसकेको थियो। बलात्कार र नागरिकमाथि भएको सैनिक यातनाको कुनै सिमा नै थिएन।
बेल्जियमको ईपर लगायत युरोपका विभिन्न स्थानमा भैरहेको युद्धको क्रममा बेलायत र फ्रान्सका धेरै सेनाहरुको हताहत भै रहेको थियो। त्यहि क्रममा इष्ट ईण्डिया कम्पनिबाट ल्याइएका पाकिस्तानी,भारतीय,बर्मेली र नेपाली मुलका गोर्खाली सेना ईपर आउन थालेको स्पष्ट हुन्छ। सन् १९१४ बाट १९१८को युद्ध बिरामसम्म कति नेपाली र भारतीय उपमाहाद्विपका निर्दोष सैनिकहरु मारिए वा ज्युदै गाडिए त्यसको पूर्ण तथ्यांक अहिलेसम्म भेटिएको छैन।

तर जे होस् उक्त युद्धमा अमेरिका लगाएतका देशहरुले बेलायत र फ्रान्सलाई सहयोग नगरेको भए युद्धको परिणाम ठिक उल्टो हुने थियो। किनकि त्यो बेला समुन्द्र भित्र हिड्ने पानडुब्बि जहाज केवल जर्मनीले मात्र बनाएको थियो। युद्ध प्रबिद्धिमा जर्मनी संसारमै अग्रपंतिमा थियो। उसले बेलायत लगायत देशका पानीजहाज मात्र नभएर युद्धमा भाग नलिएका देशहरुका पानीजहाज पनि समुन्द्रमा डुबाउन थाल्यो। आखिर जसका पनि पानीजहाज डुबाउने जर्मनी हर्कत उसकोलागि अभिसाप बन्न पुग्यो। ७ मई १९१५ मा जर्मनीको पाण्डुब्बि जहाजले अमेरिकाको लुसितानिया नामक पानि जहाज आयरल्याण्डको दक्षिणी किनारामा डुबाई दियो र १२४ जना अमेरिकन मारिए। फेरी १९१६को मार्चमा अमेरिकाको अर्को पानीजहाज समुन्द्रमा डुबाई दिए पछि थप ७५ जना अमेरिकन मारिए। त्यसै कारण तात्कालिन अमेरिकी राष्ट्रपति विल्सनले जर्मनीको सक्ति गुठ बिरुद्ध युद्ध गर्ने अनुमति कांग्रेशसंग मागे। तत्काल अमेरिकी संसदले अमेरिकालाई युद्धको अनुमति दियो।

६ अप्रिल १९१७ पछि अमेरिका पनि आफ्ना मित्रहरु क्रमश क्युवा,चीन,पानामा,लाइबेरिया र ब्राजिल सहित जर्मनी बिरुद्ध युद्धमा होमिएको हो।
रसिया युद्धमा होमिएकै बेला रुसमा राज्य बिप्लव भयो। सन् १९१७को मार्चमा सम्राट जारको सत्ता पल्टिए पछि एक अस्थाई सरकार बन्यो। त्यसले युद्धमा बेलायतको साथ दिइरह्यो। तर नोभेम्बर ७मा लेनिनले पूर्ण रुपमा सत्ता आफ्नो हातमा लिए पछि १५ डिसेम्बर १९१७को दिन मध्ये युरोप र रुसबीच युद्धबिराम सन्धि भयो। ३ मार्च १९१८ मा जर्मनीसंग रुसले स्थाई युद्धविराम सन्धि गर्यो। अलग अलग प्रकारले जर्मन बिरुद्ध लडीरहेका मित्र राष्ट्रका फौजले आफ्नो बललाई रणनैतिक रुपमा केन्द्रिकृत गर्ने सम्झौता गरे। बेलायतको नेतृत्वमा रहेको मित्रराष्ट्रहरुको फौजले सन् १९१८ मार्च २८ मा जर्मनी बिरुद्ध संयुक्त मोर्चा बनाई जनरल फोचलाई संयुक्त सेनापति घोषणा गरे। लगत्तै १० लाख अमेरिकी नेतृत्वको सेनाले फ्रान्स, इटाली,बेल्जियम,डेनमार्क लगायतबाट जर्मनी सेनालाई घेरा हाले। त्यसपछि जर्मनी शक्तिको पतन शुरु भयो। ३० सेप्टेम्बर १९१८मा बुल्गेरियाले आत्मसमर्पण गर्यो भने ३१ अक्टोबर र ३ नोभेम्बरमा क्रमश टर्की र अष्ट्रिया-हंगेरियाले आत्मसमर्पण गरे। अन्त्यमा जर्मन एक्लियो र जनताले त्यहाँको सत्ता बिरुद्ध बिद्रोह शुरु गरे। जर्मनी सम्राट विलियम द्वितीयलाई जर्मनी क्रान्तिकारीहरुले राजगद्धिबाट निस्कासन गरे। जर्मनीमा गणतन्त्र कायम भयो। मित्र राष्ट्रका संयुक्त कमान्डर जनरल फोचले जर्मनी सरकारलाई ५ वटा सर्त माने युद्ध रोक्ने आस्वासन दिए। सर्तहरु यस प्रकार थिए :

१-जर्मनीले युद्धमा जितेका सबै क्षेत्र खालि गर्नु पर्ने। बेल्जियम,एल्सेस,लोरेन र लग्जेम्बर्गका नागरिकहरुको जेजति नोक्सानी भएको छ,त्यसको क्षेतिपूर्ति जर्मनीले तिर्नु पर्ने।
२- जर्मनीले युद्ध सामाग्रीहरु र आफ्ना सबै पानडुब्बि जहाजहरु जनरल फोचको नेतृत्वलाई बुझाउनु पर्ने।
३-जर्मनीको जहाज पानीजहाज सबै मित्र राष्ट्रहरुद्वारा कब्जा गरिने।
४-रायन नदीको किनारका सम्पूर्ण भूभाग माथि मित्र राष्ट्र गुठको नियन्त्रणमा जाने।
५-जर्मनीका रेल इन्जिन,ट्रक र सम्पूर्ण बन्दीहरु बेलायति गुठलाई तुरुन्त बुझाउनु पर्ने।
मित्र राष्ट्र गुठका यी कठोर सर्तहरु स्वीकार गर्दै जर्मनीले उक्त सम्झौतामा हस्ताक्षर गर्यो। अन्तमा,प्रथम विश्वयुद्ध मित्र राष्ट्रहरुको बिजय सहित टुङ्गियो। सन् १९१८ नोभम्बर ११ को दिन युद्ध समाप्तिको घोषणा भएकोले त्यो दिनलाई संसारभर बिशेष दिनको रुपमा सम्झना गरिन्छ। बेल्जियमको ईपर स्थित मेनन स्मारकमा प्रथम विश्व युद्ध समाप्तिको दिनमा बिशेष कार्यक्रम हुने गर्दछ। संसारभरिबाट युद्धमा मारिएकाका आफन्त आउछन र स्रद्धा ब्याक्त गर्दछन। सरकारी तवरबाट बेलायत,बेल्जियम लगायत सम्पूर्ण युरोपले आफ्नो देशको राष्ट्रिय धुन सहित मारिएका आफन्तहरुलाई सैनिक सलामी अर्पण गर्दछन।
यस युद्धले युरोपका चार वर्षसम्म युद्ध लडेका स्थानहरु उत्तरी फ्रान्स,बेल्जियमको ईपर,उत्तरी ईटाली र रुसी पोल्याण्डका धेरै स्थानहरु उजाड बने। युद्ध पछि युरोपले अनिकाल,हड्ताल,बेरोजगारी,मुद्रास्फीति,उत्पादनमा ह्रास जस्ता समस्याहरु झेल्नु पर्यो। युद्धकालले गर्दा युरोपको मुख्य भुमि अमेरिकाको ऋणी बन्यो। २० वटा मित्रराष्ट्र पक्षका मुलुकले २%ब्याज दरमा २ अर्व ३२ करोड ५० लाख अमेरिकासंग ऋण लिएका थिए। बेलायतले सात अरव ४३ करोड ५० लाख पाउण्ड,अमेरिकाले १६ खर्व डलर,फ्रान्सले १४७ अर्व फ्रेंक,जर्मनीले १ खर्व ६० अर्व मार्क गरेर जम्मा जम्मी ४० हजार खर्व प्रथम विश्व युद्धको खर्च देखियो।

यस युद्धले विश्वको सक्ति सन्तुलनमा परिवर्तन गरिदियो। प्रथम बिश्व युद्धकै कारण जर्मनी,रुश,अष्ट्रिया लगायत धेरै देशको सक्तिसाली राजतन्त्र समाप्त भए।पोल्याण्डको जन्म भयो। सर्भिया भन्ने देश युगोस्लाभिया बन्यो,चेकोस्लोभाकिया भन्ने अलग राष्ट्रको उदय भयो। मित्र शक्तिले लादेको त्यहि विभेदकारी सम्झौताले जर्मनीबाट पुन हिटलरको उदय गरायो। त्यसपछी मात्र त्यो सम्झौता भंग भयो। यो सब प्रथम बिश्व युद्धको नकारात्मक पक्ष भयो। तर यस युद्धका केहि सकारात्मक उपलब्धिहरु पनि छन्। यो युद्ध पछि मार्क्सबादको उदय भयो। जसको प्रभावले नारि मुक्ति आन्दोलन,मजदुरहरुको आन्दिलन ससक्त बनायो। यस युद्धबाट भयभित भएर विभिन्न राष्ट्रहरुले विश्व मानब अधिकारको युद्ध बिरोधि जागरण अभियान चलाए। नारिले राजनैतिक कार्यमा भाग लिन पाउने भए। रुसले आफ्नो देशलाई युद्ध बिरोधि क्याम्पमा रुपान्तरण गर्दै समाजबादी क्रान्ति सम्पन्न गर्यो। त्यसले संसारभर अधिकारवादी लडाईलाई पेचिलो बनायो। मजदुर,किसान र महिलाबर्गलाई एउटा सक्तिको रुपमा स्विकार्ने पहिलो कार्यको थालनी लेनिनको नेतृत्वमा रुसबाट सुरु भयो। ८ मार्चको नारि दिवस र मे फस्टको मजदुर दिवसलाई राज्य स्तरबाट क्रान्तिकारी पर्वको रुपमा मनाउने कामको शुरुवात रुसबाट लेनिनको नेतृत्वमा शुरु भयो। धेरै पछि मात्र यसलाई संयुक्त राष्ट्र संघले रुसको प्रस्तावमा अनुमोदन गरेको हो।

नोभम्बर ११ को दिन इपरले प्रथम युद्धको बिभिशिकालाई निरन्तर सम्झाई दिन्छ। यसले संसारभरिका समाजबादीहरुलाई क्रान्तिकारी मार्गमा,साम्राज्यबादीहरुद्वारा लादिएको युद्धको बिरुद्ध लाग्न सदैब प्रेरणा दिन्छ। आखिर संसार भरि साम्राज्यबादी अभिसापको रुपमा लादिएको विश्वयुद्धले युग बदल्ने चेतनाको उज्यालोलाई रोक्न सकेन र साम्राज्यबादी युद्धलाई क्रान्तिकारी संघर्षमा बदल्न समाज विज्ञानको प्रयोगात्मक सार्थकता रुशबाट शुरु भयो। अन्तमा संसारभरि फैलियो।


प्रतिक्रिया
सम्बन्धित समाचार