पोखरा(जस)–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने बताएका छन् । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा बिहिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको छ तर यो विषय प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने भएकाले उनले चाहेको बेला मात्र पुनर्गठन हुन्छ । ” अध्यक्ष दाहालले बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट दुई अध्यक्षबीच छलफल भएको जानकारी दिदैं यहाँबाट फर्केपछि दुई अध्यक्षका बीचमा अरु यावत् विषय टुङ्ग्याउने ढङ्गले कुरा हुन्छ, त्यसपछि मात्र ठोसरुपमा भन्न सकिन्छ, अहिले नै पुनर्गठनको निर्णयमा पुगिएको छैन भने ।”
पार्टी सञ्चालन र सरकार सञ्चालनका सम्बन्धमा भएका सहमति पहिले नै सार्वजनिक भइसकेको विषय भएको उल्लेख गर्दै उनले यी विषय नयाँ नभएको बताए । अध्यक्ष दाहालले दुई पार्टीको एकीकरण आफैँमा महान् कुरा भएको बताउँदै राष्ट्रको समृद्धिका लागि यो महत्वपूर्ण छ, पार्टी एकता गरेर जनताले अनुमोदन गरिसकेका अवस्थामा फेरि त्योभन्दा बाहिरबाट गतिविधि जो कोहीले गरे पनि सह्य नहुने धारणा व्यक्त गरे । सरकारले विप्लवसँग वार्ताका लागि टोली गठन गरिसके पनि त्यसमा प्रगति हुन नसकेको उल्लेख गर्दै उनले विप्लवले लिएको बाटो देश र उनका लागि पनि हितकर नहुने बताए । पूर्वप्रधानमन्त्री दाहालले सरकारले मङ्लबार मात्र गुठी विधेयक फिर्ता लिएको प्रसङ्ग उल्लेख गर्दै सरकार जनताप्रति जिम्मेवार छ र पेलेर जाने पक्षमा छैन भन्ने स्पष्ट देखिएको बताए ।
मिडिया काउन्सिललगायत विधेयकमा देखिएका समस्या संसदीय प्रक्रियाबाट संशोधन एवं परिमार्जन गरिनेमा जोड दिँदै उनले विगतमा सरकार र पार्टीभित्र पर्याप्त गृहकार्यको कमी र ल्याइएका विधेयकबारे बुझाउन नसक्दा पनि समस्या आएको धारणा व्यक्त गरे । अध्यक्ष दाहालले आगामी दिनमा सरोकारवालासँग छलफल गरेर मात्र अघि बढिने बताउँदै पार्टीलाई गतिशील बनाउँदै जनतासँग जोड्न एकता प्रक्रियालाई अन्तिम रुप दिने कसरत भइरहेको जानकारी दिए । एकीकरणका बाँकी कामबारे प्रधानमन्त्रीसँग लामो छलफल भएको र शनिबार सचिवालय बैठक बसी केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट एवं एकताका अन्य बाँकी काम सम्पन्न गरिने पनि उनले जानकारी दिए ।
अध्यक्ष दाहालले सरकारका काम प्रभावकारी बनाउन छलफल भइरहेको जानकारी दिँदै पहिलो वर्षलाई आधार वर्षका रुपमा लिई यस अवधिमा संवैधानिक, कानूनी एवं विकास पूर्वाधारका काम अघि बढेको बताए । उनले भने, “यस अवधिमा छिमेकीसँगको सम्बन्धमा समेत महत्वपूर्ण उपलब्धि भएको छ ।” अध्यक्ष दाहालले सरकारको यस वर्षको नीति तथा कार्यक्रम एवं बजेट उत्साहप्रद र सन्तुलित भएको पनि बताए ।
रत्नमन्दिर र हिमागृह खुला गर्न पहल गर्छु
प्रचण्डले पोखरामा रहेका रत्नमन्दिर र हिमागृह तत्काल खुला गर्न आफूले पहल गर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्ले यहाँ बिहिबार आयोजना गरेको छलफलमा पूर्वप्रधानमन्त्री दाहालले विगतमा पूर्वराजपरिवारका सदस्यको स्वामित्वमा रहेको र हाल नेपाल ट्रष्टको मातहतमा रहेका यी दुई दरबार खुला गर्न केही समस्या नभएको स्पष्ट पार्नुभयो ।
हिमागृह र रत्नमन्दिर खुलाउने सन्दर्भमा कठिनाइ नभएको र मन्त्रिपरिषद्ले निर्णय गरे हुने बताउँदै उनले भने, “दरबार सर्वसाधारणका लागि खुला गर्दा पोखरामा पर्यटक बढ्ने र उनीहरुको बसाईं कमसेकम एक दिन, नभए पनि आधा दिन थपिन्छ ।”गणतन्त्र घोषणापछि नारायणहिटी दरबारलगायत तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य तथा निजका परिवारको सम्पत्ति नेपाल ट्रष्टको मातहतमा ल्याएर नारायणहिटीलगायतका दरबार खुला गरिँदासमेत यहाँका यी दुई दरबार भने लामो सयमदेखि बन्द रहँदै आएका छन् । सङ्घीय सरकारमा पर्यटनमन्त्री नभएर पनि पर्यटन क्षेत्रमा समस्या भएको भन्ने व्यवसायीको भनाइप्रति सहमत हुँदै अध्यक्ष दाहालले अहिले मन्त्रिपरिषद् पुनःगठनका बारेमा पनि छलफल चलेकाले र सरकारको समीक्षा भईरहेको र चाँडै निर्णय हुने बताए ।
खेल राष्ट्रिय एकताको आधार पनि हो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेल राष्ट्रिय एकताको आधारसमेत भएको बताएका छन् । कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा पोखराको तालबाराही बिच भलिबल कोर्टमा बिहिबारदेखि शुरु छैटौँ महिला तथा सातौँ राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता उद्घाटन गर्दै उनले नेपालमा हरेक किसिमका खेलका लागि अनुकूल वातावरण रहेकाले राज्यले खेलको विकासका लागि प्राथमिकता दिनुपर्ने बताए । खेलाडीलाई उत्प्रेरित गर्न र यसबाट पनि सम्मानित जीवन जीउन सकिन्छ भन्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले आफूले खेलका साथै संस्कृति र कलालाई पनि उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गरे ।