आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

काँग्रेस जिल्ला सभापति बैठक : केन्द्रीय समितिको निर्णयमा पुनः विचारको माग

बिहिबार, चैत्र २१ २०७५

काठमाडौँ । नेपाली काँग्रेस जिल्ला सभापतिहरूले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय महासमिति बैठकको भावनाविपरीत रहेको भन्दै त्यसमा पुनःविचार गर्न माग गरेका छन् । काठमाडौँमा बिहिबार सम्पन्न जिल्ला सभापतिहरुको दुई दिने अनौपचारिक भेलाले सबै पदाधिकारी र केन्द्रीय सदस्य पार्टीको वडा तहबाटै निर्वा्चित हुनुपर्ने आग्रह गरेका छन् । साथै पार्टीको समानुपातिक आरक्षण सुविधा एक व्यक्तिका लागि एकपटक मात्र लागू हुनुपर्ने व्यवस्था गर्न भेलाले माग गरेको छ ।
काँग्रेस महासमिति बैठक गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको थियो । महासमिति बैठकमा उक्त दुवै विषयबारेमा प्रमुखतका साथ कुरा उठे पनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी विधान पारित गरेको थियो । महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले गरेको प्रतिबद्धताअनुसार केन्द्रीय समितिबाट निर्णय गराउन नसकेको जिल्ला सभापतिहरुको आरोप छ ।
उक्त विषयमा नेतृत्वलाई दबाब दिन महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गरी पुनःविचार गर्न आग्रह गर्ने निर्णय भएको काभ्रेपलाञ्चोकका जिल्ला सभापति मधु आचार्यले जानकारी दिए । बैठकका निर्णय सार्वजनिक गर्न यहाँ बिहिबार आयोजित पत्रकार सम्मेलनमा उनले अन्यथा विशेष महाविधेशनको मागसमेत गर्न बाध्य हुने चेतावनी दिए । बैठकले बारा पर्सामा हावाहुरीबाट भएको धनजनको क्षतिप्रति त्यहाँका जनताको पीडामा साथै रहेको उल्लेख गर्दै सबै जिल्लाको तर्फबाट यथाशीघ्र राहत लिइ प्रकोपस्थलमै उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै संविधानअनुसार बन्ने पार्टीका नयाँ संरचनामा यथाशीघ्र निर्वाचनमार्फत पार्टीका एकाइ गठन गर्ने व्यवस्था गरियोस् भनेर केन्द्रलाई आग्रह गर्ने निर्णयसमेत भएको सभापति आचार्यले बताए ।
त्यस्तै पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको अविलम्ब महाधिवेशन सम्पन्न गर्न केन्द्रलाई आग्रह गर्ने निर्णय गरिएको छ । बैठकले सरकारका गलत कार्य्विरुद्ध र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान अविलम्ब सञ्चालन गर्नका लागि केन्द्रीय समितिलाई आग्रह गर्ने निर्णय गरेको छ । जिल्ला सभापतिहरुले पार्टीको चौधौं महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने कार्यतालिका अविलम्ब सार्वजनिक गर्न नेतृत्वसमक्ष आग्रह गरेका छन् । भेलामा ५४ जिल्ला सभापतिहरुको उपस्थिति रहेको दाबी गरिए पनि संस्थापन पक्षका सभापतिले भने आफूहरुको उपस्थिति नरहेको बताएका छन् ।
विशेष अधिवेशन सामना गर्छु : सभापति देउवा
विराटनगर(जस)–नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका जिल्ला सभापतिहरूले विशेष अधिवेशन बोलाएमा आफूले ‘फेस’ गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बिहिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सानो सङ्ख्यामा जम्मा भएका २० देखि २५ जना सभापतिले बोलाउने विशेष अधिवेशनको सामना गर्ने स्पष्ट पारे । सभापति देउवाले स्व गिरिजाप्रसाद कोइराला भएको भए यस्तो अवस्थामा उनीहरूलाई पार्टीबाट निष्काशन गर्नुहुन्थ्यो भन्नुहुँदै तर आफूले केही नगर्ने र अनुशासन समितिले यससम्बन्धी हेर्ने बताए ।
उनले न्यायपरिषद्ले योग्यता पुगेकालाई नै सर्वोच्च र उच्च अदालतको न्यायाधीश नियुक्त गरेको हुनाले टीका टिप्पणी नगर्ने प्रष्ट पारे । उनले न्यायपरिषद्ले न्यायाधीश नियुक्त गर्दा राजनीतिभन्दा बाहिर हुनुपर्छ भन्दै नियुक्तका सम्बन्धमा कहीँ कतै कुनै विरोध नभएको उल्लेख गरे । उनले संवैधानिक परिषद्ले नियुक्त गर्दा प्रतिपक्ष दलको हैसियतले आफ्नो पनि सहमति लिनुपर्ने बताउँदै प्रतिपक्षबिनाको एक्लै नियुक्त गर्न पाइँदैन भने । उनले संवैधानिक परिषद्को बैठकमा आफूले चिठ्ठी लेखी आउन नसक्ने भएको हुँदा केही समयपछि गर्नु भनेकोमा एक पक्षीय ढङ्गबाट गरिएको नियुक्तिको विरोध गरेको बताए । सभापति देउवाले वर्तमान सरकारले दुई तिहाइको दम्भमा एकलौटी कार्य गरेको आरोप लगाउँदै यसको विरोधमा विपक्षी पार्टीको हैसियतले सदन र सडकमा विरोध गर्ने बताए । वर्तमान समयमा नेका एकजुट रहेको बताउँदै उनले आगामी महाधिवेशनबाट पार्टी थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार