आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

एनआरएन यूकेको निर्वाचन परिणाम तत्काल घोषणा गर्न प्रेम गाहामगर समुहको आग्रह,घोषणा नगरे कानुनी बाटो रोज्ने

एनआरएनए

शुक्रबार, साउन २२ २०७८

लण्डन – गैरआवासीय नेपाली संघ एनआरएनए  युकेको कार्यसमिति चयनका लागि निर्वाचन भएको पाँच  दिन बितिसक्दा पनि मतपरिणाम सार्वजनिक भएको छैन । अनलाइन माध्यमबाट भएको मतदानको परिणाम केही समय भित्रै सार्वजनिक गर्न सकिने भएपनि अहिलेसम्म कति मतदाताले मतदान गरेका थिए भन्ने समेत  पनि खुलाइएको छैन ।
२०२१–२०२३ कार्यकालका लागि कार्यसमिति चयनका लागि २ अगष्ट सोमबार मध्यान्ह १२ बजेदेखि ३ अगष्ट मंगलबार मध्यान्ह १२ बज्नुअघिसम्म मतदान गराइएको थियो । निर्वाचन कार्यतालिका अनुसार ४ अगष्टमा प्रारम्भिक नजिता सार्वजनिक गरिने र ५ अगष्ट साँझ ५ बजे अन्तिम मतपरिणाम सार्वजनिक गर्नुपर्ने थियो तर ६ अगष्टसम्म पनि मतपरिणाम सार्वजनिक गरिएको छैन । निर्वाचन समितिले अनलाइन मतदानका लागि ब्रिटिश कम्पनी(भेण्डर) च्वाइस भोटिङसँग सम्झौता गरेको थियो । निर्वाचन समितिले उपलब्ध गराएको पञ्जीकृत सदस्यहरुको नामावली(मतदाता नामावली) अनुसार च्वाइस भोटिङले मतदान गराएको थियो ।
अनलाइन मतदानको परिणाम क्षण भरमै आउने विश्वव्यापी मान्यता र प्रचलन रहेपनि युकेको निर्वाचन समितिकै कारण मतपरिणाम सार्वजनिक हुन नसकेको हो । चुनावमा सहभागी उम्मेदवार तथा बेलायतस्थित विभिन्न सामाजिक संघ संस्थाका अभियन्ताहरु पनि निर्वाचन समितिकै बदनियतका कारण मतपरिणाम घोषणा नभएको शुक्रबार प्रेम गाहामगर समुहले गरेको पत्रकार सम्मेलनमा बताए ।
अनौपचारिक रुपमै बाहिरियो मतपरिणाम
निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार बुधबार निर्वाचन समितिले प्रारम्भिक परिणाम सार्वजनिक गर्नुपर्ने थियो  तर त्यसअगावै अध्यक्षका दुई प्रत्यासी रोजिना प्रधान राई र दीपक श्रेष्ठले एक हजार फर्जी मत खसेको भन्दै त्यसलाई बदर गरेर मात्रै मत परिणाम सार्वजनिक गर्नुपर्ने माग राखे ।
श्रेष्ठले प्रेस विज्ञप्ति मार्फत १ हजार फर्जी मत खसेको दाबी गरे भने राईले पत्रकार सम्मेलन नै गरी अवैध इमेल प्रयोग गरी एक हजार मत खसाइएको दाबी गरिन । उनले ती मत रद्द नगरिए परिणाम सार्वजनिक गरिए पनि स्वीकार नगर्ने चेतावनी समेत दिइन ।
निर्वाचन समितिले त्यसैलाई आधार बनाएर प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेन । समितिले उल्टै उम्मेदवारहरुलाई एउटा पत्रमा हस्ताक्षर गर्न बोलायो । निर्वाचन समितिले उम्मेदवारहरुको हस्ताक्षरका लागि जुन पत्र तयार पार्यो त्यसले अर्को विवाद जन्मायो ।
निर्वाचन समितिकै एक सदस्यका अनुसार मतदान गराएको भेण्डरले बुधबार नै निर्वाचन समिति संयोजक महेन्द्रराज कँडेललाई प्रारम्भिक नतिजा पठाएको थियो तर उक्त नजिता संयोजक कँडेलका लागि अनुकूल थिएन । एक हजारको हाराहारीमा मत तलमाथि गर्न सकिए निर्वाचन परिणाम उल्ट्याउन सकिने उनको ठम्याई थियो । सोही अनुसार कँडेलले आफूँले जिताउन चाहेका केही उम्मेदवारलाई सूचना चुहाए । त्यसैको आधारमा दुई उम्मेदवार एउटै व्यहोराको दाबी फरक फरक रुपमा गरे ।
एनआरएनए युकेमा बुधबार,बिहिबार र शुक्रबार विवादकै बीच बित्यो । सहमतिका लागि भन्दै कँडेलले बिहीबार तीनै जना उम्मेदवारलाई निर्वाचन समितिको कार्यालयमा बोलाए । मध्यान्ह १२ बजे बैठक बस्ने र पाँच बजे मतपरिणाम गर्ने प्रारम्भिक योजना थियो  तर साँझसम्म उनले औपचारिक बैठक बसाउनै सकेनन ।
निर्धारित समय बिहीबार ५ बजे मतपरिणाम सार्वजनिक हुन सकेन । कँडेलले अर्को समय तोके राति ११ बजेको  । तर, त्यतिबेलासम्म आइपुग्दा पहिले १ हजारको संख्यामा रहेको भनिएको फर्जी मतको संख्या २१ सय पुर्याइयो । विवाद साँघुरिनुको सट्टा फैलाऊदै लगीयो ।
पहिले एक हजार भोट रद्द गर्दा मतपरिणाम उल्ट्याउन सकिने अनुमान गरेका रहेछन्’ उपाध्यक्ष पदका उम्मेदवार नारायण कँडेलले भने ‘त्यति भोटले पनि आफूँले चाहेजति उम्मेदवारलाई जिताउन पर्याप्त नभएपछि २१ सय मत खारेज गर्नुपर्ने नयाँ प्रस्ताव अगाडि सारेका हुन् ।’
अवैध इमेलको जिम्मेवार महासचिव
२०१९–२०२१ कार्यकालका लागि एनसीसी उपाध्यक्षसमेत रहेका कँडेलका अनुसार भेरिफिकेसनका पाँच वटा चरण पार गर्दै पन्जीकृत सदस्यहरुको सूची च्वाइस भोटिङलाई पठाइएको हो । अन्तिम समयसम्म पुग्दा ३६२ सदस्यहरुको नामावली हटाइएको थियो । आइसीसीले उपलब्ध गराएको एमआइएस सिस्टम अनुसार नै एनआरएनको सदस्यता उपलब्ध गराइएको थियो । त्यसलाई कार्य समितिले प्रमाणीकरण गरी केन्द्रमा पठायो । केन्द्रले प्रमाणीकरण गरेको नामावली निर्वाचन समितिमा पठाइयो भने निर्वाचन समितिले फेरि छानबिन गरी भेण्डरलाई हस्तान्तरण गरेको हो । भेण्डरले पनि पुन परीक्षण गरिसकेपछि मात्रै अनलाइन मतदाताको रुपमा निश्चित गरेको हो ।
एनसीसी यूकेले आइसीसीलाई बुझाएपछि ती नामावलीमा एनसीसीको पनि पहुँच नरहेको र आइसीसीको मात्रै पहुँचमा पुगेको कँडेलले स्पष्ट पारे । आइसीसीका तर्फबाट बेलायतमै बस्ने महासचिव हेमराज शर्माको मात्रै एकल पहुँचमा सबै नामावली पुगेको हो, उनले भने ।
आइसीसीमा पुगेको नामावलीमा एनसीसीका कुनै पनि पदाधिकारीले फेरबदल गर्न सक्दैन, कँडेलले स्पष्ट पारे । ‘त्यसपछि फर्जी सदस्यको नामावली र इमेल राखिएको छ भने त्यसको जिम्मेवारी आइसीसी महासचिवले लिनुपर्छ र जवाफ दिनुपर्छ’ उनको दाबी छ ।
हस्ताक्षरको हत्कण्डा
निर्वाचन समितिले बिहीबार अध्यक्षका तीनै जना पदाधिकारीहरु मध्य दुई जनाले हस्ताक्षर गरिसकेका र अध्यक्षका अर्का एक पदाधिकारी प्रेम गाहा मगरले हस्ताक्षर नगर्दा मतपरिणाम घोषणा गर्न नसकिएको दाबी गरे । तर बिहीबार दिनभर निर्वाचन समितिको कार्यालयमा रहेका अध्यक्षका उम्मेदवार गाहा मगरले पनि भेण्डरले पठाएको पत्रमा हस्ताक्षर गरिसकेका छन् । भेण्डरले पठाएको पत्रका अलावा निर्वाचन समितिले अलग्गै तयार पारेको पत्रमा भने गाहा मगरले हस्ताक्षर गरेका छैनन् ।
अगष्ट २ र ३ मा भएको मतदानको मतपरिणाम जस्ताको तस्तै सार्वजनिक गरिने भन्ने व्यहोराको पत्रमा गाहा मगरले हस्ताक्षर गरेका छन् । ‘भेण्डरले पठाएको पत्रमा प्रेमजीले हस्ताक्षर गर्नु भएको छ, प्रत्यक्ष दर्शी म पनि हुँ’ कँडेलले पत्रकार सम्मेलनमा  जानकारी दिए ।
भेण्डरले पठाएको पत्र र उसले तयार पारेको मतपरिणाम सार्वजनिक गर्नुपर्छ भन्नेमा सबैको सहमति हुनुपर्नेमा निर्वाचन समितिले मतपरिणाम नै तलमाथि गर्न सक्ने गरी अर्को पत्र तयार  पारेको कँडेलको दाबी छ ।
अब कानुनी बाटोमा जाने 
निर्वाचन सम्पन्न भएको पाँच दिन बितिसक्दा पनि मतपरिणाम सार्वजनिक नभएपछि उम्मेदवारहरु कानुनी बाटो अपनाउने तयारीमा लागेका छन् । भेण्डरले तयार पारेको मतपरिणाम निर्वाचन समितिले रोकेको निष्कर्ष निकाल्दै अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगर र उनी समर्थित अन्य पदका उम्मेदवारहरुले शुक्रबार साँझसम्म पनि भेण्डरले उपलब्ध गराएको मतपरिणाम जस्ताको तस्तै सार्वजनिक नगरिए कानुनी बाटो अपनाउने तयारी थालेका हुन् । उनीहरुले शुक्रबार नै कानुनव्यवसायीहरुसँग परामर्श गरेका छन् ।
बेलायतमा प्रचलित कानुन ‘राइट टु नो’ अर्थात सूचनाको अधिकार प्रयोग गर्दै परिणाम माग्ने उनीहरुको तयारी छ । अनलाइन मतदान गराएको च्वाइस भोटिङ ब्रिटिश कम्पनी हो भने एनआरएनए पनि बेलायती कानुन अनुसार दर्ता भएको संस्था हो ।
बेलायती अदालत वा सार्वजनिक सूचना सम्बन्धि निकायमा निवेदन दिएमा एनआरएनए र च्वाइस भोटिङले मतदान सकिएलगत्तै तयार भएको परिणाम जस्ताको तस्तै सार्वजनिक गर्नुपर्ने हुन्छ ।
अभियन्ताको आग्रह– मतदाताको सम्मान गरियोस्
शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै गैर आवासीय नेपाली संघका एक अभियन्ता तथा प्रेम गाहा मगर जिताऔं अभियानका प्रमुख संयोजक शेरबहादुर सुनारले मतदाताको सम्मान गर्न निर्वाचन समितिलाई आग्रह गरेका छन् । निर्वाचन समितिले तोकेको विधि र प्रक्रिया अनुसार अनलाइन मतदान गरेका आम मतदाताले परिणाम थाहा पाउनुपर्ने भन्दै सुनारले गैर आवासीय नेपाली संघका आम सदस्यहरुलाई अपमान नगर्न आग्रह गरे । निर्वाचन समितिको क्रियाकलाप शंकास्पद छ, वास्तविक मतपरिणाम सार्वजनिक नगरेर मतदाताको अपमान गर्ने काम भएको छ, उनले भने, यसले बेलायतमा रहेको नेपाली समाजलाई थप बिखण्डनमा पुर्याउन सक्छ । पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरले भेण्डरले उपलब्ध गराएको नतिजा स्वीकार गर्न आफूँ तयार रहेको बताउँदै तलमाथि गर्न खोजिए स्वीकार्य नहुने बताए । मतदाताको मतको अवमूल्यन गरी निर्वाचन समितिले गलत परिणाम सार्वजनिक गरेमा त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मेवार निर्वाचन समिति नै हुने उनले चेतावनी दिए ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष पदका उम्मेदवारहरु मोहन कार्की, गोविन्द खरेल, सुनिलबाबु खड्का लगायतका अन्य पदका उम्मेदवारहरुले पनि भेण्डरले उपलब्ध गराउने मतपरिणाम आफूँहरुलाई स्वीकार्य हुने बताउदै तत्काल नतिजा सार्बजनिक गर्न निर्बाचन आयोगलाई आग्रह गरे उनीहरुले निर्बाचन सम्पन्न भएको यति दिन बित्दा पनि नतिजा सार्बजनिक नगरीए कानुनी प्रक्रियामा अगाडी बढ़ने बताए  ।

प्रतिक्रिया
सम्बन्धित समाचार