आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

आईएलओको १०८औं सम्मेलनमा ढकालको सम्बोधन

शुक्रबार, जेष्ठ ३१ २०७६

 

काठमाडौं (जस)–अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०८औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबार स्विट्जरल्याण्डको जेनेभामा सम्बोधन गरेका छन् । आइएलओ सम्मेलन सोमबारदेखि सञ्चालन भइरहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन स्थापनाको सय वर्ष पुगेको अवसरमा श्रम सम्मेलनलाई सम्बोधन गर्ने अवसर प्राप्त भएकोमा प्रसत्रता व्यक्त गर्दै सभापति ढकालले अन्तर्राष्ट्रिय श्रम संगठनले श्रम क्षेत्रको विकासका लागि निरन्तर काम गर्दै आएकोमा बधाई ज्ञापन गरे । प्रविधिको विकास, जलवायु परिवर्तन तथा भूमण्डलीकरणले आर्थिक रूपान्तरण तथा श्रम बजारमा भइरहेको परिवर्तनबाट आउने चुनौतीको सामना गर्न मानव संसाधनको विकासमा जोड दिनुपर्ने विषयमा ग्लोबल कमिसनद्वारा प्रस्तुत कामको भविष्यसम्बन्धी प्रतिवेदनले जोड दिएको प्रसङ्ग उल्लेख गर्दै बढ्दो असमानता घटाउन र सामाजिक न्यायको प्रवर्द्धनको लागि सबै पक्ष एकजुट भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

नेपालको निजी क्षेत्रले संवाद र सहकार्यको माध्यमबाट दिगो र समावेशी आर्थिक विकासको प्रवर्द्धन गरी बढीभन्दा बढी सम्मानजनक रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने धारणा व्यक्त गर्दै उनले सामाजिक संवादको माध्यमबाट श्रम कानुनको सुधार र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न सफल भएको उदाहरण उल्लेख गरे । कामको भविष्य, व्यवसायको भविष्यसँग गासिएको उल्लेख गर्दै यस बस्तु तथ्यलाई ध्यानमा राखी गरिने प्रयास, व्यावसायिक नीति नियममा गरिने सुधार महत्वपूर्ण हुने उनले बताए । नेपालमा अहिले बहुमत प्राप्त सरकारको गठनसँगै मुलुकमा जारी रहेको कानून र नीतिगत सुधारबाट नेपालमा लगानीको वातावरण बनेको उल्लेख गर्दै पर्यटन, पूर्वाधार विकास, कृषि र उत्पादनशील क्षेत्रमा लगानीका लागि व्यवसायीहरूलाई आग्रह गरे । नेपाल, भारत र चीन प्रतिफलका दृष्टिले अत्यन्तै ठुलो सम्भावना भएका क्षेत्र भएको उल्लेख गर्दै सभापति ढकालले नेपालमा लगानी गर्न विश्वका लगानीकर्ताहरूलाई आग्रह गरे । प्रधानमन्त्रीले उद्घोष गरेको समृद्ध नेपाल सुखी नेपालीको स्मरण गर्दै दिगो व्यवसायको माध्यमबाट प्राप्त प्रतिफललाई सबै तह र तप्कामा पु(याउन सकियो भने प्रधानमन्त्रीले अपेक्षा गरेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त गर्न सम्भव हुने सभापति ढकालले बताए । सम्मेलनमा सरकार, रोजगारदाता र ट्रेड यूनियनको सहभागिता रहेको छ । सम्मेलन असार ६ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार