काठमाडौँ(जस)–सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सांस्कृतिक मूल्य, मान्यतालाई कायम राख्नै सामन्तवाद अन्त्य गर्ने गरी सरकारले गुठीसम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन् । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्न बिहिबार मन्त्रालयमा आयोजित पत्रकार भेटमा सरकारका प्रवक्ता बाँस्कोटाले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका गुठीबारेका सवाल फरकफरक भएकाले सरोकार भएकाले उठाएका विषय कानून निर्माणका क्रममा सम्बोधन गरिने बताए । उनले भने, “नयाँ राजीतिक प्रणाली र संविधान अनुकूल नयाँ कानून बनाउने क्रममा पुराना कानून विस्थापन गरी नयाँ कानून आउन थालेका हुन् । गुठीसम्बन्धी विधेयकले सामन्तवादी उत्पादन प्रणाली अन्त्य गरी भूमिहीन किसानका समस्या समाधान गरी समाजवादको बाटो लानेछ । विधेयकमा कुनै त्रुटि भए छलफल गरिनेछ ।”
‘मिडिया काउन्सिल विधेयक’ लाई पनि प्राप्त सुझावका आधारमा संसद्ले उचित छलफल गरेर पारित गर्ने जनाउँदै उनले सरकारले प्रेस स्वतन्त्रतामा तरबार नचलाउने स्पष्ट गरे । उनको भनाइ थियो, “विधेयक फिर्ता हुन्न, संसद्मा छलफल हुन्छ । समृद्ध बनाइनेछ । हामी लोकतन्त्रको उपभोक्ता होइनौँ, संस्थापक हौँ । हामीलाई प्रेस स्वतन्त्रताको मर्म राम्रोसँग थाहा छ । श्रमजीवी पत्रकारले न्यूनतम् पारिश्रमिक पाउनुपर्छ भनेर अडान लिँदा मेरो भनाइ मन परेन भने म के गर्न सक्छु ?”
लोकसेवा आयोगले स्थानीय तहको कर्मचारीका लागि गरेको विज्ञापन रद्द गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनबारे सोधिएको प्रश्नमा मन्त्री बाँस्कोटाले त्यस्तो प्रकारको निर्देशन नआएको भए उचित हुने भनी प्रतिक्रिया दिए । उक्त विज्ञापन स्थानीय तहको मागलाई ध्यानमा राखेर प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म संविधान र समायोजन ऐनका आधारमा गरिएकाले सांसदहरुले बुझेरै निर्णय गरेकोअपेक्षा आफूहरुले गरेको उल्लेख गर्दै यसबारे सरकारले ठोस धारणा बनाइनसकेको जानकारी दिए ।
सरकारले भारतसँग मल खरीद गर्ने
सरकारले भारतसँग सरकार–सरकार (जिटुजी) प्रक्रियाबाट युरिया र डिएपी मल खरीद गर्ने भएको छ । यही जेठ २३ गतेको मन्त्रिपरिषद्को निर्णय बिहिबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिएका हुन् । सोही बैठकले विभिन्न चार मुलुकका लागि राजदूत सिफारिसको निर्णय गरेको छ । सिफारिस भएका राजदूतमा डा वंशीधर मिश्र (बङ्गलादेश), डा नारदनाथ भारद्वाज (कतार), महेशराज दाहाल (अष्ट्रेलिया) र दावा फुटी शेर्पा (स्पेन) का लागि छन् ।
बैठकले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७६ र सार्वजनिक खरीद (सातौँ संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको छ भने इन्टरनेट सेवाको मूल्य समायोजन गरेको छ । सरकारका प्रवक्ता बाँस्कोटाका अनुसार धितोपत्र रजत जयन्ती, शिख धर्मका संस्थापक गुरु नानकको जन्म जयन्ती र वाङ्यम शताब्दी पुरुष सत्यमोहन जोशीको शत्वार्षिकीका अवसरमा स्मारिका सिक्का टक्मारी चलन चल्तीमा ल्याउन नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिइएको छ ।
बैठकले एकीकृत स्वास्थ्य शिक्षासम्बन्धी विधेयक तर्जुमा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ भने काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश मोहम्मद साविर हुसेनलाई तोक्ने निर्णय गरेको छ