काठमाडौं(जस)– नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनको मिति नजिकिदै जाँदा वैदेशिक रोजगार व्यवसायीहरुमा नयाँ नेतृत्वको लागि चर्चा शुरु भएको छ । निर्वाचनका लागि एक महिना पनि बाँकी नरहेको अवस्थालाई मध्यनजर गर्दै नेतृत्वको लागि मुख्य प्रतिस्पर्धीका रुपमा रहँदै आएका प्रजातान्त्रिक र प्रगतिशील व्यवसायीहरुले उम्मेदवार छनोटको काम शुरु गरेसँगै निर्वाचनको माहौल शुरु भएको हो ।

यसैबीच नेपाली काँग्रेसको शुभेच्छुक संस्थाका रुपमा रहेको नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी फोरमले नेतृत्वमा जान चाहनेहरुका लागि सार्वजनिक आव्हान गरेको छ । फोरमले एक विज्ञप्ति जारी गर्दै संघको यहि आगामी आषाढ २७ गते हुन गईरहेको साधारण सभा सहितको निर्वाचनमा उम्मेदवारी दिनको लागि लोकतान्त्रिक फोरममा सदस्य रहेका संस्था सञ्चालकहरुमध्येबाट उम्मेदवार छनोट गरी संघ निर्वाचनमा भाग लिन पठाउने प्रचलन बमोजिम नाम दर्ता गराउन आव्हान गरेको छ ।

‘नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको सदस्यदेखि अध्यक्षसम्मका पदहरुमा उम्मेदवारी दिन योग्यता पुगेका फोरमका सदस्यहरुले आफु आकांक्षी भएमा शुक्रवार १ बजे भित्रमा आफुले उम्मेदवारी बन्न चाहेको पद उल्लेख गरी लोकतान्त्रिक फोरमको कार्यालय नयाँबानेश्वरमा नाम दर्ता गराउन अनुरोध गर्दछु’, फोरमका अध्यक्ष हंशराज वाग्लेले जारी गरेको विज्ञप्तिमा छ । फोरमका अनुसार आकांक्षीहरुको नाम दर्तापश्चात फोरमका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, सल्लाहकारहरुको सल्लाह सुझावबमोजिम आंकाक्षीहरु मध्येबाट नेपाली काँगे्रस पार्टीको केन्द्रिय प्रतिनिधिको रोहवरमा लोकतान्त्रिक फोरमको कार्यसमितिले उपयुक्त उम्मेदवार छनोट गरिने बताइएको छ । फोरमले आफु उम्मेदवार दिन चाहेको पदमा आफनो नाम लेखाउन आउने आँकाक्षीहरुले लोकतान्त्रिक फोरमको तिर्नुपर्ने लेवी अनिवार्य बुझाउनु पर्ने उल्लेख गरेको छ ।
प्रगतिशीलमा पोखरेल र भन्तनाको विवाद
यसैबीच प्रगतिशील धारका व्यवसायीहरुबीच पनि उम्मेदवार छनोटको कसरत तीव्र बनेको छ । प्रगतिशील धारमा अहिले तत्कालनि नेकपा एमाले र एकीकृत माओबादी समर्थित व्यवसायी रहेको र पार्टी एक भइसके पनि एमाले समर्थित प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपाल र माओबादी समर्थित नेपाल वैदेशिक रोजगार व्यावासायी गणतान्त्रिक मञ्चबीच नेतृत्व आफुले पाउनुपर्ने रस्साकसी चल्दै आइरहेको छ । यस्तो विवादबीच गणतान्त्रिक मञ्चको बुधबार बसेको वैठकले गणतान्त्रिक मञ्चका पूर्वअध्यक्ष एवं संघका प्रथम उपाध्यक्ष राम प्रसाद भन्तानालाई संघको अध्यक्षमा उम्मेद्वार बनाउने आधिकारिक निर्णय नै गरेपछि भने प्रगतिशीलमा नेतृत्वका लागि लडाईँ चर्किने देखिएको छ । मञ्चका संस्थापक एवं संघका पूर्व अध्यक्ष दिल प्रसाद पोखरेलको विशेष आतिथ्यतामा बुधबार बसेको मञ्चको बैठकले नेकपा निकट प्रगतिशील मञ्च र गणतान्त्रिक मञ्चको तत्काल एकीकरण हुनुपर्ने, मञ्चका पूर्वअध्यक्ष भान्तनालाई संघको आगामी निर्वाचनमा अध्यक्षको उम्मेद्वार बनाउनु पर्ने र उपाध्यक्ष हेमन्त जिसिलाई निर्वाचनको संयोजक तोक्ने निर्णय गरेपछि प्रगतिशील मञ्चसम्बद्ध व्यवसायीहरु आक्रोशित बनेका छन् ।

यता प्रगतिशील मञ्चले मञ्चका संस्थापक सरोज पोखरेललाई अध्यक्षको उम्मेदवार बनाउन आन्तरिक तयारी गरिरहेको बुझिएको छ । यसका लागि केही दिन संघका महासचिव नरेश गेलालले पदबाट राजीनामा दिई खाली संघको महासचिवमा मञ्चका संस्थापक अध्यक्ष पोखरेललाई मनोनयन गर्ने तयारी भइरहेका छ । भान्तना तथा मञ्चले अघिल्लो निर्वाचनमा प्रथम उपाध्यक्षमा सहमत भई एकता र तालमेललाई अघि बढाएकाले यस पटक अध्यक्षको निर्विवाद उम्मेद्वार भान्तना नै रहेको बताएपनि एमाले निकट तथा मञ्च निकट व्यवसायीहरुले पोखरेललाई अध्यक्षको उम्मेदवार बनाउँदा जित सहज हुने र उनले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान गर्न बढी प्रभावकारी भूमिका खेल्ने तर्क गर्दै पोखरेललाई नै उम्मेदवार बनाउन लविङ गरिरहेका छन्. ।
फोरममा चर्को विवाद
प्रगतिशीलमा जस्तै फोरममा पनि नेतृत्वका आंकाक्षीहरु धेरै रहेको र आफुले नै नेतृत्व गर्न पाउनुपर्ने धेरैको जोडका कारण आन्तरिक विवाद तीव्र छ । संघमा धेरै सदस्य रहेको दाबी गर्दै आएपनि फोरमभित्रकै सदस्य तथा पदाधिकारीबीचको अन्तरद्धन्द्ध र अन्तरघातका कारण अघिल्लो निर्वाचनमा भोगेको पराजयबाट कसरी पाठ सिकेर सर्वसम्मत नेतृत्व चयन गर्छ भन्नेमा धेरैको आशंका रहेको छ । फोरमका देखिएको मतभेदकै कारण महासचिव तारानाथ अर्याललगायत कार्यसमितिका सदस्यहरु फोरम कार्यालयमा अनुपस्थित रहेको र फोरमले आयोजना गरेको भेलामासमेत सहभागी नहुनुले फोरमबाट सर्वसम्मत नेतृत्व चयन हुनेमा फोरमसम्बद्ध व्यवसायीहरु नै ढुक्क हुन सकेका छैनन् ।