सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

जनताको पहुँचमा सूचना प्रविधि

सोमबार, जेष्ठ २७ २०७६

अस्मिता तिवारी

काठमाडौं । पछिल्लो समय बजार प्रतिस्पर्धी हुनु नै सेवाग्राहीलाई सहजता उपलब्ध हुनु हो । प्रविधिको तीव्र विकास गाउँगाउँसम्म पुगेको छ । प्रविधिले दिनदिनै फड्को मार्दै जानु, दूरसञ्चारसँग सम्बन्धित पूर्वाधार आक्रामक हुनु, सेवा र प्रविधिलाई सहज बनाउनु, स्मार्टफोनको बढ्दो प्रयोग र किफायती मूल्य तथा इन्टरनेट सेवाको मागमा भएको बृद्धि नै पछिल्लो समय प्रतिस्पर्धी बजारले दिएको इन्टरनेटको सहजता पनि हो । दूरसञ्चार सेवामा निजी मोबाइल सेवाप्रदायक भित्रिएसँगै प्रतिस्पर्धा बढेको पनि हो । जसले सहरदेखि गाउँसम्मका मोबाइल इन्टरनेट सेवाका प्रयोगकर्तालाई निकै सहजता दियो । टेलिकम कम्पनीहरूले डाटा प्याकमा इन्टरनेट उपलब्ध गराइदिँदा इन्टरनेट शुल्क अझै घटेको पनि छ । मोबाइल इन्टरनेटको विकास, यसमा पनि नयाँ प्रविधिहरू भित्रिनु, सहज उपलब्धता र सूचना तथा सञ्चारका लागि बहुआयामिक भएकोले मोबाइल डाटाको खपत बढ्को सेवाप्रदायकै भनाइ छ ।
मोबाइल डाटाको प्रयोग सूचनामा मात्रै सिमित नभएर मनोरन्जसँग पनि जोडिएको छ । इन्टरनेटले सूचना, सेवा र सहजताका साथै मनोरन्जनको साधानको रुपमा पनि सञ्चालन भइरहेको छ । मनोरञ्जनका लागि गेम खेल्न, टिभि हेर्न, गीतसंगीतको आनन्द लिन, आफ्नै हातमा फेरिफेरि सिनेमा हेर्ने काम अहिले इन्टरनेटको प्रयोगले मोबाइलबाटै हुन्छ । मोबाइल एपको सहयोगले प्रविधिको सहजतासँगै विश्व नजिक भएको छ । मोबाइल सेवाको विस्तारसँगै पछिल्लो समय सेवाप्रदायकको आक्रामक बजारीकरणले मोबाइल इन्टरने पहुँचको दायार बढिरहेको हो । मोबाइल सेवाको विस्तार र सेवा प्रदायकले फराकिलो दायरा बनाएसँगै हालसम्म ६१.८३ प्रतिशत नेपालीमा इन्टरनेटको पहुँच पुगेको छ । यसमा मोबाइल ब्रोडव्याण्ड (इन्टरनेट) सेवाको हिस्सा ४८.२६ प्रतिशत रहेको छ ।
नेपालीको हातहातमा मोबाइल पुग्नु, सचेतना बढ्नु, सेवाप्रदायकले गर्ने आक्रामक बजारीकरणसँगै सस्तो सेवा दिनुले पनि इन्टरनेटको पहुँच बढेको नेपालको टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार पछिल्लो समय टेलिफोन सेवाको पहुँच बढेसँगै इन्टरनेटको पनि बजार आक्रामक भएको हो । यसमा सेवा प्रदायकले दिने आकर्षक प्याकेज, सेवाको सहजता, नियामक निकायले गर्ने बाध्यकारी व्यवस्थासहितका काम नै प्रमुख रहेको पनि उल्लेख छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले केन्द्रीय तथ्यांक विभागको दुई करोड ९५ लाख १४ हजार ७४५ जना नेपालीलाई आधार मानेर तयार पारेको पछिल्लो तथ्यांक अनुसार मोबाइल तथा इन्टरनेट प्रयोगकर्ता नेपालीको हिस्सा ६१ प्रतिशत नाघेको छ । यसमा फिक्स्ड ब्रोडव्याण्डको हिस्सा जम्मा १२.३८ प्रतिशत मात्रै छ । प्राधिकरणले जेठमा सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार कुल इन्टेरनेट प्रयोगकर्तामध्ये ४८ प्रतिशत मोबाइलबाट, १.१९ प्रतिशत मात्रै ताररहित फिक्स्ड ब्रोडब्यान्डबाट र १२.३८ प्रतिशतले तारसहिको फिक्स्ड ब्रोडव्यान्ड इन्टरनेट प्रयोग गर्ने गरेका छन् ।
प्राधिकरणको तथ्याकले इन्टरनेट चलाउने नेपाल टेलिकमका ग्राहक संख्या ८३ लाख देखाउँछ भने एनसेलबाट इन्टेरनेट चलाउने यस्तो संख्या भने ६३ लाख रहेको छ । कुल १ करोड ८२ लाख इन्टरनेट प्रयोगकर्ता मध्ये अन्य हिस्सा स्मार्ट टेलिकम, टेलिकमको एडीएसएल र अन्य इन्टरनेट सेवा प्रदायकको छ । अन्य इन्टरनेट सेवा प्रदायकको बजारको कुला इन्टरनेट ग्राहक मध्ये २७ लाख रहेको पनि उल्लेख छ । इन्टरनेट सेवा प्रदान गर्नेमा नेपाल स्मार्ट टेलिकमको एक लाख ३९ हजार रहेको छ भने बाँकी २७ लाख ८२ हजार ५९ इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको इन्टरनेट सेवा उपयोग गर्ने गरेका छन् । इन्टरेनट सेवा प्रदायक संस्था वा मोबाइल सेवाबाट नेपालमा डाटाको पहुँचमा १ करोड ७५ लाखबाट जेठसम्ममा एक करोड ८२ लाख पुगेको पनि उल्लेख छ । मासिक ७ लाख इन्टरनेट प्रयोगकर्ता बढेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
इन्टरनेट सेवा प्रदायकको संख्या बढेको भएपनि द्रुत गतिको इन्टरनेटको सेवाको वृद्धिदर भने निकै कम छ । एक करोड ८२ लाखको इन्टरनेट पहुँचमध्ये पछिल्लो समय चौथो पुस्ताको मोबाइल इन्टरनेट फोरजी चलाउनेको संख्या जम्मा ३३ लाख ४३ हजार मात्रै छ । बाँकी एक करोड सात लाख ६३ हजार जना ग्राहकले भने थ्रीजी नै उपयोग गरिरहेका छन् । फोरजी सेवा लिँदा द्रुत गतिको इन्टरनेट चल्ने र यसको उपयोग गर्न स्मार्ट फोन अनिवार्य छ । कम्तिमा १० हजार रुपैयाँका मोवाइल सेटमा फोरजी चल्ने र यसको उपभोग गर्न स्मार्ट फोन प्रयोगकर्ताले आफ्नो सीमकार्ड पनि अपडेड गरानुपर्छ । अन्यथा सबै मोवाइलमा फोरजी सेवा सञ्चालन हुँदैन् । पछिल्लो समय भने मोबाइल निर्माण कम्पनीले नै फोरजी सेट मात्रै चल्ने गरी जुनसुकै प्रकारको स्मार्टफोन बनाइरहेका छन् ।
पछिल्लो समय फोरजी सेवा दिनेमा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम रहेका छन् । यसमध्ये टेलिकमका फोरजी प्रयोगकर्ता ७ लाख मात्रै छन् । यसका थ्रीजी मोबाइल डाटा प्रयोगकर्ता भने ६३ लाख ४६ हजार रहेको छ । नेपालमा फोरजी सेवा सुुरू भएको करिब दुई वर्षको अवधिमा फोरजी प्रयोगकर्ता टेलिकमको गति कमजोर छ भने एनसेलको उच्च छ । यो अवधिमा नेपाल टेलिकम, एनसेल र स्मार्टसेलले मोबाइलमा फोरजी सेवा विस्तारलाई तीब्र महत्व दिएका छन् । नेपाल टेलिकममा राजनीति हुने, सरकारी कर्मचारीले जागिर मात्रै खाने तर काम नगर्ने परिपाटिले एनसेले भन्दा ६ महिना अगाडि दिएको फोरजी सेवा सुरुवातमा दिनमा भएको गन्तव्य अझै बढेको छैन् । टेलिकमको तुलनामा एनसेलको फोरजी आक्रामक छ । फोरजी सेवा विस्तारमा विदेशी लगानीको एनसेलले सबै सहरमा सेवा विस्तार गरिसकेको छ भने टेलिकम भने काठमाडौं उपत्यका र पोखरामा मात्रै सिमित छ । २०७४ पुस १७ देखि टेलिकमले र जेठ १८ देखि एनसेलले फोरजी सेवाको सुभारम्भ गरेका हुन् ।
निजी क्षेत्रको अर्को टेलिकम कम्पनी स्मार्ट टेलिकमले पनि आफ्नो गति र दायरा बढारहेको छ । तर, यसको गति प्रतिस्पर्धी नभएर आफ्नै रफ्तारमा छ । स्मार्टले गत वर्षको कात्तिक १४ बाट मात्रै फोरजी सेवा सुरु गरेको हो । नेपालमा इन्टरनेटको विकास सुरु भएको भर्खरै २० वर्ष मात्रै भएको छ । कम्प्युटरमा डायल अफ इन्टरनेट प्रविधिबाट अहिले फोरजी इन्टरेटसम्म पुगिसकिएको छ । १९९० को दशकमा इन्टरनेट र ई–मेल प्रविधि आएको हो । यो प्रविधि करिब २०१० सम्म कम्प्युटरमा सीमित थियो । नेपालमा प्रपेप सिमकार्डसँगै मोबाइल प्रविधिको आगमनले मोबाइल इन्टरनेट पनि भित्र्याएको पाइन्छ । नेपाल टेलिकमले सन् २००७ मा जीपीआरएस सेवा सुरु गरेपछि नेपालमा मोबाइल इन्टरनेट सेवा भित्रिएको हो । यो प्रविधि टुजी र थ्रीजी हुँदै फोरजीसम्म पुगिसकेको छ । अन्तर्राष्ट्रिय स्तरमा विकास भइसकेको फाइभजी पनि नेपालले आवश्यकता महसुस गर्ने र बहस चल्न भने थालिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार