दोहा । गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आईडल–२०२१ को नयाँ तालिका सार्वजनिक भएको छ ।
एनआरएनए मध्यपूर्व युवा विभागले भर्चुअलमार्फत् पत्रकार सम्मेलनको आयोजना गरी नयाँ तालिका सार्वजनिक गर्दै एनआरएन आइडलको ग्राण्ड फिनाले सन् २०२१ को सेप्टेम्बर १७ मा हुने घोषणा गरेको छ । गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय युवा विभागका संयोजक राज रेग्मीले कोभिड–१९ का कारण विविध कठिनाई भएकाले ग्लोबल एनआरएन सिंगिङ आइडलको मिति हेरफेर भएको बताएका छन । रेग्मीले कार्यक्रम भब्य र सभ्य बनाउन सबै गैर आवासिय नेपालीलाई आग्रह गरेका छन ।

यस्तो छ परिमार्जित कार्यक्रम
एनआरएन आईडलको ओपनिङ राउण्ड ३ चरणमा विभाजन गरिएको छ । जसअन्तरगत अन्तरा राउण्ड जुन २५ मा हुनेछ ।
‘यस राउण्डमा डिजिटल राउण्डबाट छनौट भएर आएका ५८ जना प्रतियोगीहरूले प्रवेश पाउने छन्, यस राउण्डमा थप एक–एक गीतको प्रस्तुति दिएपश्चात अन्तरा राउण्डबाट १८ जना प्रतियोगीहरू बाहिरिनेछन्, संयोजक रेग्मीले भने, ‘बाँकी ४० जना प्रतियोगिहरूले ओपनिङको सारेगम राउण्डमा प्रवेश पाउनेछन ।
सारेगम राउण्ड जुलाई २ मा हुने छ । यस राउण्डमा अन्तरा राउण्डबाट छनौट भएर आएका ४० जना प्रतियोगीहरूले प्रवेश पाउने छन । रेग्मीका अनुसार यस राउण्डमा थप एक–एक गीतको प्रस्तुति दिएपश्चात सारेगम राउण्डबाट १० जना प्रतियोगीहरू बाहिरिने छन । बाँकी ३० जना प्रतियोगीहरूले पियानो राउण्डमा प्रवेश पाउने उनले बताए ।
पियानो राउण्ड जुलाई ९ मा हुनेछ । यस राउण्डमा प्रवेश पाएका ३० जनाले स्वतः गाला राउण्डमा प्रवेश पाउनेछन । पियानो राउण्डमा कुनै पनि प्रतियोगीहरूले प्रस्तुति दिनुपर्ने छैन । ‘प्रतियोगीहरूको भोटिङ निरन्तर खुल्ला नै रहने छ उनले भने ।
गाला राउण्डलाई ३ चरणमा बाँडिने एनआरएनए मध्यपूर्व संयोजक प्रवीन गुरुङले बताए । प्रथम गाला राउण्ड अगस्ट ६ मा हुने छ ।
‘यस राउण्डमा प्रवेश गरेका ३० जना प्रतियोगीमध्ये प्रथम गाला राउण्डबाट ५ जना प्रतियोगीहरू बाहिरिने छन्, बाँकी २५ जना प्रतियोगी दोस्रो गाला राउण्डमा प्रवेश पाउनेछन गुरुङले भने ।
दोस्रो गाला राउण्डमा १३ अगस्टमा हुनेछ । यस राउण्डमा प्रवेश गरेका २५ जना प्रतियोगीमध्ये दोस्रो गाला राउण्डबाट ५ जना प्रतियोगीहरू बाहिरिने गुरुङले बताए । ‘बाँकी २० जना प्रतियोगी तेस्रो गाला राउण्डमा प्रवेश पाउनेछन्,’ उनले भने ।
तेस्रो गाला राउण्ड २० अगस्टमा हुने छ । यस राउण्डमा प्रवेश गरेका २० जना प्रतियोगीमध्ये तेस्रो गाला राउण्डबाट ५ जना प्रतियोगीहरू बाहिरिने आयोजकले बताएको छ । ‘बाँकी १५ जना प्रतियोगी ग्राण्ड फिनालेमा प्रवेश पाउनेछन गुरुङले बताए ।

सेमी फिनाले राउण्ड
सेमी फिनाले राउण्ड ३ सेप्टेम्बरमा हुनेछ । अन्तिम चरणबाट प्रवेश पाएका १५ जनामध्ये पहिलो चरणबाट ५ जना प्रतियोगीहरू बाहिरिने छन भने १० जना प्रतियोगीहरूले फिनालेमा प्रवेश पाउने संयोजक गुरुङले बताए ।
फिनाले राउण्ड १७ सेप्टेम्बर, २०२१ मा ११ बजेदेखि १ बजेसम्म हुने एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीले बताए । फिनालेमा प्रवेश पाएका १० जनामध्ये थप ५ जना प्रतियोगीहरु बाहिरिने छन ।
‘ग्राण्ड फिनालेको अन्तिम चरणमा प्रवेश गरेका ५ जना प्रतियोगीहरूलाई क्रमशः पाँचौ, चौथो, तेस्रो, दोस्रो र पहिलो गरी सार्वजनिक मतका आधारमा निर्णायक मत उद्घघोष गरी विजेता घोषणा गरिने रेग्मीले बताए ।
ग्राण्ड फिनाले (१७ सेप्टेम्बरमा २ बजेदेखि ५ बजेसम्म हुने रेग्मीले कार्यक्रममा जानकारी गराए ।
‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ नाराका साथ आयोजना गरिएको एनआरएन आइडलमा गायक उदय सोताङ, गायिका प्रश्ना शाक्य, गायक विजय लामा र गायिका सुनिता दुलाल निर्णायक रहेका छन ।
प्रतियोगिताका विजेताले सात लाख रुपैयाँ प्राप्त गर्ने छन भने द्वितीय पुरस्कार चार लाख रुपैयाँ, तेस्रो दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार पचास हजार रुपैयाँ तय गरिएको छ ।
पत्रकार सम्मेलनमा कसले के भने?
ग्लोबल एनआरएन सिंगिङ आइडलको नयाँ तालिका सार्वजनिक गर्न आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका सचिव आरके शर्माले नेपाली कला, संस्कृति र संगीतलाई विश्वभरि परिचित गराउनका लागि नै एनआरएनएले यस किसिमका कार्यक्रमलाई प्राथमिकता दिएको बताए । सचिव शर्माले नेपालबाट विभिन्न देशमा पुगेका नेपालीहरूले सांगीतिक यात्रालाई जोगाइराखेकाले अब एनआरएनए आइडलमार्फत् विश्वलाई देखाउने बताए ।
त्यसैगरी, गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्री, संघका सल्लाहकारद्वय टिबी कार्की र सोम सापकोटा लगायतले ग्लोबल एनआरए सिंगिङ आइडलको आयोजनाले गैरआवासीय नेपालीहरूको कला र सांगीतिक जीवन अघि बढाउन सहयोग पुर्याउने बताए ।
