बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जागरण होइन चौथो महाधिवेशन आवश्यक : नेता कोइराला, जागरण अभियानले कार्यकर्तामा संवादको थालनी : प्रवक्ता शर्मा

बिहिबार, जेष्ठ २३ २०७६

बनेपा(जस)–नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काङ्ग्रेसलाई अहिलेको अवस्थामा जागरण अभियानभन्दा पनि चौथो महाधिवेशनको शुरुआत गर्नुपर्ने अवस्था रहेको बताएका छन् । नेपाली काङ्ग्रेस पनौती नगरसमितिले बुधबार काभ्रेको पनौतीमा आयोजना गरेको राष्ट्रिय जागरण अभियानमा नेता कोइरालाले जागरण अभियानले गर्दा चौथो महाधिवेशन धकेलिने र स्थानीय निर्वाचनमा असर पार्ने भएकाले अब पार्टीले चौथो महाधिवेशन गर्नुपर्ने बताए । उनले कार्यकर्तालाई प्रश्न गर्दै भने, “पार्टीका लागि जागरण अभियान जरुरी हो कि चौथो महाधिवशेनको शुरुआत गर्न जरुरी हो ?”
अहिले काङ्ग्रेसको गाउँपालिका र नगरपालिकाको संरचना नभएको अवस्थामा कसलाई कसरी मान्ने भन्ने प्रश्न उठेको नेता कोइरालाको भनाइ थियो । “मेरै क्षेत्रमा तीन÷तीन जना सभापति छन् कसलाई मान्ने”, प्रश्न गर्दै उनले भने, “गाविस वडामा परिणत भइसक्यो कसलाई मान्ने त्यसमा काङ्ग्रेस चुकिरहेको छ ।”
नेता कोइरालाले अहिलेको बजेट ८० प्रतिशत केन्द्रमा, छ प्रतिशत प्रदेशमा र बाँकी १४ प्रतिशत मात्रै स्थानीय तहमा दिइएकाले पनि सरकार अधिकारलाई केन्द्रमा नै राख्न खोजिरहेको आरोप लगाऐ । पार्टीको केन्द्रीय प्रशिक्षण विभागका निर्देशक पुरुषोत्तम दाहालले जिल्ला÷जिल्लामा प्रशिक्षण विभाग गठन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले पार्टीभित्र कार्यक्रममा विशिष्ट अतिथि, अतिथि भनेर बोलाउने काम बन्द गर्नुपर्ने बताए ।

जागरण अभियानले कार्यकर्तामा संवादको थालनी : प्रवक्ता शर्मा
चितवन(जस)–नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानले आम कार्यकर्तामा संवादको थालनी भएको बताएका छन् । बुधबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अभियान काङ्ग्रेस सुधारका लागि प्रारम्भ भएको पनि बताए । जागरण अभियानले काङ्ग्रेसको गाडीलाई कुन दिशामा लैजाने भन्ने कुराको पुष्टि गर्ने उनको भनाइ थियो । उनले भने, “काङ्ग्रेसको रुपान्तरणका लागि जागरण अभियान पनि एउटा ट्याबलेट हो ।” योमार्फत् काङ्ग्रेसले गति लिएको भन्दै उनले थपे, “काङ्ग्रेसको गाडी स्टाट भयो । हिजो ड्राइभरहरू मात्रै कुदेको देखिन्थ्यो । अब गाडी स्टाट भएको छ दोस्रो चरणमा पुग्दा गाडी राजमार्गमा आउँछ र तेस्रो चरणमा पुग्दा गति लिन्छ ।” समग्रमा जागरण अभियान सफल भएको उनले बताए ।
अभियानका क्रममा आम जनतामा नैरास्यता मात्रै पाएको बताउँदै उनले देशलाई समृद्ध बनाउँदै लोकतन्त्रको रक्षा काङ्ग्रेसले मात्रै गर्न सक्ने दाबी गरे । शर्माले भने, “जनतामा अहिले निरासा छाएको छ । यसलाई आशामा बदल्ने काम काङ्ग्रेसले गर्नुपर्छ । यसका लागि हामी निरन्तर लागेका छौँ ।” पहिलो चरणको जागरण अभियानको काम ८५ प्रतिशत गाउँ तहमा सम्पन्न भएको उनको भनाइ थियो । आगामी भदौ २४ गतेदेखि असोज ७ गतेसम्म दोस्रो चरणको कार्यक्रम हुने शर्माले बताए । तेस्रो चरणको कार्यक्रम पुस ७ गते देखि १६ गतेसम्म हुनेछ । फरक प्रसङ्गमा शर्माले मिडिया काउन्सिल विधेयक फिर्ता हुनुपर्छ भने । प्रेस काउन्सिल आफैँले पत्रकारको सहभागितामा आचार संहिता बनाउँछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार