मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

व्यवसायीको आन्दोलनले छोएन वैदेशिक रोजगारमा जाने युवालाई

बुधबार, जेष्ठ २२ २०७६

काठमाडौँ(जस)–नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारमा जाने कामदारको उडान ठप्प पारिएको जिकिर गरे पनि वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या रोकिएको छैन । आफूहरुले सरकारसमक्ष राखेको माग पूरा नभएको भन्दै चरणबद्ध सङ्घर्षमा उत्रिएको सङ्घले गत शुक्रबारदेखि कामदारको उडान बन्द गरिएको बताए पनि साविककै सङ्ख्यामा युवा वैदेशिक रोजगारमा गइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक रोजगार विभागअन्तर्गतको श्रम कक्षले साविककै सङ्ख्यामा युवा वैदेशिक रोजगारीमा गएको जनाएको छ । व्यवसायीले उडान बन्द गरेको घोषणा गरे पनि दैनिक एक हजारको सङ्ख्यामा युवा रोजगारीका लागि गन्तव्य मुलुक प्रस्थान गरिरहेका छन् ।
श्रम कक्षका प्रमख बाबुराम घिमिरेले व्यवसायीको हडतालका कारण वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्यामा खासै कमी नदेखिएको बताए । उनले भने, “व्यवसायीले भनेजस्तो कामदारको उठान ठप्पै भएको भन्ने होइन, यसअघिका दिनकै अनुपातमा युवा वैदेशिक रोजगारीमा गइरहेका छन् ।” मंगलबार अपराह्सम्म ३५० कामदार संस्थागत श्रम स्वीकृति लिएर उडेको उनले बताए । त्यसैगरी सोमबार संस्थागत श्रम स्वीकृति लिएका ३२९ र व्यक्तिगत श्रम स्वीकृति लिएका ५७४ युवा विदेशिएका प्रमुख घिमिरेले जानकारी दिए । व्यवसायीको आन्दोलनका वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या केही कम देखिएको उनको भनाइ थियो । सोमबार र मङ्गलबार वैदेशिक रोजगारीमा जाने युवामा अधिकांश मलेसियाका लागि ‘कलिङ भिषा’ पाइसकेका कामदार रहेका छन् ।
सङ्घमा आबद्ध व्यवसायीले यही जेठ ३ गते बृहत् भेलामार्फत् निर्णय नै गरेर छबुँदे माग सम्बोधन नभए जेठ १७ देखि २३ गतेसम्म वैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने निर्णय गरेका थिए । सङ्घले इजाजत लिन राख्ने धरौटी रकमको ब्याज पाउने व्यवस्था गर्न, मर्जर हुने संस्थालाई उपयुक्त छुट, सुविधा र सहुलियत दिन, मन्त्रालयमा सूचीकृत मेडिकल संस्थामार्फत् मलेसियामा नेपाली कामदार पठाउने व्यवस्था गर्नुपर्नेलगायत माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार