काठमाडौँ(जस)–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यको कार्यविभाजनबारे बुधबार टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले बुधबार कार्यविभाजन टुङ्ग्याउने गरी छलफल शुरु गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने, “कार्यविभाजनको कार्यसूचीमा छलफल शुरु भएको छ । छलफल सहमति नजिक पुगेको छ । बुधबार केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्ग्याएर विदेशस्थित प्रवास कमिटीलगायत साङ्गठनिक एकताका बाँकी कामको छलफलमा लाग्नेछौँ ।”
एकतापछि नेकपामा ४४१ केन्द्रीय सदस्य छन् । नेकपाको सचिवालय बैठक यही जेठ २ गतेपछि यता बस्न सकेको थिएन । यही जेठ ३ गते पार्टी एकीकरण भएको एक वर्ष पुगेको अवसरमा १९ वटा जनवर्गीय सङ्गठनको नाम, संयोजक र सहसंयोजक तोकेको थियो । प्रधानमन्त्री आलोपालो प्रणालीका आधारमा हुने भनी बाहिर चर्चामा आएको प्रसङ्सबारे पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता श्रेष्ठले त्यस सम्बन्धमा बैठकमा कुनै ठोस निर्णय नभएको बताए । पार्टीका नेता झलनाथ खनालले पार्टीमा कार्यविभाजनबारे विवाद नभई छलफल नटुङ्गिएर ठोस निर्णयमा पुग्न नसकिएको बताए । पार्टी एकतापछि पोलिटब्यूरो गठनसमेत हुन सकेको छैन ।
जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज चयन गर्ने विषयमा कुरा नमिलेपछि वैठक निष्कर्ष विहिन बनेको हो । सहमतिको लागि दुईपटकसम्म बैठक बसेको थियो । मंगलबार बिहान बालुवाटारमा अध्यक्षद्धय र वरिष्ठ नेता माधव नेपालसहितको शीर्ष नेताहरूको बैठक पनि बसेको थियो । दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सचिवायल वैठक बसेको थियो । सचिवालय बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज छनोटको मापदण्डमा विवाद देखिएको एक सदस्यले बताए । बैठकमा कार्यविभाजनको प्रस्ताव पेश भएपनि अन्तिम टुंगो लाग्न नसकेको हो । नेकपामा मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकाहरुलाई इञ्चार्ज तथा सहइञ्चार्ज बनाउने कि नबनाउने भन्नेमा विवाद देखिदै आएको छ ।
पार्टी अध्यक्ष केपी ओली लगायतका केही नेताहरु त्यसको पक्षमा रहेका छन् भने माधवकुमार नेपाल लगायतका नेताहरु त्यसको विपक्षमा छन् । यता, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायका केही नेताहरु भने बीचमा देखिएका छन् । जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज छनोटको विषयमा मापदण्डमा कुरा नमिलेको स्रोतले बताएको छ । सचिवालय बैठकमा मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकाहरुलाई इञ्चार्ज तथा सह–इञ्चार्ज बनाउने कि नबनाउने भन्नेमा विवाद उत्पन्न भएको थियो । माधवकुमार नेपालसहितका नेताहरुले दोहोरो जिम्मेवारी दिन नहुने बताएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापासँग यस विषयमा पटक पटक छलफल गरेका थिए । यस अघि शनिबारका लागि निर्धारित बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली भारत जाने भएपछि तयारी नपुगेको भन्दै सोमबारका लागि सारिएको थियो । अध्यक्षद्वयले सोमबारका लागि निर्धारित बैठक मंगलबारलाई सारेका थिए । बैठक आज फेरि बस्ने तय भएको छ ।