काठमाडौं । बिल गेट्स र मेलिन्डा गेट्सले सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । २७ वर्ष साथमा रहेपछि उनीहरुले वैवाहिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । सन् १९८० को दशकमा मेलिन्डाले बिलको माइक्रोसफ्टमा काम थालेपछि उनीहरुको भेट भएको थियो । उनीहरुका तीन सन्तान छन् ।
दम्पतीले ट्वीटरमा लेखेका छन्, ‘राम्रो सोच विचार तथा सम्बन्ध सुधारका लागि धेरै काम गरेपछि हामी वैवाहिक सम्बन्ध अन्त्यको निर्णयमा पुगेका छौँ ।’ सम्बन्ध विच्छेदको घोषणा गर्दै उनीहरुले भनेका छन्, ‘हामी दम्पतीका रुपमा अब हामीसँगै विकसित हुन सक्ने छौँ भन्ने विश्वास छैन ।’
फोर्ब्सका अनुसार बिल गेट्स विश्वका धनी व्यक्तिको सूचिमा चौथो स्थानमा छन् । उनको सम्पत्ती १२४ बिलियन अमेरिकी डलर बराबर छ । उनले सन् १९७० को दशकमा स्थापना गरेको माइक्रोसफ्टबाट सम्पत्ती आर्जन गरेका हुन् ।
उनीहरुले संयुक्त रुपमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशन सञ्चालन गर्दै आएका छन् । फाउन्डेशनमा सँगै काम गर्ने पनि उनीहरुले बताएका छन् । यो संस्थाले कोरोना संक्रमण महामारीमा अर्बौ डलर खर्च गरेका छन् । साथै बालबालिकालाई खोप सहयोग गर्ने गरेका छन् ।