काठमाडौँ । पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियाले विश्वकप क्रिकेट अन्तर्गत विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । अफगानिस्तानले दिएको २०८ न पछाएको अस्ट्रेलियाले ३४.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक अविजित ८९ रन बनाए भने कप्तान एरोन फिन्चले ६६ रन बनाएका थिए । त्यस्तै स्टिभ स्मिथ १८ र उसमान ख्वाजा १५ रन बनाएर आउट भएका थिए । त्यस्तै ग्लेन म्याक्सवेलले अविजित ४ रन बनाए । अफगानिस्तानका बलर मुजीब उर रहमान, राशिद खान र गुलबदीन नैबले एक एक विकेट लिएका थिए ।
यसअघि अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै ३८.२ ओभरमा अल आउट हुदै २०७ रन बनाएको हो । अफगानिस्तानका लागि नजबुल्लाह जरदानले सर्वा्धिक ५१ रन बनाए भने रहमत शाहले ४३ रन बनाएर आउट भएका थिए । अफगानिस्तानको पारीमा राशिद खानले आक्रामक ब्याटिंग गर्दै ११ बलमा २७ रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान गुलबदीन नैबले ३१ र हशमतुल्लाह शाहिदीले १८ रन बनाएका थिए । त्यस्तै मुजीब उर रहमानले १३ रन बनाए भने मोहमद नावी ७ रन बनाएर आउट भएका थिए ।
दुवै ओपनर शुन्य रनमा गुमाएको अफगानिस्तान सम्हालिदै सम्माजनक रन बनाउन सफल भएको हो । ७७ रनमा सुरुका ५ विकेट गुमाएको अफगानिस्तानका पुछारका ब्याट्सम्यानले रन बनाउदै २०८ को लक्ष्य दिन सफल भएका छन् । अस्ट्रेलियाका बलर एडम जाम्पा र पिट कमिन्सले ३(३ विकेट लिए भने मार्कोस स्टोइनिसले २ तथा मिचेल स्ट्राकले एक विकेट लिएका थिए । खेलको प्लेयर अफ द म्याच अस्ट्रेलियाका डेभिड वार्नर बनेका थिए ।