शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एनआरएनले ५७ करोड ६६ लाख खर्च गरेर निर्माण गरेको लाप्राकको ५७३ घर स्थानीयलाई हस्तान्तरण (फोटोफिचर)

बिहिबार, बैशाख ९ २०७८

काठमाडौं(जस)– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विस २०७२ को भूकम्पको केन्द्रविन्दु बारपाक नजिकैको वस्ती लाप्राकका बासिन्दाका लागि गैरआवासीय गुम्सीपाखामा निर्मित नमुना बस्ती आज हस्तान्तरण गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली, माननीय हरिराज अधिकारीलगायतको समुपस्थितिमा ५७३ वटा आवास र अन्य सामुदायिक पूर्वाधार हस्तान्तरण गरिएको एनआरएनएनका अध्यक्ष कुमार पन्तले बताए । अध्यक्ष पन्तले अन्ततः यो दिन आयो भन्दै बस्ती हस्तान्तरण् गर्न पाउँदा निकै खुसी लागेको बताए । ‘यस परियोजनामा हरेक गैरआवासीय नेपालीको तन, मन र धन परेको छ। उहाँहरूसहित सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद’, अध्यक्ष पन्तले भने ।

विस २०७२ सालको भूकम्पले ध्वस्त पारेको गोरखाको ऐतिहासिक गुरुङ बस्तीलाई नयाँ ठाउँमा स्थानान्तरण गरीएको छ । लाप्राकीका लागि गुप्सीपाखामा गैरआवसीय नेपाली संघ (एनआरएन) ले निर्माण गरेको एकीकृत वस्तीको निर्माण पूरा भई आज एक कार्यक्रमका बिच राष्ट्रिय पुननिर्माण प्राधिकरणका सीइओ शुशील ज्ञवाली,गोर्खाका सांसद हरिराज अधिकारी,एनआरएनएका अध्यक्ष कुमार पन्तसहित एनआरएनएका पदाधिकारीहरुको उपस्थितिमा उक्त बस्ति हस्तान्तरण गरिएको हो । गाउँपालिका वार्ड नं. ४ को गुप्सी पाखामा एकै किसिमका पाँच सय ७३ वटा घरहरु निर्माण भएका छन् । उक्त घर एनआरएनले उपहारको रुपमा निर्माण गरिदिएको हो ।

एनआरएनले निर्माण गरेको लाप्राकको एकीकृत वस्ती तयार, आज स्थानीयलाई घर हस्तान्तरण गर्ने कार्यक्रम


समुद्र सतहदेखि २७५० मीटर उचाइमा अवस्थित उक्त बस्ती २०७३ फागुनमा निर्माण सुरु गरिएको थियो । भूकम्पले ध्वस्त पुरानो लाप्राक बस्तीको भौगोलिक हिसाबले कमजोर र पहिरोको जोखिमका कारण त्यही ठाउँमा पुनर्निर्माण गरी बस्नु अनुपयुक्त भएपछि गुप्सीपाखामा पुनर्निर्माण गरिएको हो । गुप्सीपाखा लाप्राकीको पुरानो भेंडीगोठ र चरनक्षेत्र हो । सरकारले बस्तीको लागि उपयुक्त ठाउँको रुपमा गुप्सीपाखालाई घरनिर्माण गर्न जग्गा उपलब्ध गराएको हो । बस्ती बनाउन आर्थिक सहयोग चाहिँ एनआरएनले गरेको थियो । गिट्टी, वालुवा–ढुंगा, काठ र श्रमदान स्थानीयले व्यवस्था गरेका थिए । दुईकोठे भवनमा टाँडी र कौसी छ । घरको बाहिरपट्टि शौंचालय निर्माण गरिएको छ । प्रत्येक घर ३ आना २५ पैसा क्षेत्रफलमा बनेको छ । लाप्राक गोरखाको गुरुङ समुदायको ऐतिहासिक बसोवास थलो हो । भूकम्पको केन्द्रबिन्दु बारपाकबाट करिब १२ किलोमीटरको दूरीमा पर्ने लाप्राकलाई पनि २०७२ सालको भूकम्पले सम्पूर्ण रूपमा ध्वस्त बनाएको थियो, जसमा परी २४ जना लाप्राकीले ज्यान गुमाएका थिए ।

‘गैरआवासीय नेपाली संघको महत्वपूर्ण मेघा प्रोजेक्ट अन्तर्गतको लाप्राक नमूना बस्तीको निर्माण कार्य सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त खुशी छौँ । अब, सम्पूर्ण प्रक्रिया पूरा गरेर आज एक कार्यक्रमको आयोजना गरि जग्गा धनी पूर्जासहित लाभग्राहीहरुलाई हस्तान्तरण गरियो एनआरएनए अध्यक्ष कुमार पन्तले भने ।

विसं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ मा गैरआवासीय नेपाली संघको प्रत्यक्ष सक्रियतामा ५ सय ७३ वटा नीजि आवास निर्माण सम्पन्न भएको हो’, । ५७ करोड ६६ लाख भन्दा बढीको लागतमा निर्माण भएको सो बस्तीको लागि आर्थिक सहयोग गर्ने विश्वभर छरिएका गैरआवासीय नेपालीहरु, नेपाल सरकार, स्थानीय सरकारलगायत सम्पूर्ण दाता एवं अन्य सहयोगी सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ पन्तले भने ।

‘गैरआवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा रहेको ऐतिहासिक लाप्राक नमूना बस्तीको निर्माण सम्पन्न गर्दै हस्तान्तरण गराउँदा गौरवान्वित महसुस गरेको संघको उपाध्यक्ष सोनाम लामाले बताए उनले आफु निर्वाचीत भएर आएसँगै आफुलाई लाप्राक नमूना बस्ती परियोजनाको जिम्मा दिइएको र डेढ वर्षको अथक प्रयासपछि आफुले पाएको जिम्मेवारी पूरा गर्न सफल भएको बताए । परियोजना सम्पन्न भएसँगै हामी सबै एनआरएनएको सपना साकार भएको छ’, लाप्राक नमूना बस्ती परियोजनाका संयोजकसमेत रहेका एनआरएनएका उपाध्यक्ष लामाले बताए ।
यस नमूना बस्तीका सबै लाभग्राहीहरु, सबै कर्मचारी तथा परामर्श दाताहरु तथा सहयोग गर्नुहुने सबैप्रती एनआरएनएले आभार प्रकट गरेको छ । उक्त हस्तान्तरण कार्यक्रममा एनआरएनका अध्यक्ष कुमार पन्त,उपाध्यक्ष सोनाम लामा,बद्रि केसि ,सचिब गौरी केसि, युवा संयोजक हिमाल गुरुङ, एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपाने,युरोप सहसंयोजक कृष्ण तिमल्सिना,अमेरिकाज सहसंयोजक आरसी पोखरेल,परियोजनाका सहसंयोजक श्याम तामाङ्गलगाएत पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार