काठमाडौं(जस)– विस २०७२ सालको भूकम्पले ध्वस्त पारेको गोरखाको ऐतिहासिक गुरुङ बस्तीलाई नयाँ ठाउँमा स्थानान्तरणको तयारी पूरा भएको छ । लाप्राकीका लागि गुप्सीपाखामा गैरआवसीय नेपाली संघ (एनआरएन) ले निर्माण गरेको एकीकृत वस्तीको निर्माण पूरा भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार उक्त वस्ती स्थानीयलाई बैशाख ९ गते हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । धार्चे गाउँपालिका वार्ड नं. ४ को गुप्सी पाखामा एकै किसिमका पाँच सय ७३ वटा घरहरु निर्माण भएका छन् । उक्त घर एनआरएनले उपहारको रुपमा निर्माण गरिदिएको हो ।
समुद्र सतहदेखि २७५० मीटर उचाइमा अवस्थित उक्त बस्ती २०७३ फागुनमा निर्माण सुरु गरिएको थियो । भूकम्पले ध्वस्त पुरानो लाप्राक बस्तीको भौगोलिक हिसाबले कमजोर र पहिरोको जोखिमका कारण त्यही ठाउँमा पुनर्निर्माण गरी बस्नु अनुपयुक्त भएपछि गुप्सीपाखामा पुनर्निर्माण गरिएको हो । गुप्सीपाखा लाप्राकीको पुरानो भेंडीगोठ र चरनक्षेत्र हो । सरकारले बस्तीको लागि उपयुक्त ठाउँको रुपमा गुप्सीपाखालाई घरनिर्माण गर्न जग्गा उपलब्ध गराएको हो । बस्ती बनाउन आर्थिक सहयोग चाहिँ एनआरएनले गरेको थियो । गिट्टी, वालुवा–ढुंगा, काठ र श्रमदान स्थानीयले व्यवस्था गरेका थिए । दुईकोठे भवनमा टाँडी, कौसी छ ।
घरको बाहिरपट्टि शौंचालय निर्माण गरिएको छ । प्रत्येक घर ३ आना २५ पैसा क्षेत्रफलमा बनेको छ । लाप्राक गोरखाको गुरुङ समुदायको ऐतिहासिक बसोवास थलो हो । भूकम्पको केन्द्रबिन्दु बारपाकबाट करिब १२ किलोमीटरको दूरीमा पर्ने लाप्राकलाई पनि २०७२ सालको भूकम्पले सम्पूर्ण रूपमा ध्वस्त बनाएको थियो, जसमा परी २४ जना लाप्राकीले ज्यान गुमाएका थिए ।
‘गैरआवासीय नेपाली संघको महत्वपूर्ण मेघा प्रोजेक्ट अन्तर्गतको लाप्राक नमूना बस्तीको निर्माण कार्य सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त खुशी छौँ । अब, सम्पूर्ण प्रक्रिया पूरा गरेर विसं २०७८ वैशाख ९ गते जग्गा धनी पूर्जासहित लाभग्राहीहरुलाई हस्तान्तरण गरिने जानकारी गराउँदछौँ’, एनआरएनए अध्यक्ष कुमार पन्तले भने ।
विसं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ मा गैरआवासीय नेपाली संघको प्रत्यक्ष सक्रियतामा ५ सय ७३ वटा नीजि आवास निर्माण सम्पन्न भएको हो’, । बस्ती हस्तान्तरणका लागि धार्चे गाउँपालिका वडा नम्बर. ४ र नेपाल सरकारबाट समेत अनुमति प्राप्त भइसकेको छ । ५७ करोड ६६ लाख भन्दा बढीको लागतमा निर्माण भएको सो बस्तीको लागि आर्थिक सहयोग गर्ने विश्वभर छरिएका गैरआवासीय नेपालीहरु, नेपाल सरकार, स्थानीय सरकारलगायत सम्पूर्ण दाता एवं अन्य सहयोगी सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ ।
‘गैरआवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा रहेको ऐतिहासिक लाप्राक नमूना बस्तीको निर्माण सम्पन्न गर्दै यही बैशाख ९ गते बिहीबार हस्तान्तरण हुन गइरहेको जानकारी गराउन पाउँदा गौरवान्वित महसुस गरिरहेको छु । संघको उपाध्यक्षमा निर्वाचीत भएर आएसँगै मलाई लाप्राक नमूना बस्ती परियोजनाको जिम्मा दिइएको थियो । डेढ वर्षको अथक प्रयासपछि मैले पाएको जिम्मेवारी पूरा गर्न सफल भएको छु । परियोजना सम्पन्न भएसँगै हामी सबैको सपना साकार भएको छ’, लाप्राक नमूना बस्ती परियोजनाका संयोजकसमेत रहेका एनआरएनए का उपाध्यक्ष सोनाम लामाले बताए ।
लामाले विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ का ५ सय ७३ वटा नीजि आवास जग्गाधनी पूर्जासहित लाभग्राहीहरुलाई हस्तान्तरण गर्न गइरहेको बताए । ‘यस परियोजनालाई सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय, नेपाली सेना, गोरखा जिल्लाका स्थानीय सरकार, जनप्रतिनिधिहरु, गाउँपालिकाका अध्यक्षलगायत सम्पूर्ण सदस्यहरु, नेपाल प्रहरी, समाजसेवीलगायत सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु’ लामाले भने ।
उनले भने–‘यस परियोजनालाई सम्पन्न गर्न अहोरात्र खट्नु हुने संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक आदरणीय शेष घले ज्यू, जमुना भाउजुलगायत आइसिसी तथा एनसिसीहरु, सम्पूर्ण दाताहरु लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैमा हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछु । यस नमूना बस्तीका सबै लाभग्राहीहरु, सबै कर्मचारी तथा परामर्श दाताहरु तथा सहयोग गर्नुहुने सबैप्रती हार्दिक आभार प्रकट गर्दछु । यस परियोजनालाई आर्थिक सहयोग गर्नुहुने गैर आवासीय नेपाली संघका अग्रजहरु, सहयोग गर्नुहुने विभिन्न संघसंस्था तथा सहयोगी दाताहरु, नेपाल सरकार, स्थानीय सरकार लगायत सम्पूर्ण दाता एवं अन्य सहयोगी र स्वयसेवक तथा योगदान गर्नुहुने सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै हस्तान्तरण कार्यक्रममा सहभागिताका लागि सबैमा हार्दिक अनुरोध गर्न चाहान्छु ।’
यसै सन्दर्भमा बिहीबार बिहानैदेखि देशभरको मौसम बिग्रिएको र वर्षा भइरहेका कारण बस्ती हस्तान्तरण कार्यक्रम अन्यौलमा परेको छ । एनआरएनएका मुख्य पदाधिकारीहरुदेखि धेरैले बस्ती हस्तान्तरण कार्यक्रमका लागि हेलिकोप्टर बुक गरेको र मौसमका कारण हेलिकोप्टर उडन गाह्रो हुने भएका कारण बस्ती हस्तान्तरण कार्यक्रम के हुने भन्ने अन्यौलमा परेको एनआरएनए स्रोतले बतायो । स्रोतले मौसममा सुधार नआए आज कार्यक्रम स्थगित हुन सकने जानकारी दिएको छ ।