काठमाडौं(एजेन्सी)–प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा पुलिस क्लबले प्रदेश २ लाई १५६ रनले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । पुलिसले दिएको २५४ रनको लक्ष्य पछाएको प्रदेश २ २९ ओभरमा ९७ रनमा अल आउट भएपछि पुलिस १५६ रनले विजयी भएको हो । प्रदेश २ का लागि हरिशंकर शाहले सर्वा्धिक २९ रन बनाए भने कप्तान मोहमद आलमले २१ रन बनाए । त्यस्तै रवी शाहले १५ रन बनाए भने सुरज पटेलले ञ१२ रन बनाए । प्रदेश २ का अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पुलिसका बलर दिपेन्द्र सिंह ऐरीले ५ विकेट लिए । दिपेन्द्रले १० ओभरमा एक मेडनसहित २८ रन दिएर ५ विकेट लिएका थिए । त्यस्तै ललित राजबंशीले ३ विकेट लिए भने सागर ढकाल र कुशल भुर्तेलले एक एक विकेट लिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पुलिस क्लबले ५० ओभरमा ९ विकेट गुमाउदै २५३ रन बनाएको थियो । पुलिसका लागि अमित श्रेष्ठले सर्वाधिक ५० रन बनाए भने सुनिल धमलाले ४३, अनिलकुमार शाहले ३७, कुशल भुर्तेलले ३५, आरिफ सेखले ३२, दिपेन्द्र सिंह ऐरीले १८ र पवन सराफले १३ रन बनाए । प्रदेश २ का सम्सद सेखले ४ विकेट लिए भने रशिद खानले २ विकेट लिएका थिए ।
पुलिसका दिपेन्द्र सिंह ऐरी खेलको प्लेयर अफ द म्याच बनेका थिए । पुलिस समुह बि मा ४ खेलमा चारै खेल जितेर ८ अंकसहित समुहमा पहिलो हुदै सेमिफाइनलमा पुगेको छ भने आर्मी टिम ४ खेलमा ३ खेल जितेर ६ अंकसहित दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । समुह बि बाट प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् ।