मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

शहिद स्मारक ए डिभिजन लिग मंसिरमा

शनिबार, जेष्ठ १८ २०७६

काठमाडौं(जस)–बहुप्रतिष्ठित शहिद स्मारक ए डिभिजन लिग फुटबल मंसिर १२ गतेबाट काठमाडौंमा सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्य समितिको शुक्रबार ललितपुरमा बसेको बैठकले लिग मंसिरमा सुरु गर्ने निर्णय गरेको हो । अबको लिग रेलिगेसन सहितको हुने बताइएको छ । बैठकले एन्फा प्रेसिडेन्ट कप आयोजना गर्ने र उक्त कपका शीर्ष चार तथा ए डिभिजन लिगका शीर्ष ६ टोली गरी १० टोलीको राष्ट्रिय लिग गर्ने निर्णय पनि गरेको छ । जिल्ला लिग सञ्चालन गरी जिल्ला लिगको विजेताबीच सातै प्रदेशमा प्रेसिडेन्ट कप गर्ने निर्णयसहित प्रदेश लिगका लागि सातजना संयोजक समेत तोकेको छ ।
बैठकले आगामी जुनमा हुने फिफा कांग्रेसमा एन्फाबाट अध्यक्ष कमाछिरिङ शेर्पाको नेतृत्वमा उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य पेमा डोल्मा लामालाई प्रतिनिधि पठाउने निर्णय गरेको छ । जिल्ला लिग सञ्चालन तथा व्यवस्थापनको संयोजकमा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र क्वीक्स कप अन्तर विद्यालय छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिताको संयोजकमा सहायक महासचिव अरुणमान जोशी, ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको संयोजकमा कोषाध्यक्ष राजेन्द्र न्यौपाने तथा उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको संयोजकमा कार्यसमिति सदस्य तथा महिला फुटबल समितिको संयोजकलाई संयोजकको रुपमा मनोनयन गरेको छ ।
यसैगरी बैठकले राष्ट्रिय फुटबल टोलीको भत्ता २० डलरबाट २५ डलर बनाउने, एन्फा होस्टल भवनको पहिलो तल्लाको मर्मत कार्यकालागि कन्सल्टेन्सी नियुक्त गरी कोटेसन माग गर्ने र एनफालाई आवश्यक कर्मचारी खुला प्रतिस्पर्धाबाट लिने लगायत निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार