सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एयरपाेर्टका अध्यागमन अधिकृतविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

बिहिबार, जेष्ठ १६ २०७६

काठमाडौं, १६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले अधिकृत अर्यालले १६ वर्षे सार्वजनिक सेवा अवधिमा वैधानिक आयभन्दा लगानी गरेको सम्पत्ति अत्यधिक रहेको र २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँको स्रोत खुलाउन नसकेको भन्दै विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको हो ।

अर्यालले विसं २०५९ भदौ २३ मा सेवा प्रवेश गरेकोमा ०७६ मंसिर मसान्तसम्ममा उनको वैधानिक आय २ करोड ४९ लाख ९२ हजार ७ सय ३० रुपैयाँ देखिए पनि उनले ४ करोड ५६ लाख ८१ हजार ८ सय ४१ रुपैयाँ खर्च तथा लगानी गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार अर्यालले तलब, भत्ता, कर्जा, कृषि आय, स्त्रीधन, अंश नगद र जग्गा बिक्रीबाट उक्त वैधानिक आय गरे पनि त्यसको तुलनामा २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँ बढी लगानी कहाँबाट जुटाए भन्ने खुलाउन नसकेपछि भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो ।

सोही रकम बराबर बिगोदाबीसहित आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अर्यालकी श्रीमती सरिता नेपाललाई समेत अख्तियारले प्रतिवादी बनाई मुद्दा दायर गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार