आर्मी सेमिफाइनलमा, प्रदेश ३ को लगातार दोस्रो जीत
काठमाडौँ(जस)– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा आर्मीले कर्णालीलाई ११७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । आर्मीले दिएको २९१ रनको लक्ष्य पछाएको कर्णाली प्रदेश ३५.१ ओभरमा १७३ रन बनाउदा अल आउट भएपछि खेल ११७ रनले गुमाउन पुगेको थियो । कर्णाली प्रदेशका लागि शुसांत थापाले ३१, ललित प्याकुरेलले २८ रन बनाए भने दिवान पुनले २६ र कप्तान रबिन्द्र शाहीले १३ रन्को योगदान दिएका थिए ।
आर्मीका शुसन भारीले सर्वाधिक ४ विकेट लिए भने करण केसी र शाहाब आलमले २(२ विकेट लिए । त्यस्तै कुशल मल्ल र हरिबहादुर चौहानले एक एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाउदै २९० रन बनाएको थियो । आर्मीका लागि राजु रिजाल, रोहित पौडेल र हरिकृष्ण झाले अर्धशतक बनाएका थिए । राजु रिजालले ६६, रोहितले ५६ र हरिकृष्णले ५२ रन बनाएका थिए । त्यस्तै कारण केसीले २८, लोकेन्द्र चन्द र शुसन भारीले १६–१६ रनको योगदान दिएका थिए ।
कर्णालीका बलर ललित प्याकुरेलले ५ विकेट लिएका थिए । ललितले ९ ओभरमा ६३ रन द्येर आर्मीका ५ ब्याट्सम्यानलाई आउट गरेका थिए । त्यस्तै रविन्द्र शाहीले २ र प्रकाश जैसीले एक विकेट लिएका थिए । प्रतियोगितामा आर्मीले समुह बि अन्तर्गत अहिलेसम्म खेलेका तिनै खेलमा जित हासिल गरेको छ भने प्रतियोगिताको सेमिफाइनलमा समेत पुगेको छ । त्यस्तै कर्णालीले खेलेका दुवै खेलमा हार बेहोरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार कर्णाली प्रदेश र प्रदेश २ बीच तथा नेपाल पुलिस क्लब र प्रदेश एकबीच खेल हुने छ ।
यस्तै प्रतियोगितामा प्रदेश ३ ले लगातार दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का रहेको प्रदेश ३ ले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेका हो । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले दिएको १०९ रनको सामान्य लक्ष्यलाई प्रदेश ३ ले २२ दशमलव २ ओभरमा ३ विकेट गुमाएर भेटायो । प्रदेश ३ को जीतमा आदील खानले अविजित ३८ रन जोडे भने इशान पाण्डेले अविजित २६ तथा रित गौतमले २० रन बनाए । गण्डकीका किशोर महतोले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ३० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदैै १०८ रन बनाएको थियो । गण्डकीका लागि सुमा घिमिरेले ३४ तथा आकाश थापाले २४ रन जोड्नुबाहेक अन्यले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । प्रदेश ३ का लागि कप्तान पारस खड्का र सूर्य तामाङले समान चार चार विकेट लिए भने नन्दनकुमार यादवले २ विकेट लिए । जीतसँगै समूह ए मा प्रदेश ३ ले ३ खेलबाट ४ अङ्क जोडेको छ भने शीर्ष स्थानमा उक्लिएको छ ।