बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

एनआरएनए उपाध्यक्ष लामाद्धारा लाप्राक बस्ती अवलोकन, परियोजना लाभग्राहीलाई हस्तान्तरणबारे छलफल

बुधबार, माघ २१ २०७७

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) का उपाध्यक्ष तथा लाप्राक परियोजनाका संयोजक सोनाम लामाका, नेतृत्वमा एक प्रतिनिधिमण्डलले सोमबारदेखि बुधबारसम्म लाप्राक नमूना बस्ती परियोजनाको स्थलगत भ्रमण गरेको छ । सो भ्रमणका क्रममा धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोस गुरुङ्ग, वडा न. ४ का वडाअध्यक्ष, राज गुरुङ्ग तथा लाभग्राहीहरुसंग बाँकी काठको काम र शौचालय निर्माण सम्बन्धि काम छिटो सम्पन्न गरी आधिकारिक रुपमा बस्ती हस्तान्तरण गर्ने सम्बन्धमा छलफल भएको हो ।
कोभिड–१९ को कहर पछि लाभग्राहिहरुकै अनुरोधमा आफ्नो घर आफैं बनाउँ भन्ने भावनाको साथ हरेक कामको लागि निश्चित रकम तोकि लाभग्राहीहरुलाई जिम्मा दिएको काम सन्तोषजनक नभएकोले संघले पटक–पटक समयसीमा थप गर्दासमेत अपेक्षित रुपमा काम सम्पन्न हुन नसकेकोमा संयोजक लामाले दुःख प्रकट गरे । संघले परियोजना योजनाबद्ध रुपमा बस्तीको नक्शा तयार पारी निर्माण गरेको र यस्तो ५७३ वटा एकै प्रकारका घरहरु सहितको एककृति बस्ती नेपालकै पहिलो नमूना वस्ती भएकोले सबै लाभग्राहिहरु यस प्रति गौरवान्वित हुनुपर्ने बताउँदै छिटो काम सम्पन्न गर्न लाभग्राहीहरु, गाउँपालिका तथा वडा कार्यालयको सहयोग र सहकार्य आवश्यक रहेको औंल्याए । उनले समयमा बस्ती हस्तानन्तरण हुन नसकेमा एकीकृत बस्तीलाई आवश्यक पूर्वाधारका लागि राष्ट्रिय पूनर्निर्माण प्रधिकरणबाट प्राप्त हुने प्रति लाभग्राहि रु. चार लाख बराबरको रकम गुम्न सक्ने खतरा भएकोले छिटो बस्ती निर्माण गर्नुको कुनै विकल्प नरहेको जानकारी गराए ।
उनले आधिकारिक रुपमा बस्ती हस्तान्तरणको समयमा लाभग्राहीरुलाई जग्गा धनीपूर्जासमेत दिन संघको पहलमा जग्गा नापी कित्ताकाट गर्ने काम सम्पन्न भएकोमा जग्गा धनीपूर्जाका लागि आवश्यक प्रकृया पूरा गर्न नापी कार्यालय गोरखाका प्रमुख अमृत पाण्डेलाई भेटी अनुरोधसमेत गरेको जानकारी गराए । छिटो काम सम्पन्न गर्न गाउँपालिका समेत अग्रसर हुन पर्ने बताउँदै आधिकारिक रुपमा बस्ती हस्तान्तरणका लागि उपयुक्त मिति चयन गर्न समेत अनुरोध गरे ।


धार्चे गाउँपालिकाका अध्यक्ष, सन्तोष गुरुङ्गले, तोकिएको समयमा काम सम्पन्न गर्न सबैलाई अनुरोध गर्दै समयमा काम सम्पन्न नगर्ने लाभग्राहिहरुलाई के कस्ता कारवाही गर्ने भन्ने बिषयमा गाउँपालिका र वडा कार्यालयबीच बैठक बसी छिटै निणर्य गर्ने जानकारी गराए । उनले बस्ती निर्माणमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा गैरआवासीय नेपालीहरु प्रति अभार प्रकट गर्दै लाभग्राहीहरुका तर्फबाट यस बस्तीका बासिन्दाहरु प्रति गैरआवासीय नेपालीहरुले सधैं माया गर्ने र लाभग्राहिहरु खुला दिलले गैरआवासीय नेपालीहरुलाई स्वागत गर्न आतुर रहेको समेत बताए ।
संघकै अग्रसरतामा राष्ट्रिय प्रसारण लाईनबाट बस्तीसम्म विधुतिकरणको काम अन्तिम चरणमा पुगेको र बस्ती भित्र पोल गाड्ने काम सम्पन्न भएकोमा नेपाल सरकारप्रति उनले आभार प्रकट गरे । गाउँपालिका अध्यक्षले लाभग्राहिहरुमा उद्यमशिलता बिकास गरी जीवनयापनको लागि आवश्यक पहल गरिदिनसमेत गैरआवासीय नेपालहरुलाई आह्वान गरे । र अधिकारिक रुपमा बस्ती हस्तान्नतरण गर्न वैशाख १२, २०७८ नै उपयुक्त भएको सुझावसमेत दिए ।
यस अवसरमा वडा अध्यक्षले लाभग्राहीहरुले गरेको कामवापतको रकम सिधै लाभग्राहीहरुलाई नै भुक्तानी गर्न अनुरोध गर्दै यस्तो कठिन भौगोलिक अवस्थाका वाबजुत पनि संयम र धैर्यताका साथ आफ्नो योजना अघि बढाई एउटा नमूना नै स्थापित गर्न सफल भएकोमा शब्दले मात्रै यसको प्रशंसा गर्न न्यायोचित नहुने बताए । परियोजना सह संयोजक श्याम तामाङ्गले, निमार्णसम्बन्धि भएका प्रगतिहरुका विवरण पेश गर्दै अव समयमै सम्पूर्ण कामहरु सम्पन्न हुने विश्वास व्यक्त गर्दै उपस्थित सम्पूर्ण लाभग्राहीहरुलाई धन्यवाद व्यक्त गरे । सचिवालयका कार्यकारी निर्देशकले लाभग्राहीहरुलाई गरेको कामको भुक्तानीसम्बन्धि आवश्यक प्रकृयाहरुका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार