काठमाडौं(जस)–नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसकारको सोमबारबाट ४ वर्षे कार्यकाल सकिएको छ । जाँदा जाँदै उनले आफु विभिन्न अवरोधका बावजुत पनि निगमको संस्थागत सुधारमा लागि परेको उल्लेख गरे । करिब २८ वर्ष विमान खरिद नगरेको निगमले विमान खरिदको लागि अनेक कष्ट, आलोचना, जेल र कालोमोसोको प्रवाह नगरी विमान खरिद गर्न सफल भएको कंसकारले बताए । नेपाल टेलिकममा ३४ वर्षे सेवा पुरा गरि निगममा कंसकारले पहिलो पटक २०६५कात्तिक २२ मा महाप्रवन्धकको पदमा नियुक्त भएका थिए । कंसकारकै पालामा संचालक समिति र निगम कर्मचारीहरुको सहमति र सहयोगमा ६ वटा विमान खरिद गर्न मिति २०६५मा टेण्डर आह्वान गर्न सफल भए ।

विभिन्न उल्झन र अवरोधका वावजुत दुई वटा न्यारोबडी ए ३२० विमान प्राप्त गर्न झण्डै ६ वर्षले ढिलाई हुन पुगेको कंसरकारद्धारा जारी गरिको विदाई सम्वोधन विज्ञप्तिमा भनिएको छ । उनले उक्त ६ वटा विमान योजना बमोजिम ल्याउन दिएको भए आजको दिनमा निगमसँग घटीमा १० वटा जेट विमान हुन्थ्यो र कम्तीमा पनि जापान र युरोप सन् २०१३ को शुरुमा नै उडान भैसक्ने थियो कंसकारले भन्नु भएको छ,‘ आइकाओ र इयूले नेपाललाई ब्ल्याक लिष्टमा राखेको सन् २०१३ को अन्ततिर मात्र हो र सेवा संचालन भैसकेको अवस्थामा संचालनमा रहेको गन्तब्यलाई बन्द गर्दैन ।’

२०७२ जेष्ठ १४ मा पुनःमहाप्रबन्धक पदमा नियुक्त भएर आएसँगै २ थान वाईडवडि विमान खरिदको प्रकृया अगाडि बढाएर गत वर्ष २ थान विमान काठमाडौं अवतरण गराउन सफल भए । कंसकारले आफ्नो नेतृत्वमा ग्राउन्ड हैंडलिंगमा सुधार र अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइसागो सर्टिफिकेट प्राप्त गरेको, कम्प्यूटराइजेशन, अनलाइन बूकिंग संचालनमा ल्याएकोे इन्जिनियरिंग र अप्रेशन अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर प्रणाली खरिद उपलब्धि भएको बताए । कंसकारले भने–‘सरुवा, बढुवा, तालिम र विदेशी पोष्टिंगमा न्योयोचित निर्णय लिनेमा निकै जोडबल गरेँ, निगम कर्मचारीहरुको विचार, चिन्तन, मानसिक्ता र अन्तरज्ञानमा सकारात्मक परिवर्तन ल्याउन मैले सक्दो भूमिका खेले ।’ कंसकारले करिव ४१ वर्ष दुईवटा सार्वजनिक संस्थामा काम गरेका छन् ।


