मंगलबार, पुष २८ २०७७
काठमाडौं(जस)– कतारविज्ञ प्राध्यापक मोहम्मद रमजान अलि मियाँको ‘मैले देखेको कतार’ पुस्तक प्रकाशन हुने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मियाँले उक्त जानकारी गराएका हुन । पुस्तकलाई घोस्ट राइटिङ नेपालले प्रकाशन गर्ने भएको हो । कतारमा रहेका नेपालीको इतिहास, नेपाली श्रमिकको योगदान, कतारको इतिहास लगायतका विषयमा पुस्तक केन्द्रित रहने लेखक प्रा. मियाँले बताए ।

पुस्तकमा कतारमा नेपाल, नेपालमा कतार र कतार–नेपाल(–कतार गरी तीन खण्ड रहने बताइएको छ । पुस्तकमा कतार र नेपालबीच रहेको मैत्री सम्बन्धलाई गहिराईमा गएर उत्खनन गरिएको लेखक प्रा. मियाले बताए । पुस्तकलाई माघ महिनाभित्र निकालिने घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले बताए ।

प्राध्यापक अलिले कतार नेपालको आर्थिक, भौतिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्न तयार रहेपनि नेपालमा रहेको नीतिगत अस्थिरताका कारण त्यसले मूर्त रुप पाउन नसकेको बताएका छन् । करिब १३ वर्ष कतारमा बसेका प्राध्यापक मियाँले लेखेको संस्मरणात्मक पुस्तक ‘मैले देखेको कतार’ का वारेमा जानकारी दिन आयोजित अन्तरक्रिया कार्यक्रममा उनले क्षेत्रफलका दृष्टिले सानो मुलुक भएपनि कतार आर्थिक तथा कुटनीतिक दृष्टिले महत्वपूर्ण रहेको बताए । हाल साढे तीन लाख नेपाली कार्यरत रहेको र भविश्यमा पनि लाखौ नेपाली रोजगारीका लागि जाने उक्त मुलुकसँग सुमधुर सम्वन्ध राखि लाभ लिने विषयमा नेपाल सरकार चनाखो हुनुपर्ने उनको भनाइ छ ।

आधुनिक कतारको निर्माणमा नेपालीहरु ठूलो योगदान रहेको भन्दै उनले नेपालबाट हुने उच्चस्तरीय भ्रमणका बेला कतारका नरेशले नेपालीहरुले गरेको योगादनकोे खुलेर प्रशंसा गर्ने गरेको उल्लेख गरेका छन् । नेपाली नागरिक इमान्दार, सोझा र मिहेनेती भनेर प्रशंसा गर्ने गरेकोले कतार नेपाल र नेपालीका पक्षमा रहेको रहेको आफुलाई अनुभुत भएको उनले टिप्पणी गरे । एकै खालको गल्तीमा अन्यदेशका कामदार र नेपाली कामदारहरुलाई कतारमा गरिने व्यवहार फरक छ,’उनले भने, ‘त्यही गल्तीका लागि अन्य देशका कामदारहरुलाई कारवाही गर्ने गरिएको छ भने नेपालीलाई सद्भाव र सहानुभुतिपूर्वक तत्काल विना कारवाही छोड्ने गरिन्छ,त्यसलाई मैले नेपालीले देखाएको इमान्दारीता र मेहनतको प्रतिफल ठानेको छु ।’

कार्यक्रममा घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले सभापतिको आशनबाट बोल्दै कसैको पनि कृतिले उसलाई अमर बनाउने बताए । कार्यक्रम मा बैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष हरि थापालगायत उपस्थित अन्यले उक्त पुस्तकको सफलताको शुभकामना दिएका थिए । यो प्रा. मियाको ३६ औँ कृति हो । यसअघि सेफ्टी एन्ड सेक्युरिटी इन् स्टेट अफ कतार, कतार इमिग्रेसन एन्ड रेसिडेन्स ल २००९, वर्कर्स राइट्स (अरबीबाट नेपाली भाषामा अनूदित), लेबर ल अफ स्टेट अफ कतार (अरबीबाट नेपाली भाषामा अनूदित) जस्ता पुस्तक निकालिसकेका छन् ।
लेखक : प्रोफेसर मोहम्मद रमजान अली मियाँ
मैले देखेको कतार
प्र्काशकीय
यस्तो दिन पनि आउँछ भनेर मैले सोचेकै थिइनँ ।
कतारलाई बनाउन र नेपाललाई बनाउन मद्दत गर्ने हातसँग मेरो भेट हुन्छ, मनसँग साक्षात्कार हुन्छ अनि सोचसँग एकाकार हुन्छ ।
यो मैले सोचेको थिइनँ ।
जीवन भनेकै अप्रत्याशित, अनौठो र आश्चर्यजनक हुन्छ । कहाँ, कहिले, किन, को, कतिबेला जम्काभेट हुन्छ थाहैै हुँदैन । यस्तै भयो प्रोफेसर मोहम्मद रमजान अली मियाँँसँगको भेट । मेरो र उहाँको माटो नजिकै थियो । खोला एकै थियो । प्रकृति र संस्कृतिका कुराले झन् नजिक ल्यायो । उमेरमा मभन्दा कान्छो भए पनि देख्दा मभन्दा जेठो पाएँ ।
मेरो र उहाँको जन्मथलो नजिकै भए पनि यति लामो समयपछि यसरी भेट होला भन्ने सोचेकै थिइनँ ।
समाचार पत्रको कोलममा प्रोफेसर रमजानबाट निक्लेको दिव्यवाणी “नेपालले कतार बनायो, अब पालो कतारले नेपाल बनाउने” लेखियो । झन् नजिकियो हाम्रो सम्बन्ध । पढाइ र गराइमा जीवन व्यतीत गरेका रमजानले पुस्तक लेख्ने सल्लाह दिनुभयो ।
मलाई पुस्तक आफूभन्दा प्रिय लाग्छ । आफ्नोभन्दा बढी माया लाग्छ मलाई पुस्तकको । जीवनको पुस्तक मेरो लागि महङ्खवपूर्ण कुरा हो । संस्मरण, जीवनी र आत्मवृत्तान्त र वृत्तान्त लेखेर ती पुस्तकलाई हजारौँ वर्षसम्म सुरक्षित राख्ने उद्देश्य लिएर हिँडेका छौँ हामी । घोष्ट राइटिङ नेपाल त्यही सपनाको संस्था हो । नेपाली मन र जनको भोगाइलाई दस्ताबेज बनाउने एक संस्था हो घोष्ट राइटिङ नेपाल । हामी यसमा निष्काम कर्म गरिरहेका छौँ । मान्छेलाई पुस्तकको रुपमा बदल्न हामी लागिरहेका छौँ ।
यही अभियानको महङ्खवपूर्ण कडी हो यो पुस्तक, ‘मैले देखेको कतार’ ।
यो पुस्तक कतार र नेपालको सम्बन्ध मजबुत गराउने एक दस्ताबेज हो । कतार र नेपालको मित्रता र हार्दिकतालाई मजबुत बनाएर राख्न यस पुस्तकले सहयोग पु¥याउँछ । यो पुस्तक नेपालभक्त नेपालीले कतार र नेपालीको मित्रता, हार्दिकता र समर्पणबाट सिकेको पाठ हो । कतार बनाउन नेपाली श्रमिकको योगदान र समृद्ध कतार यसमा छ ।
संसार सुन्दर छ । कारण– संसारमा सुन्दर मान्छेहरु छन् । संसार सुन्दर छ । कारण– संसारमा सुन्दर प्रकृति छ । संसार सुन्दर छ । कारण– संसारभरिका मान्छे संसारभरिकै मान्छेलाई खुसी बनाउन लागिपरेका छन् । दुःखका कुरामात्रै कति गर्ने ? सुखका कुरा पनि गरौँ । विपनाका सपनाका कुरा गरौँ । आशाको कुरा गरौँ । आशा नै सकारात्मकताको बिउ हो । सकारात्मक कुरा गरौँ । कल्पनालाई योजनामा, योजनालाई व्यवहारमा ल्याएर धेरै मान्छेले धेरै कुरा सिर्जना गरिदिएर नै संसारमा हामी सुन्दर भएर हिँड्न पाएका छौँ । यो पुस्तकमा यिनै कुराहरु छन् । पुस्तकका सम्पादक आदरणीय दाइ टङ्क पन्त, सन्तोष आचार्य, रवि भट्ट ‘रोषी’, नगेन्द्र लामा, राजाराम गौतम, अर्जुन ढुङ्गाना र प्रदिप बस्नेतलगायत सबैजनालाई धन्यवाद छ ।
महङ्खवपूर्ण समय दिएर, आफ्नो कथा भनिदिएर, पटक–पटक औँला ठड्याइदिएर यो पुस्तक तयार गर्नुहुने यसका लेखक मोहम्मद रमजान अली मियाँलाई झनै धन्यवाद छ ।
पाठकले पढेर प्रतिक्रिया दिए आभारी हुने थियौँ ।
कमल ढकाल
अध्यक्ष
घोष्ट राइटिङ नेपाल
लेखकीय
“नेपालले कतार बनायो, अब पालो कतारले नेपाल बनाउने ।”
सन् २०१५, अप्रिलको एक साँझ ।
कतारको सबैभन्दा अग्लो भवन एस्पायर टावरस्थित टर्च दोहाको पाँच तारे होटलमा बस्ने अवसर जु¥यो । मनभरि अनेकौँ कुतूहल थिए । ५१ तलाको एस्पायर टावरका नाममा प्रख्यात टर्च दोहाबाट म दिवा र रात्रिकालीन कतारी वैभवलाई नियाल्न उत्सुक थिएँ । कतारको तीन सय मिटर अग्लो भवनबाट दिवा र रात्रिकालीन कतार हेर्ने कुतूहलले टर्च दोहामा बास बसाएको थियो ।
आइकोनिक पाँच तारे होटलसमेत रहेको एस्पायर टावरमा १६३ आधुनिक कोठाहरु तथा अत्यन्त सुविधासम्पन्न स्वीटहरु छन् । प्रत्येक कोठामा आइप्याड राखिएका छन् । होटलभित्र कतारको एकमात्र घुम्ने रेस्टुरेन्ट, संसारकै अनौठो सपिङ मल, हेल्थ क्लब, विश्वविख्यात सम्मेलन गर्ने हल तथा स्वीमिङ पुलसहित हाइटेक सुविधाहरु उपलब्ध छन् । सडकमा पर्ने टर्च दोहा पुग्न हमद अन्तर्राष्ट्रिय विमानस्थलबाट चालीस मिनेट लाग्छ ।
३५ हजार स्क्वायर फिटमा फैलिएको टर्च दोहाको ४७ औँ तलामा रहेको रेस्टुरेन्टबाट दोहाको ३६० डिग्री दृश्यको आनन्द लिन पाइन्छ । यो रेस्टुरेन्ट पूरै घुम्न ९० मिनेट लाग्छ । यद्यपि ९० मिनेटमा सिङ्गो दोहा सहरको अवलोकन गर्न सकिन्छ । यहाँ अरm दुईवटा रेस्टुरेन्टहरु पनि छन् । फ्लाइङ कार्पेट र टी गार्डेन पनि यहाँ छन् र यी दुवै ठाउँ निकै झकिझकाउ देखिन्छन् ।
यहाँ धेरै कफी सप र विलासी बस्ने ठाउँहरु पनि बनाइएका छन् । यही रेस्टुरेन्टबाट झन्डै दुई घण्टा जति रात्रिकालीन गुल्जार कतार धित मर्ने गरी हेरेँ । ३०० मिटर उचाइबाट ३६० डिग्रीकै मनोरम दृश्य देखिने टर्च दोहा विश्वभरिका पर्यटक, खेलाडी, व्यवसायीका लागि स्वर्ग नै हो । रात्रिकालीन कतार जुनकिरी झैँ मधुरा र साना बत्तीले जेलिएको स्वर्गजस्तो देखिन्छ । जुनकिरीरुपी स्वर्ग र टर्च दोहाबाट देखिने रात्रिकालीन कतारमा एउटा भिन्नता छ । त्यो हो, रातमा देखिने जुनकिरीहरु चलायमान हुन्छन् तर टर्च दोहाबाट देखिने रात्रिकालीन कतारका बिजुलीरुपी जुनकिरीहरु स्थिर ।
कतारको मरmस्थलबाट बहने चिसो सिरेटोले घरी–घरी अनमोल स्पर्श गरिरह्यो । रात्रिकालीन कतारी वैभवशाली सुन्दरताको नअघाउन्जेल स्पर्श गरिरहेँ । वैभवमा पनि अनौठो स्वाद हुँदो रहेछ । टर्च दोहाको शिरबाट रात्रिकालीन कतार हेर्दा मैले अनौठो स्वाद प्राप्त गरेँ । एस्पायर जोन र भिलाजियो मलसँगै रहेको यो नमुना भवनलाई अमेरिकी नागरिक हादी अल सिमानले डिजाइन गरेका हुन् । टावरमा १७ वटा लिफ्ट छन् । सन् २००७ नोभेम्बरमा निर्माण पूरा भएको टावरको कुल लागत खर्च १३ करोड ३३ लाख ९५ हजार अमेरिकी डलर रहेको छ ।
यहाँबाट सन् २००६ मा कतारले १५ औँ एसियन गेम्सको ज्वाला प्रज्वलन गरेको थियो । यसलाई २००६ को एसियन गेम्सको सिम्बोलका रुपमा डिजाइन गरिएको छ । यसमा पाँच तारे होटल, खेलकुद सङ्ग्रहालय, स्वास्थ्य केन्द्र, स्विमिङ पुल र अत्यन्तै सुविधासम्पन्न कोठाहरु छन् । आर्किटेक्टको उत्कृष्ट नमुना यो गगनचुम्बी भवनको निर्माणमा हजारौँ नेपालीहरुको पसिना र सीप खर्च भएको छ । सन् २०११ मा टावरलाई पाँच तारे होटलमा परिवर्तन गरिएको थियो । एस्पायर भवनमात्रै होइन, यस्ता कैयौँ चामत्कारिक गगनचुम्बी र ठूला महलहरु छन् यहाँ जसले कतारले वैभवताको यात्रामा हिँडिरहेको कुरा नबोलीकनै बताउँछ ।
एकताका पुरानो पाल बजारका रुपमा परिचित दोहा अहिले व्यस्त ‘इकोनोमिक हब’ बनेको छ । १०–१५ वर्षअघिसम्म कङ्क्रिट र बालुवा उड्ने मरmभूमिको माटोमा रङ्गीचङ्गी बगैँचा र लहलहाउँदो बाली देखिन्छ । रुख–बिरmवा नदेखिने यो मुलुकमा अन्यत्रबाट माटो ओसारेरै खेतीपाती गरिएको छ । प्रत्येक आँगनमा फूलबारी र रुखका लागि उचित सिँचाइको प्रबन्ध मिलाइएको छ । खाडीका उराठलाग्दा मरmस्थल आज रमणीय मरmद्यानमा परिणत भएका छन् । कतारका चिल्ला सडक र ट्राफिक नियमको बयान गरेर त साध्य नै छैन । त्यसैले त्यतातिर लाग्दिनँ ।
कतारले एकीकृत बस्ती विकासको अवधारणालाई पूर्ण रुपमा लागु गरेको छ । राज्यको तर्फबाट हरेक नागरिकलाई समान अवसर दिइन्छ र व्यवहार गरिन्छ समान रुपमा । विभेद, पक्षपात र असुरक्षाको कुनै सम्भावना छैन भने पनि हुन्छ । कतारको समुद्रमा अकल्पनीय भौतिक पूर्वाधार निर्माण गरिएका छन् । कतारले समृद्धिमा चमत्कार नै गरेको छ । यिनै कारणले त कतार विश्वकै सुरक्षित मुलुकको सूचीमा दोस्रो नम्बरमा परेको छ । टर्च दोहाको शिरमा बहने चिसो सिरेटोसँगै आँखाभरि कतार र मनभरि नेपाल आइरहन्छ ।
सम्झिएँ– पानी नै नभएको मरmभूमि कतारमा पानीको अभाव कसैलाई महसुस हुँदैन । तर विश्वमै जलस्रोतमा विश्वको दोस्रो धनी देश नेपालको राजधानी काठमाडौँमै पिउने पानी आजसम्म पनि पर्याप्त छैन । एकछिन काठमाडौँ सम्झिएँ । सुरम्य हावा, शिवपुरी डाँडाको हरियाली, थानकोट हुँदै बग्ने आँत भर्ने चिसो सिरेटो । तर काठमाडौँ सबै भएर पनि केही नभएजस्तो, दोहा केही नभएर पनि सबै पुगेजस्तो ।
प्रकृतिले हामीलाई स्वर्ग दिएको छ । माथि सेतो हिमाल, त्योभन्दा तल पहाड, पहाडसँगै खोलानाला, झरना अनि तल तराई । स्वर्गजस्तो प्रकृति भएर पनि हामी विपन्न छौँ । यही कुरा एक कतारीलाई भन्दा उनी आश्चर्यचकित भएका थिए । स्वर्गको वर्णन मलाई नगर भन्थे । मैले त्यही कुरा भन्दा अहमद मोहम्मद अल मोहन्नदी, कतारी सेनाका ती कर्नेल यहाँ आएर एक हप्ता बसेर गएका थिए ।
सुन्दर प्रकृति नभएर पनि कतार सम्पन्न छ ।
कतारी भूमिमा पाइला टेक्नुअघि नेपाल र कतारमा यति धेरै भिन्नता होला भनेर मैले कल्पना पनि गरेको थिइनँ तर कतार र नेपालबीच आकाश–जमिनको फरक रहेछ । कतारमा राज्यको तर्फबाट नागरिक र विकास निर्माणका लागि उपलब्ध गराइने सेवा–सुविधा नेपालमा कल्पनै गर्न नसकिने किसिमका छन् । केटाकेटीको लालनपालन, शिक्षादीक्षा, स्वास्थ्य उपचार, रोजगारीदेखि स्वच्छ खानेपानी र आवासको सम्पूर्ण जिम्मेवारी सरकारले नै बेहोर्ने रहेछ । कतार सरकारले आफ्ना बेरोजगार नागरिकलाई बेरोजगारी भत्ता पनि उपलब्ध गराउँदो रहेछ ।
धेरै फरक देखेँ मैले टर्च दोहामा उभिएर हेर्दा ।
तर कुनै बेला सानो स्वर्गको टुक्रा थियो काठमाडौँ ।
बाल्यकालमा म यस्तै अनुभूति गर्थें । स्वस्थ पानी, प्रदूषणमुक्त हावा, थोरै घर भएका साना सहर । तर अहिले खाल्टाखुल्टी, धूलैधूलो र अव्यवस्थित घरले कङ्क्रिटको जङ्गलमा परिणत भएको छ काठमाडौँ । कुनै बेला सुन्दरताको प्रतीक लाग्ने काठमाडौँ अहिले एकदमै कुरुप भइसकेको छ । जबजब म काठमाडौँ ओर्लिन्छु, यो कुराले कटक्क मन खान्छ । भित्रभित्रै कताकता गहिरो पीडा हुन्छ । दोहा विमानस्थल पुग्दा र कतारको समृद्धि हेर्दा फेरि पनि मलाई काठमाडौँ दुख्छ र नेपाल सम्झिन्छु । कतारको हमद अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै ठूलो विमानस्थलमध्ये एक हो । यहाँमात्र चार हजार नेपाली काम गर्ने गर्छन् । यो विमानस्थल बनाउन नेपालीहरुले रगत र पसिना बगाएका थिए भने अहिले सञ्चालनको कार्यमा पनि नेपालीहरुको रगत र पसिनाको इन्धन प्रयोग भइरहेको छ । यी सबै थाहा पाएर पनि कहिलेकाहीँ मनले बेइमानी गर्छ । आँखाभरि थाहा नपाई आँसु टल्पलाउँछ । काठमाडौँको कुरुपताप्रति म खूब घोत्लिन्छु । सोच्छु– हामी कहाँ चुक्यौँ ? एउटा स्वर्गलाई कसरी कङ्क्रिट भूमि बनायौँ र परिवर्तन ग¥यौँ हामीले धूवाँधूलोको जङ्गलमा ?
कसलाई दोष दिने ? जिम्मेवार निकाय ? राजनीतिक दल ? काठमाडौँवासी ? वा हामी सबै नेपाली ?
काठमाडौँ आज विरुप भएकोमा हामी सबै उत्तिकै दोषी भएजस्तो लाग्छ । तर सबैभन्दा बढी दोषी राज्य छ । जो–जो सत्तामा आए, तिनीहरु नै सबैभन्दा बढी काठमाडौँको मौलिकता विनाशका कारक बने । तिनीहरुले कहिल्यै काठमाडौँको प्राचीन बनावट, सौन्दर्य र मौलिकतालाई जोगाउन खोजेनन् । र, काठमाडौँको सभ्यताको मुहान बनेर बग्ने बागमती र विष्णुमतीलाई डङ्गुरमतीमा रुपान्तरित गरिदिए ।
कतारले ठूलाठूला भवनहरु भत्काएर पुनः सहरलाई आफ्नै मौलिकतातर्पm ल्यायो । बाँस र बाँसको मान्द्रोले बेरिएको, ढुङ्गाले निर्माण गरिएको अनि काठको दलिन निकालेका घरहरु बनाएर विश्वलाई मौलिकतातर्पm फर्कनुपर्छ भन्ने सन्देश सुक वाफिक (कतारी मौलिक बजार) मार्पmत कतारले दिएको छ । तर पचास वर्षअघिसम्म पनि सिमेन्ट नछिरेको काठमाडौँलाई हामीले कङ्क्रिटमाडौँ बनाएका छौँ ।
जथाभावी, जस्तो सुकै तरिकाले नागरिकलाई घर बनाउने अधिकार दिएर सरकारले त्यति सुन्दर काठमाडौँलाई सिमेन्ट र रडको जङ्गल बनाइदियो र सकाइदियो काठमाडौँको हरियाली पूर्णतया ।
जिम्मेवार पक्षले कहिल्यै सुन्दर र व्यवस्थित काठमाडौँको परिकल्पना गरेनन् । समृद्ध सहर निर्माणको गुरmयोजना बनाएनन् । बने पनि कागजमा मात्र सीमित रह्यो । व्यक्ति समृद्ध भए तर उनीहरुले आफ्नो जिम्मेवारीको बोध गरेनन् । कतारले थोत्रो पाल बजारबाट दोहालाई समृद्ध बनायो । आधुनिक र आर्थिक हब बनायो । कतारी सत्ताधारी राज्य सञ्चालकको ध्यान मुलुकको निर्माणतर्फ अग्रसर भयो । उनीहरुले कतारी कायाकल्पको कोरियोग्राफी गरे र त्यसलाई व्यवहारमा उतारे । परिणामतः कतार अहिले विश्वको एकदमै समृद्ध मुलुकमध्ये एक बनेको छ । र, आधा कतारको निर्माणमा सङ्लग्न नेपालीहरु अग्ला भवन, चिल्ला सडक तथा निर्माणदेखि खेती, पशुपालन, सेवाप्रदायक, सरसफाइ, ड्राइभिङ, इन्जिनियरिङ र अन्य विविध क्षेत्रमा सक्रिय छन् ।
कतारी राज्य सञ्चालकले गरेको आधुनिक कतारको कोरियोग्राफीमा रङ्ग लगाउने, बुट्टा भर्ने, ब्लक र गारो लगाउने काम नेपालीहरुले गरिरहेका छन् । अहिले पनि करिब चार लाख नेपाली कतारको निर्माण, कृषि, उद्योग, फार्महरुमा रोजीरोटीका लागि सक्रिय छन् । एक अध्ययनका अनुसार हालसम्म एक करोड नेपालीका पाइला कतारी भूमिमा परिसकेका छन् ।
सन् २०११ देखि सन् २०१२ को अवधिमा १ लाख ३ हजार ३७१ नेपाली रोजीरोटीका लागि कतारी भूमि पुगेका थिए । देख्थेँ– कोही पचासौँ तलामाथि ब्लक लगाइरहेका छन्, कोही बालुवा ओसारिरहेका छन् । कोही आधुनिक कतारको इन्जिनियरिङ गरिरहेका छन् । कोही पचासौँ तलाको स्काफ फोल्डिङमा झुन्डिएका छन् । कोही कतारलाई हरियाली बनाउन फूल रोपिरहेका छन् भने कोही बालुवामा तरकारी फलाइरहेका छन् ।
कतारको त्यस्तो गर्मीमा काम गरिरहने ती हातहरु मेरै नेपालीका थिए ।
कतारका सबै क्षेत्र, तह र तप्कामा नेपाली पुगेका छन् । कतारको कुनै कुना–कन्दरा छैन जहाँ नेपाली नपुगेको होस् । कतारको कुनै त्यस्तो काम छैन, जुन नेपालीले नगरेको होस् । आफ्नो जीवनलाई हत्केलामा राखेर पचासौँ तलामाथि भवन खडा गर्न तल्लीन छन् नेपाली । कतारी चमत्कारका वाहक बनेका नेपालीको परिश्रम कतारको समृद्धिमा झल्किन्छ ।
परिश्रमी र बहादुर नागरिक, अथाह प्राकृतिक स्रोत, उब्जाउ भूमि, प्राकृतिक सुन्दरता, सानो देश र थोरै जनसङ्ख्या नेपालका सबैभन्दा सबल पक्ष हुन् । सबल पक्ष नै समृद्धिको यात्राको खुड्किला ठान्छु म । त्यसकारण नेपालका लागि समृद्धि सुदूरको परिकल्पना होइन तर अहिले नेपालीका लागि समृद्धि टाढाको परिकल्पना बन्न पुगेको छ ।
१० अर्बमा ५ वर्षभित्र बनाइसक्ने सीमा तोकिएको आयोजना २० अर्बमा १० वर्षसम्म पनि पूरा हुँदैन । एक वर्षमा पूरा हुने आयोजना २ वर्ष पुग्दासम्म सुरm नै भएको हुँदैन तर त्यसमा राज्य र सरोकारवाला निकाय ‘तैँ चुप मैँ चुप’ को अवस्थामा टुलटुल हेरेर बस्छन् । जो काम गर्दैन र आफूले गरेको वाचालाई कार्यान्वयन गर्दैन, त्यही व्यक्ति राज्यलाई थर्काउँछ, “यति बजेट थप नगरे हामी काम गर्न सक्दैनौँ ।”
त्यस्तो अवस्थामा पनि राज्य निरीह बनिदिन्छ । यसैबाट थाहा हुन्छ कि हाम्रो राज्यको संयन्त्र कति कमजोर छ, कानुनको पालनामा जिम्मेवार व्यक्तिहरुले कति लाचारी प्रकट गरिरहेका छन् । यस्ता अनगिन्ती विसङ्गति नेपालमा विद्यमान छन् र यी नै विसङ्गति विकासका लागि बाधक बनिरहेका छन् । यही कारणले गर्दा कतारको समृद्धिमा रगत र पसिना बगाइरहेका नेपालीले न आफ्नै देशको निर्माणका लागि पसिना बगाउने अवसर पाएका छन् न सिर्जनशील नेपाली हातले समृद्ध नेपालको परिकल्पना नै गर्न पाएका छन् ।
मैले देख्दादेख्दै कतारले विकासको बुर्कुसी मा¥यो । तर नेपालले भने मैले देख्दादेख्दै भीरबाट झ¥यो । अब दुई तिहाइको नयाँ सरकार आएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारामा लगाएको छ । मेरो पनि लक्ष्य मेरो देश समृद्ध बनोस्, मेरो देशका जनता सुखी बनून् भन्ने नै हो ।
मैले देखेको कतारबाट म नेपाल हेरिरहेछु । कर्मथलो कतार र जन्मथलो नेपालबीच केही साइनो गाँस्न म दौडिरहेको छु । मेरो पनि लक्ष्य, चाहना र योजना एकै छ– समृद्ध नेपाल सुखी नेपाली । सरकारले ल्याएको एजेन्डामा यो पुस्तकले, मेरा भोगाइ र गराइका अनुभूतिहरुले अक्षरमार्पmत केही कदम थप्यो भने म एकदमै खुसी हुनेछु ।
कतारको निर्माणमा साझेदारीको भूमिका निर्वाह गरेका मिहिनेती, परिश्रमी, इमान्दार नेपालीहरुको इतिहास बनाउने ऐतिहासिक दस्ताबेज हो यो प्रस्तुत पुस्तक, ‘मैले देखेको कतार’ । यस पुस्तकले धेरै जानकारी दिन नसके पनि कमसेकम हाम्रा पुर्खा कतार गएका थिए, कतारमा बसेका थिए, कतार बनाउन परिश्रम गरेका थिए, कतार भन्ने देश कसरी सुरm भएको थियो भन्ने कुरा आगामी पुस्ताले पनि जान्ने अवसर पाऊन् भनेर लेखिएको हो । यो बौद्धिक सम्पत्ति हो कतारमा रहेका चार लाख पचास हजार नेपालीहरुको । यसमा ती सबै परिश्रमी हातहरुको नाम छैन तर यस किताबभित्र आजसम्म कतारको निर्माणमा लागेका उर्जाशील श्रमिकहरुको अतुलनीय भूमिका भने जीवित बनेर रहेको छ ।
यस किताबको उद्देश्य समस्त पाठकलाई नेपाली श्रमिकहरुले दशकौँदेखि आफ्नो क्षमता र सीप खर्चेको, रगत पसिना बगाएको कर्मभूमि कतारबारे जान्ने बुझ्ने अवसर दिनु नै हो । कतारका आप्रवासी नेपालीहरु आफ्नो देश बनाउने क्रममा कतारको भूमिमा कसरी दिनचर्या बिताउने गर्दथे र विभिन्न कालखण्डमा कुन–कुन अवस्थाबाट गुज्रेर आफ्नो सन्तानको भविष्य उज्ज्वल पार्न लागिपरेका थिए भन्ने यथार्थ कुरालाई वर्णन गर्न यो पुस्तक तयार पारिएको हो ।
खाडीको सानो राष्ट्र जो विश्वको नक्सामा आशा र भरोसाको किरण बनी लाखौँ आप्रवासी र ती आप्रवासीमा आश्रित परिवारलाई खुसी बाँडिरहेको छ, त्यो मुलुकका बारेमा जानकारी गराउन, कतारको समृद्धि र विकासका कथा सुनाउन, कतारले हासिल गरेको उपलब्धिमा नेपालीले गरेको योगदानको गाथा सुनाउन र विभिन्न कालखण्ड र इतिहासमा कतार कुन र कस्तो अवस्थाबाट गुज्रेर विभिन्न आरोह–अवरोहका बीच आज विश्वसामु आफ्नो दरिलो उपस्थितिका साथ समृद्धि र विकासको मार्गमा दौडिरहेको छ, त्यो वर्णन गर्न यो पुस्तक आज तपाईंहरुको हातसम्म पुगेको हो ।
यो पुस्तक ‘मैले देखेको कतार’ वास्तवमा इतिहासलाई बचाउनका लागि तयार पारिएको अर्को इतिहास हो । यो पुस्तक मेरो मात्र नभएर कतारमा श्रम गर्ने, पसिना बगाउने ती लाखौँलाख कर्मठ, पौरखी, इमानदार र मिहिनेती नेपालीहरुको श्रमले लेखेको ऐतिहासिक दस्ताबेज हो । र, हो यो समृद्ध कतार निर्माणमा श्रमिकको हैसियतले भन्दा पनि साझेदारीको भूमिका निर्वाह गर्ने नेपालीहरुको साझा सम्पत्ति ।
नेपालमा पनि पुस्तक लेख्ने संस्था आइसकेछ । म आफैँ साहित्यमा एम.ए. गरेको र तीसवटा पुस्तकको लेखक भए पनि मैले पछिल्लो दिनमा लेख्न समय दिन पाएको थिइनँ । घोष्ट राइटिङ नेपालले मेरो त्यो इच्छा पूर्ण गरिदियो ।
मलाई यस कार्यमा सहयोग पु¥याउने घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल जसले किताब बनाउन घच्घच्याए, वरिष्ठ पत्रकार टङ्क पन्त, वरिष्ठ पत्रकार मित्र सन्तोष आचार्य, अनन्य मित्र नवराज अधिकारी, रवि भट्ट ‘रोषी’, त्यसैगरी मलाई समय–समयमा कतार–नेपाल सम्बन्ध र आयामबारे बताउने नेपालका लागि कतारी महामहिम राजदूत युसुफ मोहम्मद अल हैल, कतारका पूर्व राजदूत जासिम अहमद अल हमरलगायत नेपाल तथा कतारका विभिन्न मन्त्रालय र सम्बन्धित विभागका पदाधिकारीहरु, कतारस्थित विभिन्न सामाजिक सङ्घ–संस्थाका प्रमुख एवम् नेपाली समाजका अग्रजहरुलाई विशेष धन्यवाद ।
मलाई घरेलु जिम्मेवारीबाट टाढा राखी किताब लेख्न सहयोग गर्ने मेरी श्रीमती आम्ना खातुन मियाँलाई प्रेमपूर्ण धन्यवाद छ ।
कतारको वैभव बढाउन खटिने नेपालका लागि कतार ले पनि केही गर्न चाहन्छ । नेपाल पनि कतारका लागि अझ धेरै गर्न इच्छुक छ । त्यसैले मैले भन्ने गरेको छु, “नेपालले कतार बनायो, अब पालो कतारले नेपाल बनाउने ।”
मेरो अबको बाटो, यात्रा र सपना यही नै हो ।
धन्यवाद ।
मोहम्मद रमजान अली मियाँ
हाल दोहा, कतार
६ फेब्रुअरी २०२०
विषयसूची
खण्ड १ – कतारमा नेपाल
१) कतारमा नेपालीहरुको सङ्क्षिप्त इतिहास
२) ‘मिनी नेपाल’ को विगत र वर्तमान
३) कतारका नेपाली
४) कतारका नेपाली, कविदेखि रेगिस्तानी कविसम्म
५) कतारका नेपाली साहित्यिक संस्थाहरु
६) नेपाली स्वाद, नेपाली सञ्चार
७) कतारका नेपाली व्यवसायी
८) कतारी बजारका नेपाली ग्राहक
९) कतारका नेपाली सङ्घ–संस्था
१०) एनआरएनए कतार
११) प्रवासी नेपाली मञ्च
१२) जनसम्पर्क समिति कतार
१३) कतार–नेपाल एकता समाज ९त्तबतबच–ल्भउब िग्लष्तथ क्यअष्भतथ०
१४) कास्की आदर्श समाज
१५) मोरङ–सुनसरी सेवा समाज
१६) अर्घाखाँची सेवा समाज
१७) कतारमा जुर्मुराउँदो दाह्री ग्याङ कुरीति उन्मूलन समिति
१८) कतारका नेपाली कथा–व्यथा
१९) जिउँदा पठाउने, लास उठाउने
२०) समस्यामा नेपाली
२१) सन् २०१४ को एक दिन
२२) कतारमा नेपाली नारीहरु
२३) समस्या समाधानका उपाय
२४) अरब पठाउन अरबिक भाषामा जोड
२५) नेपाल—कतार सम्बन्ध
२६) नेपाली नियोग
२७) हियरिङ एन्ड सेयरिङ
२८) कतारका नेपाली महामहिमहरु
खण्ड २ – कतारमा कतार
१) आरम्भ
२) कतारको सङ्क्षिप्त इतिहास
३) कतारको अर्थव्यवस्था
४) कतारको जिडिपी
५) कतारको खुल्ला बजार
६) कतारको कृषि
७) पूर्वाधार
८) गैर—हाइड्रोकार्बनको विदेश व्यापार
९) आर्थिक र कूटनीतिक प्रतिबन्धको सामना
१०) कतार सरकार
११) व्यापारिक वातावरण
१२) समृद्धिमा कतार
१३) सन् २०१८ को पूर्वाधार परियोजना
१४) स्वामित्व
१५) राष्ट्रिय तथ्याङ्क
१६) नम्बर ९९९
१७) अस्पताल परिसर
१८) उत्कृष्ट पुरस्कार
१९) कतार राष्ट्रिय पुस्तकालय
२०) कतारको उर्जा क्षेत्र
२१) पानी भण्डारण
२२) सौर्य उर्जा
२३) श्रम शिविरहरु
२४) सफलता, उत्कृष्टता र उपलब्धिहरुका साथ एक उज्ज्वल वर्ष
२५) फिफा व्यवस्थापन आयोजना र सम्पन्न गर्ने उच्च समिति
२६) सिदरा मेडिसिन
२७) भूगोल, जनसङ्ख्या, पर्यावरण र हावापानी
२८) तेल र ग्यासले मजबुत अर्थतन्त्र
२९) कतारको सञ्चार जगत
३०) अल थानी परिवार र उत्तराधिकारी
३१) कतारी राजाका वंशबारे मैले बुझेका पक्षहरु
३२) कतारी शासक तथा अमीरहरु
३३) कृत्रिम वैभवको धनी
३४) कतारी खाना
३५) कतारका प्रमुख औद्योगिक सहरहरु
३६) कतारको कानुन तथा नियमावलीका केही आधारभूत कुरा
३७ कतारको कानुन प्रणाली र श्रम कानुन
३८) काफला प्रणाली के हो ?
३९) कतारमा रोजगारीको विषयमा जान्नुपर्ने कुराहरु
४०) परिचय पत्र
४१) दोहोरो राष्ट्रियता
४२) कतारको ट्राफिक नियम
४३) गैर–भुक्तान बिल र बाउन्स चेक
४४) धुम्रपान, मद्यपान तथा लागुऔषध
४५) कतारको पहिरन तथा अन्य व्यवस्था
४६) कतारमा अपराध
४७) कतारमा रमजान
४८) डिपेन्डेन्ट र फेमिली भिसा प्रक्रिया
४९) कतार भिसा सेन्टर
५०) कतारको शिक्षा, विश्वविद्यालय तथा शैक्षिक संस्थाहरु
५१) कतारमा यातायात सेवा
५२) कतारी जीवनशैली
५३) कतार भ्रमण गर्न चाहनेहरुले जान्नुपर्ने कुराहरु
५४) कतारमा बिदा
५५) कतारका राष्ट्रिय परियोजनाहरु
५६) दिगो विकास लक्ष्यमा कतारको स्थिति
५७) कतारका रङ्गशालाहरु
५८) कृत्रिम जलाशय र टापु
५९) पर्ल कतार (लुलु)
६०) लुसेल सहर
६१) धार्मिक उदारतामा कतार
६२) मानव अधिकार
६३) कतारमा सरकार सञ्चालन प्रणाली
६४) संविधान
६५) जनसंसद् (अलशाब)
६६) कतारको राष्ट्रिय दिवस
६७) मान, पदवी तथा अलङ्कार
६८) अमीरी दिवान
६९) कतारमा भन्सार नियम
७०) विवाह र परिवार
७१) महिला–पुरmष विभेद
७२) कतारको राष्ट्रिय चिह्न
७३) सुधारोन्मुख कतारी श्रम बजार
७४) स्थायी बसोबास अनुमति
७५) सहयोगी कतार
७६) कतारमा सन् २०२२ को विश्वकपको प्रभाव
७७) वर्तमान समयका कतारी हिरोज
७८) कतारका आकर्षणहरु
७९) अन्य आकर्षणहरु
८०) कतारका विशेष कार्यक्रमहरु
८१) अल शाकब
८२) कतारी उँटका तथ्यहरु
८३) अल मताहिफ : आधुनिक कलाको अरब सङ्ग्रहालय
८४) हमद अन्तर्राष्ट्रिय विमानस्थल
८५) हमद पोर्ट
८६) कतार फाउन्डेसन
८७) अल मज्द राजमार्ग (अर्बिटल हाइवे)
८८) मुशैरिब डाउनटाउन
८९) कतार नेसनल लाइब्रेरी
९०) आतङ्कवाद विरोधी अभियानमा ऐक्यबद्धता
९१) सुरक्षा क्षेत्र ः कतार प्रहरी
९२) स्वास्थ्य क्षेत्र
९३) विदेश नीतिका उपलब्धि
९४) कतारमा महिला, वृद्धवृद्धा र बालबालिका
९५) कतारमा नाकाबन्दी
९६) म कतारमा
९७) नागरिक जनसम्पर्क विभाग
खण्ड ३ – नेपाल–कतार
१) कतारसँग नेपाल जोड्ने प्रयास
२) फुटबलसँग नेपाली साइनो
३) फायर बिग्रेडजस्तो म
४) दिन जान्ने, लिन नजान्ने
५) नियतिसँग पौँठेजोरी
६) रेमिट्यान्सका कुरा
७) अब पालो कतारले नेपाल बनाउने
८) सहकार्यतिर नेपाल–कतार
९) अबको रणनीति
१०) जनस्तरीय सम्बन्ध
११) नेपाल–कतारबीच हस्ताक्षर भएका सम्झौताहरु
१२) सम्भावनै सम्भावना
१३) हामी कहाँ चुक्यौँ ?
१४) निष्कर्ष
खण्ड १ – कतारमा नेपाल
१) कतारमा नेपालीहरुको सङ्क्षिप्त इतिहास
नेपाल आज नेपालमा मात्र छैन । नेपाल आज विश्वभरि फैलिसकेको छ । कतारमा कतारी जनसङ्ख्याभन्दा बढी नेपाली छन् । यस्तो लाग्छ– कतारमा सिङ्गो नेपाल छ, जात छ, धर्म छ, सम्प्रदाय छ, चाडबाड छ, लिङ्ग र वर्ण पनि छ । सानो तर सम्पूर्ण नेपाल कतारमा छ । श्रमिक छन् । दक्ष श्रमशक्ति छन् । व्यवसायी छन् । कामदार छन् । घरेलु कामदार छन् । उद्यमी छन् । उद्योगी छन् । आयातकर्ता छन् । निर्यातकर्ता छन् । साझेदार छन् । सहकर्मी छन् । साहू छन् । बिचौलिया छन् । नेता छन् । अभिनेता छन् । लेखक छन् । पत्रकार छन् । कवि छन् । कलाकार छन् । साहित्यकार छन् । मजरामा नेपाली छन् । भेडीगोठमा नेपाली छन् । यहाँ पार्टीका वर्गीय सङ्गठनहरुमात्र छैनन् मेचीदेखि महाकालीसम्मका छुट्टाछुट्टै आवाज समेटिएका विभिन्न नेपाली समूहहरु छन् ।
भलो गर्ने नेपाली छन् । कुभलो गर्ने पनि नेपाली नै छन् । दिदीबहिनी छन् । दाजुभाइ छन् । त्यहीँ गएर विवाह गर्ने नेपाली पनि छन् । कथाव्यथा नेपालीका धेरै छन् यो कतारमा । त्यसैले लाग्छ– नेपाल कतारमै छ ।
नेपालीहरु हरेक व्यवसायमा छन् । सहरमा छन् । गाउँमा छन् । बन्दीगृहमा छन् । जहाँतहीँ छन् नेपाली । कतारमा बनेका सबैजसो भवनमा र कतारको बालुवाको कण–कणमा नेपाली पसिना मिसिएको छ ।
कतारमा सायदै कुनै यस्तो भवन वा सडक होला जसमा नेपाली श्रमिकको पसिना नपोखिएको होस् । मानाँै हरेक ढुङ्गामा नेपाली पौरखी र परिश्रमी हात परेको छ । त्यसैले लाग्छ– कतारमा एउटा सानो नेपाल छ ।
२) ‘मिनी नेपाल’ को विगत र वर्तमान
कतार पुगेका पुराना दुई नेपाली भेटिएका थिए । उनीहरु भन्थे, “जब हामी पहिलोपटक दोहा आएका थियौँ, तब यहाँ इन्डियन पैसा चल्थ्यो ।”
मैले तीमध्ये एकजनालाई सोधेँ, “तपाईं किन यहाँ आउनुभएको थियो ?”
“म एउटा अरबीको घरमा काम गर्न आएको थिएँ ।”
उनले कतार प्रवेशको स्मरण गर्दै अतीतका पाना पल्टाउन थाले । ती अरबीको एउटा सानो कम्पनी रहेछ जहाँ दस–पन्ध्रजना काम गर्दा रहेछन् । केही समयपछि त्यहाँ काम गर्ने कामदारहरुमध्ये उनी सबैभन्दा पुराना भएछन् । त्यसपछि उनलाई उक्त कम्पनीमा काम गर्ने सबै कर्मचारीहरुको रेखदेख गर्ने जिम्मा दिइएको रहेछ । उनीबाटै थाहा पाइयो कि सन् १९७० को दशकमा पहिलोपटक लमजुङका एक नेपाली भारतबाट पानीजहाजमा बहराइन हुँदै कतार पुगेका रहेछन् ।
“मैले ४–५ जना नेपालीलाई दोहामा भेटेँ । कहिलेकाहीँ शुक्रबार हाम्रो भेटघाट हुन्थ्यो ।”, उनले भने ।
मैले मनमा सुलसुले बनिरहेको प्रश्नको निवारणको आशामा सोधेँ, “त्यतिबेलाको कतार कस्तो थियो ?”
“यहाँ यत्रा बिल्डिङ थिएनन्, गाउँजस्तो थियो । मलाई सुरmमा आउँदा काठमाडौँ ठूलो लाग्थ्यो, दोहा सानो ।”, उनले सुनाए ।
त्यतिबेलाको दोहामा सानासाना झोपडी र दलिन निकालेका घर थिए रे । अरब मुलुकका अन्य कामदारहरु पनि सामान्य काम गर्थे रे । अरब मुलुकका अन्य नागरिक र इरानीहरु ठेलागाडामा सामान बोक्थे रे । भनिन्छ– दोहाको पहिलो रेस्टुरेन्ट ‘बिस्मिल्लाह’ हो । अहिले पनि त्यो त्यहाँको पर्यटकीय बजार सुकुवाकफमा रहेको छ । आप्रवासीले इरानी मार्केट भनेर चिन्ने सुकुवाकफ कतारकै नमुना व्यापारिक स्थलको रुपमा रहको छ । किनभने त्यहाँ काम गर्ने अधिकांश कामदार इरानी थिए । सुकुवाकफमा अहिले पनि त्यो ‘बिस्मिल्लाह रेस्टुरेन्ट’ छ । जब त्यो पहिलो रेस्टुरेन्ट कतारमा खुल्यो, अरबीहरु यहाँ मीठोमीठो खान पाइन्छ भनेर हेर्न आउँथे रे । अनि केही सामान किनेर फटाफट खान्थे र १० रियाल तिरेर भागिहाल्थे रे । जबकि उनीहरुले ५ रियालको पनि खाएको हुँदैनथे रे । तर धेरै खाए धेरै पैसा तिर्नुपर्छ भनेर १० रुपैयाँ फालेर भागिहाल्ने गर्थे रे ।
यस्तो ‘रे’ को कथा सुनाउने ती नेपाली कहाँ छन् थाहा छैन । तर आज पनि तीमध्ये केही कमर्ठ हातहरु कतार बनाउन पसिना बगाइरहेका छन् । उनीहरुले भनेको कुरा मेरो दिमागमा अहिले अक्षर बनेर उत्रिरहेको छ ।
कहिलेकाहीँ लाग्छ, म नेपालमै छु । नेपाली भाषा नेपालीपन कतारको एयरपोर्टदेखि नै सुरm हुन्छ । यो मरmभूमिमा एक नेपाली अरु नेपालीसँग मस्त नेपाली भाषामा कुरा गर्न पाउँदा म आनन्दित हुन्छु । नेपालीमै नेपालीलाई बोलाउँदा, मेरो देशको टोपी लगाएर म सानले हिँड्दा र नेपाली खाना खाँदा म कतारमा छु झैँ नै लाग्दैन । फेरि अध्यागमन भिसाले मात्र ए यो कतार हो है जस्तो लाग्छ ।
स्वतन्त्रताको त्यो समय सन् २००७ बाट सुरm भएको पासपोर्ट बनाउने गति प्रजातन्त्रको पुनस्र्थापनापछि चितुवा झैँ कुद्न थाल्यो । मध्यपूर्वी मलेसिया, मकाओमात्र नभएर मौरिसस र अफ्रिकाको मोगावोलगायतका देशमा पनि प्रशस्त नेपाली छन् । दक्षिण अफ्रिकादेखि अमेरिकासम्म, चिलीदेखि चीनसम्म, संसारका धेरै देश र महादेशहरुमा नेपालीले ‘मिनी नेपाल’ निर्माण गरेका छन् । अष्ट्रेलियामा नेपाल महोत्सव हुन्छ । बेलायतमा पशुपतिनाथको मन्दिरमा मेला लाग्छ । जापान, हङकङ र चीनमा नेपाली साङ्गीतिक साँझले सप्ताहान्त नेपालीपनका महफिल सिर्जना गरिरहेका हुन्छन् । अमेरिकाको नासादेखि गुगल र फेसबुकसम्मका हटकेक अनुसन्धान र प्रविधिका अफिसमा पनि नेपाली युवाको दिमागी कौशलको तरङ्ग देखिन्छ । मध्यपूर्वको कतारमा पनि नेपालीको तथ्याङ्क दिनानुदिन थपिँदै गएको छ ।
सन् २००७ को तथ्याङ्कका अनुसार कतारको कुल जनसङ्ख्यामा १६ प्रतिशत नेपाली छन् । तथ्याङ्कअनुसार कतारमा कतारी नागरिकको सङ्ख्या तीन लाख र केही हजारमात्रै छ । कतारीभन्दा भारतीय नागरिक ३४ प्रतिशत बढी छन् । त्यसपछिको ठूलो सङ्ख्या नेपालीहरुकै हो । अरबी वा गैर–कतारीको सङ्ख्या १३ प्रतिशत र फिलिपिञनोको सङ्ख्या ११ प्रतिशत छ । श्रीलङ्काली र बङ्गाली क्रमशः ५÷५ प्रतिशत छन् भने ४ प्रतिशत पाकिस्तानी छन् । कतारमा यीबाहेक अन्य देशका नागरिक १२ प्रतिशत छन् ।
कतारमा रहेका अधिकांश नेपालीले सामान्य जीवनयापन गर्छन् । आर्थिक समस्याका कारण जन्मभूमि र आफन्तबाट छुट्टिएर सात समुद्रपारिको आँगनमा बाध्यतावश पुगेका नेपालीको जीवनयापन सामान्यदेखि असामान्यसम्म छ ।
प्रचण्ड गर्मीमा जोखिमपूर्ण काम गरी परिवारको लालनपालन, शिक्षादीक्षा एवम् अन्य व्यवहारिक दायित्व बोकेर कतारी भूमि पसेको हुँदा अधिकांश नेपालीको जीवनमा तडकभडकको सामान्य छनक पनि पाइँदैन । निरन्तरको काम र आकर्षक आम्दानी नभएकाले विलासी जीवन स्वैरकल्पनामात्र हुन पुग्छ । कतारका अधिकांश नेपालीको जीवनशैली सादगीपूर्ण छ ।
समस्यालाई हाँसोले जित्ने नेपाली पारा मरmभूमिमा पनि प्रस्ट देखिन्छ । सामान्य जीवनशैली र कडा परिश्रमबीच एक चिम्टी मुस्कानले आफ्नो मौलिक परिचय बाँड्न खप्पिस नेपालीहरु कतारमा शोभा छरिरहेका हुन्छन् ।
कतारमा केही उच्च र मध्यम स्तरका नेपाली छन् । तीमध्ये कोही व्यवसायमा छन् त कोही राम्रो कम्पनीको आकर्षक पदमा जागिरे छन् । केही नेपाली दोहामा आफ्ना परिवारसहित बस्दै आएका छन् । पूरै परिवारसहित बस्ने नेपालीमध्ये अधिकांश व्यवसायमा सङ्लग्न छन् । तीमध्ये केही नेपालीको जीवनशैली हाईफाई पनि छ । कतारमा सम्पन्न वर्गका लागि सुखपूर्ण जीवन व्यतीत गर्ने अनुकूल वातावरण छ ।
‘चमत्कारी समृद्धि’ हासिल गरेको कतारमा सम्पन्न वर्गका लागि युरोप र अमेरिकाभन्दा कम सुविधा छैन । त्यस्तो जीवन जिउने नेपालीको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।
बढीजसो नेपाली कामदार अदक्ष हुन्छन् । कतारमा सबैभन्दा ठूलो रोजगारीको अवसर निर्माण क्षेत्रमै छ । त्यसकारण अधिकांश नेपाली निर्माण क्षेत्रका कम्पनीमा कार्यरत छन् । सबै गल्ली तथा कुनाकानीहरुमा नेपाली छन् । कतारमा नेपाली नपुगेको ठाउँ सायदै होला । स–साना चिया पसलदेखि ठूला सपिङ सेन्टरसम्म नेपालीमै बोले पनि फरक पर्दैन । कसै न कसैले त जवाफ फर्काइ नै हाल्छ । कोही न कोही नेपाली त हुन्छन् नै ।
कतारका प्रवासी नेपालीको जीवन दिनप्रतिदिन सरल र खुकुलो बन्दै गइरहेको छ । कतारमा नेपालीपन झल्किने पोसाकमात्रै छैनन्, नेपाली स्वादले पनि आफ्नो बजार विस्तार गर्दैछ । कतारी भूमिमा नेपाली मौलिक परिकारको स्वाद पस्कने नेपाली रेस्टुरेन्ट दिनदिनै बढिरहेका छन् । कतारी मरmभूमिमा नेपाली ढिँडो भेटिन थालेको छ । नेपाली बाँसको तामाको अचार, गुन्द्रुक र भटमासको स्वाद कतारी थालमा चाख्न पाइन्छ । नेवारी खाजा सेट, सेलरोटी र मम पनि लोकल परिकारको मेनुमा अँटिसक्यो । कतारमा यस विषयमा धेरै नेपाली लेखहरु पढ्न पनि पाइन्छ ।
जुमारात (शुक्रबारको अघिल्लो बिहीबारे रात) कतारको रमाइलो रात हो । बिदाको अघिल्लो दिनको साँझ ढल्दै जाँदा रमाइलो बढ्दै जान्छ । श्रमका लागि शुक्रबार निक्लन नपर्ने भएकाले बिहीबारको रात रमाइलो मानिन्छ । अधिकांश नेपाली बिहीबार साँझदेखि नै आफन्तजन वा साथीभाइ भेला भई मीठो–मसिनो खान र सुख–दुःख बिसाउन यो रातलाई महङ्खवका साथ उपयोग गर्ने गर्दछन् । शुक्रबारको दिन सरकारी बिदा हुन्छ जसका कारण अधिकांश कम्पनी बन्द नै हुन्छन् । कुनै चाडपर्वभन्दा कम हुँदैन, मैले देखेको कतारमा जुमारात ।
विगतमा अलपत्र परेकाहरुको उद्धारको प्रारम्भ यस्तै ठाउँहरुबाट हुने गर्दथ्यो । मालिकको सेवामा दिनरात लखतरान भएका मनहरु शुक्रबार पिँजडाबाट फुत्किएकी मैना झैँ उन्मुक्त भएर स्वतन्त्ररुपमा हिँडिरहेका हुन्छन् । एकाध चलेका कम्पनीले आधा दिनमात्रै काम गराउँछन् । भोलिपल्ट सबेरै ड्युटीमा जान नपर्ने भएकाले धेरै टाढाटाढासम्म आफन्तको अपनत्वको खोजी गर्दै नेपालीहरु क्याम्पक्याम्पमा भाँैतारिन्छन् । हप्ताको एकदिनको यो बिदाले पनि नेपालीलाई रमाइलो गराइरहेको छ । अब त अधिकांशको जम्मा हुने स्थान बनेको छ दोहाको पश्चिमी क्षेत्रमा रहेको अल दौसरी पार्क जहाँ भाषणदेखि नृत्य अनि मनोरञ्जनका धेरै कुरा देख्न र सुन्न पाइन्छ ।
कतारको कानुनमा जुवा, तास, रक्सी आदि दण्डनीय मानिन्छ । कानुनलाई छल्दै लुकीछिपी रमाउने केही नेपाली पनि छन् । क्षणिक आनन्दमा रमाउने कानुनका विपरीत यस्ता कार्य गर्नाले केही नेपालीले हवालातको हावासमेत खाइरहेका छन् । कतिपय नेपालीले क्षणिक आनन्दका लागि बन्देज लगाइएका घातक पेयपदार्थ पनि पिउने गर्छन् । घरमा सरसफाइका लागि प्रयोग गरिने पदार्थ नशाका लागि कतिपय नेपालीले पिउने गर्छन् । कतारमा यस्ता पदार्थहरु लुमा, खजुरबोटे तथा श्रीलङ्के नामले प्रख्यात छन् । यतिमात्र होइन, कतारका केही स्थानमा खडखडे खेल्ने र खेलाउनेहरु आज पनि महिनाभरिको पसिनाको कमाइ एकै छाक पारिरहेका हुन्छन् ।
तत्कालीन अवस्थामा बिसमिल्लाहमा हुने गतिविधीः– व्यवसायी पशुपति चौधरीको नेपाल पुस्तक पसलमा नेपालबाट झिकाइएका सत्यकथा, तथ्यकथा जस्ता साप्ताहिक पत्रिका किन्नेहरुको भीड हुन्थ्यो ।
महिनाभरि श्रम गरेर कमाएको रियाललाई नेपाली रुपैयाँमा गन्दै वरिपरि रहेका सिटी एक्सचेन्ज, लारी एक्सचेन्जलगायतका कम्पनीबाट नेपालमा आफन्तलाई खर्च पठाउनेहरुको लाम पनि देखिन्थ्यो । उतिबेलाको चौरमा विशेष गरी आ–आफ्नो टोल, गाउँ र जिल्लाका साथीहरु जम्मा हुन्थे र एकआपसमा सामाजिक सङ्घ–संस्था खोल्ने, कसैलाई समस्या पर्दा सबै मिली सहयोग गर्ने र गफगाफ गर्ने गर्थे । गफगाफ सकिएपछि नेपाली रेस्टुरेन्टमा नास्ता गरेर अर्काे शुक्रबारसम्मका लागि बिदाइका हातहरु हल्लाउँदै छुट्टिने गर्दथे ।
नेपालमा छँदा कहिल्यै नदेखिएका र नभेटिएका धेरै टाढाटाढाका नेपाली कतारमा सहजै भेटिन्छन् । पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका, पश्चिमको दार्चुलादेखि पूर्वको पाँचथरसम्मका सबै नेपाली कतारी भूमिमा बाँचिरहेका छन् । यहाँ बस्ने सबै नेपाली हुन् । पहाडिया, मधेसी, मुस्लिम, थारm, जनजाति, ब्राह्मण, क्षेत्री, दलित भनेर कुनै भेदभाव गरिँदैन । ठूलो र सानो भनेर विभाजनको रेखा कोरिँदैन । सम्बन्ध छ त केवल प्रवासीको आत्मीय चोखो सम्बन्धमात्र । तर पनि कहिलेकाहीँ फेरि उही नेपालमै हुँदाको पारामा सबै बेग्लाबेग्लै पनि देखिन्छन् ।
कतारमा बढ्दो नेपालीको सङ्ख्यासँगै उनीहरुको आफ्नै जिल्ला, गाउँ वा क्षेत्रको समाज पनि बन्दै गएको छ । दोहामा नेपाली समाजमात्रै १५० भन्दा बढी छन् । त्यस्तो समाजबाट प्रत्येक हप्ता कुनै न कुनै कार्यक्रमको आयोजना हुन्छ, जसले गर्दा एक नेपालीको अर्को नेपालीसँग भेटघाटको अवसर सिर्जना हुन्छ । प्रवासी जीवनका दुःख बिसाउने चौतारी र सुख बाँड्ने यिनै सामाजिक सङ्घ–संस्था हुन् । यहीँ उनीहरु मनभरिको दुःखको पोको फुकाउँछन् र गह्रौँ मनलाई हलुको बनाएर जान्छन् । गाउँघर, मेलापात र रोदीका कुरादेखि देशको समसामयिक राजनीतिक कुरासमेत हुने गर्छन् मैले देखेको कतारमा ।
सन् २०१२ भन्दा पहिले कतारमा कार्यरत नेपाली शुक्रबार नेपाली ढाकाटोपी ढल्काएर हतारिँदै कार्यक्रममा पुगिरहेका देखिन्थे । कतारका विभिन्न चोकमा नेपालीको बाक्लिँदो उपस्थितिले गर्दा सबैलाई थेग्नै नसक्ने भएका थिए, सीमित नेपाली चोक । ‘नेपाली चोक’ भनेर कहलिएको बिस्मिल्लाह मेटिएपछि नेपाली बिस्मिल्लाहको झझल्को मेटाउन तरबार गेट, कार्वा बसपार्कपछाडि, सनैयाको अल अति®️या, मुन्तजा पार्क आदिलाई भेटघाटका लागि नेपाली चोक बनाएका छन् ।
दोहा प्रवेशको बखतमा शुक्रबार यातायातको ज्यादै समस्या हुने गर्दथ्यो । सार्वजनिक यातायात कार्वाले मात्र लाखौँ यात्रुलाई सेवा दिन सक्ने अवस्था थिएन । त्यसैले पनि दोहाबाट विकट भनिने शमाल, दुख्खान, शाहानिया जुमेलिया, अल खोर र मिसाइदलगायतका ठाउँबाट बिरलै नेपाली दोहाका चोकमा मेला भर्न आउँथे । नेपाली चोकमा नेपाली गीतका सिडी, नेपाली फिल्म, पुराना नेपाली पत्रपत्रिका किनेर आफ्ना साथीसङ्गीसँग मनको पीरको भारी बिसाउने गरेको इतिहास छ मैले देखेको कतारमा । नेपाली चोक भनेर चिनिने यस्ता स्थानमा अलपत्र परेका नेपालीदेखि आफ्नै कम्पनी चलाएर बसेका साहु नेपालीसम्म भेला हुन्थे । त्यहाँ पैसा पठाउने, चिठीपत्रको आदानप्रदान गर्ने तथा भेट गर्ने गर्दथे । त्यो बेला बिस्मिल्लाह चोकबाटै आफन्तका निम्ति भिसा पठाउने र कतार झिकाउने कार्यहरु सम्झँदा एकादेशको कथा झैँ लाग्छ किनभने त्यो समय बिस्मिल्लाहमा पूर्वको मेची र पश्चिमको महाकालीको अभूतपूर्व मिलन हुन्थ्यो । तराई, पहाड र हिमालका सबै नेपालीहरु एकआपसमा गहन अपनत्वको अनुभवसहित भेटिरहेका हुन्थे ।
मैले देखेको कतारमा चितवनका बाजेको होटल, चितवनेहरु मिलेर खोलेको कतारको पहिलो नेपाली रेस्टुरेन्ट, टाइगर टप रेस्टुरेन्ट, रामेछापका राजेन्द्र श्रेष्ठको सगरमाथा मम चाउमिन, स्याङ्जाका नेपालीले सञ्चालन गरेको हिमालयन रेस्टुरेन्ट, गोर्खाका प्रवीण गुरmङ र काठमाठौँका रमेशबाबु श्रेष्ठको सम्सारा थकाली र कीर्तिपुर पाँगाका डाक्टर देवकाजी डङ्गोल दम्पतीको नेपाली भान्छा घर आदि थिए भने दोहाको पुरानो बस्ती नेसनलभित्र रहेको गुल्मेली साथीहरुको मेहेमान होटलले गरेको मेहमानी स्मरणीय छ । त्यहाँ नेपालीहरु नेपालीपनको स्वादले जिब्रो फट्कार्दै मस्त भइरहेका हुन्थे ।
नेपालीको बाक्लो उपस्थितिलाई लक्षित गरेर केही नेपालीले विभिन्न व्यापार गरिरहेका हुन्थे । दोहामा नेपाली गीत–सङ्गीतका आधिकारिक पसल थिएनन् । यस्तै शुक्रबारे नेपाली बजार मेलामा नेपाली बास्ना भएका सामानहरु बिक्री हुने गथ्र्यो ।
कसैले नेपाली चुरोट, खैनी तथा सुर्ती बेचिरहेका हुन्थे त कसैले नेपाली पत्रपत्रिका बेचिरहेका हुन्थे । कसैको हातमा चियाको भाँडो हुन्थ्यो त कोही चना–चटपटे घोलिरहेका देखिन्थे । गाउँघरबाट कतार पसेका कसैसँग सम्पर्क गरी मगाइएका विभिन्न किसिमका सामानहरु बेचिरहेका हुन्थे । एकातफी गाउँघरका साथीसङ्गी, आफन्तलगायत अरm नेपाली दाजुभाइसँग भेट हुने र अर्काेतर्फ फुर्सदको समय सदुपयोग हुनुका साथै थोरै भए पनि आम्दानी हुने भएकाले केही नेपालीले यो अवसरको भरपूर प्रयोग गरिरहेका हुन्थे । यसले गर्दा कतार नेपालबाहिरको नेपाल भएको जस्तो आभास हुन्थ्यो ।
कतारका नेपाली चोकहरु नेपालका विभिन्न भागका दुःखी–सुखी नेपालीका कथा सुन्दै अभ्यस्त बनिसकेका हुन्थे । तिनीहरुलाई काठमाडौँको नयाँ बानेश्वर र रत्नपार्कजस्तै नेपालीका कथा सुन्ने बानी परिसकेको थियो । एकै बसाइमा आत्मीय बनेर मनभित्रका पोका फुकाउने हजारौँ नेपाली भेटिन्थे । सबका आ–आफ्ना गुनासा हुन्थे । त्यस्ता गुनासा सुन्ने र सुनाउने काम यिनै ठाउँहरुमा हुन्थ्यो । विदेशी मुदिरले दिएका दुःख र दर्दका कथा हुन्थे । छोराको बोर्डिङ स्कुलको शुल्क नतिरेका र सहरमा श्रीमतीले बस्दै आएको कोठाभाडा नतिरेका पानाहरु खोलिन्थे । यत्रो काम गर्दा पनि देशमा केही नभएको भन्दै राजनीति र नेताका कुरा गर्थे । नेपालबाहिर भए पनि सबै नेपालीहरु नेपालकै सेरोफोरोमा कुरा गरिरहेका हुन्थे मैले देखेको कतारमा ।
कतारमा कार्यरत नेपालीहरु हप्तामा सात दिन व्यस्त हुने गर्छन् । राम्रो कम्पनीको काममा आएका केही सीमित नेपालीबाहेक अधिकांश नेपाली कतारको बाहिरी वातावरणमा घुलमिल हुनैपर्छ । मरmभूमिको विशेषता भनेको गर्मी र जाडो दुवै हो । बालुवाको तातो बाफ सहँदै ५० डिग्रीको तापक्रममा फलाम र सिमेन्टसँग खेल्न त्यति सहज छैन । अझै जाडोको त कुरै नगरौँ । ‘मुटु कमाउने मरmभूमिको जाडो’ भन्ने त नेपाली गीत नै छ नि ।
बिहान सबेरै क्याम्पबाट काम गर्ने ठाउँमा जानुपर्ने हुँदा कमैले खाना बनाउन भ्याउँछन् । कम्पनीको आठ घण्टा र दुई–चार घण्टा ओभरटाइम जोडेर कामबाट फर्कंदा दिन ढल्किसकेको हुन्छ । कुन बेला के खाने हो भन्ने कुराको ठेगान हुँदैन । ड्युटी जाने बेला नै केही न केही खानेकुराको जोहो गर्नुपर्छ । अधिकांश कामदारले बेलुकी ड्युटीबाट फर्किएपछि खाना बनाउँछन् र त्यही खानालाई एउटा भाँडोमा हालेर भोलिपल्ट काममा जाँदा लैजान्छन् ।
सन् १९९४ देखि २००० सम्म धेरै नेपालीहरु कतार प्रवेश गर्दा अधिकांश नेपाली कार्यरत रहेका निजी क्याम्पहरुको अवस्था दयनीय नै थियो भन्नुपर्छ । न पिउने पानीको उचित व्यवस्था थियो न दिनभरिको थकान मेटाउने चिसो एसी । कारण– त्यतिबेला कतार आफैँ ज्यादै सानो थियो । बिस्तारै कतार प्रगति र विकासको मार्गमा बामे सर्दै थियो । समग्रमा भन्नुपर्दा कतारमा कार्यरत अधिकांश नेपालीको जीवनशैली विभिन्न आरोह–अवरोह र दुःखले झेलिँदै आएको थियो । बिहान सबेरै उठ्नु, नित्यकर्म गर्नु र बेलुकी पकाएर टिफिनमा हालेर राखेको बासी खाना बोकेर मालिकको सेवामा लाग्नु अधिकांश नेपालीको दैनिकी रही आएको थियो मैले देखेको कतारमा ।
विदेश पुगेपछि नयाँ जीवन सुरm हुन्छ भन्ने सपना बोकेकाहरुको जीवनमा परदेशी भूमिले कहिल्यै वसन्त दिँदैन । सोचेभन्दा बिलकुलै फरक हुन्छ परदेश । महिनाको एक हजार रियाल मुस्किलले पाउने धेरै नेपाली थिए । अझ त्यसमाथि निर्माण कम्पनीको दुःख । कमाएको आधाजति रकम खानामै खर्च हुन्थ्यो । दिनभरिको घाममा पसिना बगाउनुपर्ने, ठूल्ठूला फलामका पाता उचाल्नुपर्ने । गँैती र बेल्चा चलाउनुपर्ने । दुःखका कहानी भनेर साध्यै छैनन् । गाउँघरमा मेलापात गर्दा दुःख भयो भनी धेरै पैसा कमाउन विदेश पसेकाहरु अप्ठेरोमा थिए । अधिकांश नेपाली कामदार निर्माण व्यवसायको क्षेत्रमा सङ्लग्न हुन्थे ।
कतारको समाजमा पहाडी र मधेसी भनेर यहाँ कुनै विभाजनका रेखा कोरिएका थिएनन् । पूर्वको नेपाली र पश्चिमको नेपाली पनि मिलेर बसेका थिए । मनाङको थकालीको साथी तराईको यादव बन्छ । कम्पनीमा काम गरेर सुखको आभास बढ्दै गएको अवस्थामा पनि गाउँको साहुको चर्को ब्याज सम्झेर रmँदै बस्नेहरु पनि प्रशस्तै भेटिन्थे । श्रीमतीका गहना र भात खाने गैरी खेत कहिले बन्धकीबाट मुक्त पार्ने होला भनेर औँला भाँचीभाँची बस्नेहरु पनि प्रशस्तै भेटिन्थे ।
साहुको ऋण तिर्छु भन्दाभन्दै वर्षौं बितिसक्दा पनि घर फर्कने साइत नजुरेकाहरु उत्तिकैै थिए कतारमा । घर–परिवारलाई सम्झँदै दुःख गरेर कमाएको पसिनाको मोलबाट घर–गृहस्थी चलाउनेहरु धेरै थिए । राम्रो कम्पनी नपरेकाहरु र लामो समयदेखि तलब नपाएकाहरु कम्पनी छाडेर दिनगन्ती काम गर्न दौडिरहेका भेटिन्थे । आफ्नो कम्पनी छोडेर धेरै पैसा कमाउने आशामा भागीभागी श्रम गर्नेहरु र ठेगाना नभएकाहरु पनि भेटिन्थे । मादकपदार्थ सेवन गरी झैझगडा गर्नेहरु, जुवा–तासमा रातदिन रम्नेहरु र विदेशी पिरतीमा पागल हुने पागलप्रेमी पनि कतारमा स्वच्छन्द घुमिरहेका हुन्थे भने कतिपय घर जाने दिन गन्दै फिर्ती केन्द्रमा आरामको जिन्दगी बाँचिरहेका हुन्थे ।
कोब्रा ग्याङ र हप्ता उठाउनेहरुको कथा अब एकादेशकै कथाजस्तो लाग्न थालेको छ । तथापि मनमा एक कौतूहल भने छँदै छः– मैले देखेको कतारको भूमिमा दर्जनौँपटक जेल परेका ‘बख्स’ भनेर चिनिने युवा कहाँ होलान् अहिले ?
नेपालको काठमाडौँ र केही प्रमुख सहरमा देखिने मुन्द्रे संस्कृतिको कतार आगमन पनि अनौठो छ । कतारमा विभिन्न सामाजिक, साहित्यिक तथा धार्मिक कार्यक्रममा लाग्ने नेपाली पनि प्रशस्त थिए र छन् । राजनीति झन् चर्को रुपमा हुन्थ्यो । त्यसताकाकै कुरा गर्ने हो भने राजनीतिक आस्थाका कारण नयाँ पुस्ताका नेपालीहरुकोे सम्बन्ध चिसो थियो । एउटाको सम्पन्नताले अर्को नेपालीलाई थिच्छ । एक नेपालीको प्रगतिमा अर्को नेपाली हाँस्न सक्दैन । हराउने र जिताउने खेल, गुट र उपगुटको राजनीति, विभिन्न उपमाका नाममा खोलिने ‘नाम मात्रका सामाजिक सङ्घ–संस्था र नेपालीलाई ठग्ने मानव तस्करको बिगबिगी नै थियो त्यसबेला मैले देखेको कतारमा ।
कतारको कुनै कुनाको पार्कमा बसेर वा कुनै क्याम्प एरियाको भित्री टेबुलमा बसेर नक्कली भिसाको कारोबार गर्नेहरु सुनौला योजना बुनिरहेका हुन्थे । नेपालीलाई बिगार्ने, फसाउने र उनीहरुको बर्बादीमा सन्तोषको सास फेर्नेहरुको अग्रपङ्क्तिमा नेपाली नै हुने गर्थे । कुन कम्पनीमा कति भिसा छन् र आफूलाई कति आउँछ भनेर क्याल्कुलेटरमा हिसाब गरेर समय काट्नेहरु पनि उल्लेख्य सङ्ख्यामा भेटिन्थे नेसनलको भित्री चोकमा । कतारमा सबै नेपालीका क्याम्पमा ‘चम्चागिरी’ शब्द प्रख्यात छ । एउटा नेपालीले क्षणिक स्वार्थका लागि अर्को नेपालीलाई बलिको बोका बनाउने चलन पनि नभएको होइन । त्यो बेला कतारमा सबैभन्दा फस्टाएका र सम्पत्ति कमाएका व्यक्तिहरु नेपाली वैदेशिक रोजगार व्यवसायी र कामदार आपूर्तिकर्ता नै थिए ।
निशुल्क प्राप्त हुने भिसासमेत कमिसन दिएर सजिलै लिन्थे । ७० हजारको टोपी भिरेर आएको बहादुर दोहाको विमानस्थलमा हप्तौँ व्रत बस्ने चलन पनि नभएको होइन । अझै घरको समस्या देखाएर पैसा सापटी माग्ने र दिने बेलामा होहल्ला मच्चाउने र पचाउनेहरु पनि भेटिन्थे । त्यस्ता व्यक्तिहरु आज पनि भेटिन्छन् । आफन्तलाई आजाद भिसा निकाल्न भनेर पैसा पहिल्यै लिनेहरु गायब भइदिँदा कतै भेटिहाल्छु कि भनेर सडकमा भौँतारिएर हिँड्नेहरु पनि केही मात्रामा भेटिन्थे । समग्रमा सबै प्रकारका नेपाली थिए र छन् मैले देखेको कतारमा ।
शुक्रबारको दिउँसोतिर कतारको राजधानी दोहाको बैङ्क स्ट्रिट हमद अल कबिर रोड (ग्रान्ड हमद) नजिकैको खुला चौरमा पुग्दा त्यहाँ नेपालीको भीड देखिन्छ । यहाँ तरबार आकारको एउटा गेट भएकाले नेपाली यो ठाउँलाई ‘तरबार गेट’ भन्छन् । बिदाको दिन यहाँको वातावरणमा नेपाल देखिन्छ, मिनी नेपाल झैँ । कति कामदारलाई कम्पनीको गाडीले नै यहाँ छाडिदिन्छ भने कति आपैmँ आउने–जाने गर्छन् ।
३) कतारका नेपाली
हामी नेपाली हौँ । आमाजस्तै मैले माया गर्ने मेरो जन्मथलो नेपाल हो । जति नै गरिब र पिछडिएको भए पनि आमाले नौ महिना कोखमा बोकेर जन्माएकी हुन्छिन् । त्यसैगरी देशले आफूलाई नागरिकता दिएको हुन्छ । देश र आमा मलाई उस्तैउस्तै लाग्छ । हामीलाई तेस्रो विश्व भनिन्छ । हामीलाई अल्पविकसित र पिछडिएको मुलुकका मानिस भनिन्छ । धेरै कुरा भएर पनि केही नभएजस्तो भएको छ, मेरो देश । त्यसैले त हुर्केपछि चराले जस्तै आमालाई छाडेर विदेश पलायन हुनु आजको बाध्यता बनेको छ ।
विकासमा बामे सर्दै गरेको नेपालमा अहिले बेरोजगारी सबैभन्दा ठूलो समस्याको रुपमा देखा परेको छ । रोजगारीका लागि नयाँ श्रम गन्तव्यको पहिचान गर्नेतर्फ सरकारी प्रयास जारी छ । नेपाल सरकारले नेपालीका लागि सुरक्षित श्रम गन्तव्यको पहिचान गरेर त्यस्ता देशसँग श्रम–सम्झौता गरिरहेको छ । खाडी मुलुक कतार पनि नेपालले श्रमिक पठाउँदै आएको प्रमुख श्रम गन्तव्य हो जसले गत आर्थिक वर्ष २०७४÷०७५ मा ९४ करोड ११ लाख अमेरिकी डलर रेमिट्यान्स नेपाल भिœयाएको थियो ।
कतार नेपालीका लागि सुरक्षित श्रम गन्तव्य मानिन्छ । सन् २००५ मा नेपालले श्रम–सम्झौता गरेपछि बेरोजगार नेपालीका लागि कतार ‘अवसरको खानी’ बनेको छ । बर्सेनि हजारौँ नेपाली कतारमा पसिना बगाउन आइपुग्छन् । कतारी भूमिमा बगेको पसिनाले नेपाली अर्थतन्त्रको जगमात्रै बलियो बनाइरहेको छैन । कुनै बेला भोकमरीले गाँजेका गरिबका झुपडीको चुलो बाल्ने हैसियत पनि निर्माण गरेको छ । मुलुकको सिङ्गो अर्थतन्त्र २७ प्रतिशत रेमिट्यान्सले धानेको छ जसको ठूलो हिस्सा कतारले पूर्ति गर्छ । यहाँको रोजगारीकै भरमा लामो समयदेखि ऋणमा डुबेका गाउँ–सहरका गरिबहरु ऋणमुक्त भएका छन् । कतारमा बगेको नेपाली युवाको पसिनाले गाउँ–सहरका भोकाहरुको पेटमा अन्न पुगेको छ । बच्चाहरु टिफिन बोकेर टाई लगाएर पढ्ने हैसियतका भएका छन् ।
नेपालमा जिल्ला, अञ्चल, प्रदेश, गाउँ, सहर र ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारीमा नगएका परिवार भेट्न हम्मे पर्छ ।
धेरैजसो नेपाली रोजगारी र आर्थिक उपार्जनकै लागि विश्वका कुनाकुनामा पुगिसकेका छन् । मूलतः हाम्रो देशका सम्पन्न परिवारका सदस्य पहिलो विश्वका विकसित मुलुक अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र युरोपियन देश जाने गर्छन् । सबै नेपालीको आर्थिक हैसियत पहिलो विश्वका सम्पन्न देश गएर न त शिक्षा लिनेछ, न त कुनै राम्रो रोजगारी गरेर डलर र पाउन्ड कमाउने नै । आर्थिक रुपमा सक्षम र प्राविधिक ज्ञान हासिल गरेका सम्पन्न परिवारका व्यक्तिमात्रै पहिलो विश्वका सम्पन्न मुलुकमा पुगेका छन् ।
“कहाँ गएको रे ? कतार !” भन्नासाथ नेपालमा नाक खुम्च्याउने चलन अद्यापि छ । कतारमा काम गर्ने सबै श्रमिक हुन्, न्यून तलबमा काम गर्छन्, गरिब, अनपढ, हातमा सीप नभएका, गाउँघरमा बिग्रिएका व्यक्तिहरुमात्र छन् भन्ने आमधारणा आफैँमा पीडादायी छ । कतारमा सामान्य कामदारका रुपमा भित्रिएर छोटो समयमै आफ्नो व्यवसाय सञ्चालन गरेर बसेका नेपालीको सङ्ख्या झन्डै तीन सयको हाराहारीमा पुगिसकेको छ । कतारमा परिश्रम गरेर देशभित्र अर्बौं लगानी गर्न सक्ने आर्थिक हैसियतमा पनि केही नेपालीहरु पुगिसकेका छन् ।
आर्थिक अभाव, गरिबी र विपन्नताको जाँतोमुनि पिल्सिएका नेपाली युवा खाडीका कुनाकुना पसिनाले भिजाएर उर्बर बनाइरहेका छन् । त्यस्ता कमजोर आर्थिक अवस्था भएका नेपालीहरु आर्थिक धरातल बलियो बनाउन, गाउँ–समाजमा स्वाभिमानी हैसियत निर्माण गर्न र पुस्तौँदेखिको ऋणबाट मुक्त हुन स्वर्णिम सपना बोकी कतार प्रवेश गर्ने गरेका हुन्छन् ।
कतार शब्द मध्य तथा निम्नवर्गीय नेपाली परिवारका लागि जीवनकै एक अभिन्न अङ्ग बनिसकेको छ । कतारमा धेरै नेपालीहरु छन् जो मरmभूमिमा पोखिएका पसिनाको मूलबाट हिमाली स्वर्गजस्तो नेपालमा सपनाको मखमली फूल फुलाउने प्रयास गरिरहेका छन् ।
पाखुराको बलमा पहाड फोर्ने पौरखी र इमान्दार नेपाली कामदारलाई कतार सरकारले पहिलो प्राथमिकतामा राखेर स्वागत गर्दछ । त्यही आत्मीय स्वागतकै कारण वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या दिनानुदिन वृद्धि भइरहेको छ ।
कतार नेपाली कामदारका लागि अवसरको खानी पनि हो । कतारमा काम गर्ने नेपाली कम्पनीको मालिकदेखि सामान्य कामदारको भूमिकासम्ममा छन् जसले लाखौँ रुपैयाँदेखि न्यून तलबसम्म काम गर्ने गरेका छन् । आज विभिन्न कम्पनीका उच्च तहसम्म नेपालीको पहुँच पुगिसकेको छ । नेपाली त्याग, साहस र इमान्दारीले स्वयम् कतार सरकार पनि एकदमै हर्षित भएको छ ।
भूगोलको एउटा कुनामा रहेको नेपाल र अर्को कुनामा रहेको कतारमा धेरै कुरामा विषमता पाइन्छ । धरातलीय स्वरुप, हावापानी, रहनसहन, कला, संस्कृति, धर्म, रीतिरिवाज आदिमा भिन्नता छ । हाम्रो देशको जस्तो खुल्ला समाज यो कानुनी राज्य भएको देशमा पाइँदैन । कतार र नेपालको स्वतन्त्रता र जीवनशैलीमा पनि धेरै फरक छ । मानवीय जीवनका धेरै आवश्यकता यहाँ सजिलै प्राप्त हुन्छन् । द्रुत गतिमा विकासको फड्को मार्दै गरेको र विश्वमा प्रतिव्यक्ति आय पनि उच्च भएको समृद्ध राष्ट्रसँग नेपालजस्ता अल्पविकसित देशको तुलना गर्न सकिँदैन । तथापि कतारमा मजदुरदेखि मालिकसम्म नेपाली थपिँदै गएका छन् । प्राध्यापन पेसादेखि पढेलेखेका नेपालीहरु बढ्दै गएका छन् । कतारमा नेपालीहरु बढ्दै गएकाले नेपाल र कतारको सम्बन्ध झन्झन् प्रगाढ बन्दै गइरहेको छ ।
नेपालसँग श्रम–सम्झौतामा हस्ताक्षर गर्ने कतार पहिलो देश हो । कतारसँग नेपाली कामदार रोजगारका सम्बन्धमा द्विपक्षीय सम्झौता २१ मार्च २००५ मा हस्ताक्षर भएको थियो र २० जनवरी २००८ मा यसको थप प्रोटोकलमा हस्ताक्षर गरिएको थियो । सम्झौताले कतारमा रहेका नेपाली कामदारहरुको हकहित, संरक्षण र संवद्र्धन गर्ने कतारमा जनशक्तिको आपूर्तिलाई निर्देशित गर्ने उद्देश्यले गरिएको हो ।
सम्झौताको समय सापेक्ष समीक्षा गर्ने दायित्व द्विपक्षीय समितिमा रहने कुरा सम्झौतामा उल्लेख गरिएको छ । संयुक्त कमिटीको तेस्रो बैठक मार्च २०१९ मा दोहामा भएको थियो । यसअघि संयुक्त कमिटी बैठकहरु क्रमशः जुन २०१३ र मार्च २०१६ मा दोहा र काठमाडौँमा भएका थिए ।
कतारले मुलुकमा काम गरिरहेका मजदुरहरुको अधिकार सुरक्षित गर्न थुप्रै सुधारात्मक योजनाहरु ल्याएको छ भने यस योजनाबाट नेपाली कामदारहरुले ठूलो फाइदा उठाएका छन् ।
कतारमा नेपाली समुदायको ठूलो सङ्ख्या रहेको छ । मार्च २०१९ सम्मको तथ्याङ्कका आधारमा कतारमा लगभग ३,६५,००० नेपाली बसोबास तथा काम गरिरहेका छन् । त्यीमध्ये धेरै नेपालीहरु असक्षम क्षेत्रमा काम गरिरहेका छन् । यद्यपि पछिल्लो समयमा व्यवसाय, इन्जिनियरिङ, मेडिसिन र अन्य व्यावसायिक सेवा क्षेत्रमा पनि नेपाली आप्रवासी कामदारहरुको सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ ।
४) कतारका नेपाली, कविदेखि रेगिस्तानी कविसम्म
कतारका नेपाली साहित्यिक संस्थाहरुलाई जोड्ने काम महेन्द्र न्यौपानेको खाडीका आवाज मासिक पत्रिकाले गरेको थियो । नेपालबाट निकै सङ्घर्ष गरेर कतारका नेपालीबीच नेपाली अक्षरहरु अध्ययन गराउने प्रयास गरेको थियो खाडीका आवाजले । तर कामको चाप र छुट्टीको अवसर नहुनाले धेरै लामो समयसम्म खाडीका आवाज चल्न सकेन ।
मेचीकाली साहित्य सङ्गमको प्रस्तुति मरmभूमि मासिक नामाकरण गरिएको पत्रिका पनि सञ्चालन गरिएको थियो । यो पत्रिका करिब दस पेजको हुन्थ्यो भने यसलाई ऐतराज तुम्रोकको सम्पादकत्वमा सन् २००१ बाट सञ्चालन गरिएको थियो । सल्लाहकार सुरेन्द्र अधिकारी ‘सरm’, कम्प्युटर अपरेटर जित बहादुर लिम्बु, बजार व्यवस्थापक तुलसी लिम्बुलगायतले कम्पनीमा काम गर्न गएको बेला पनि र शुक्रबारे छुट्टीमा पनि १ रियालमा १० पेजको सादा मरmभूमि मासिक साथीहरुलाई बिस्मिल्लाह पार्कमा हातहात दिन्थे । उनीहरुबाट नै लेख–रचना सङ्कलन गरेर अर्काे महिनाको अङ्क तयार पार्थे । सुरेन्द्र अधिकारी सरm फुच्चे थिए । कार मज्जाले हुइँक्याउँदै सिटी सेन्टर क्
यारिफोरमा मसेन्टाइजरको काम गर्थे । एकदिन रवि भट्ट अभागी भन्ने मान्छे पत्रकार र साहित्यकार पनि हुन् रे, सिटीसेन्टरमा नै सेक्युरिटीको काम गर्छ रे भन्ने सुनेर सरm उनको खोजीमा लागे । रातको दस बजे अभागीलाई उनले भेटे र सबै कुरा बताएपछि अभागीले आफूले सक्दो सहयोग गर्ने बताए । रवि अभागीले हप्ताको एक दिन पनि छुट्टी पाउँदैन थिए तर नेपाली सुपरभाइजरलाई आफूलाई शुक्रबार छुट्टी मिलाउन अनुरोध गरेपछि हरेक हप्ताको शुक्रबार उनले छुट्टी पाए । मरmभूमिको टिमसँग आफूले नेपालमा रहँदा प्रकाशन गरेको पत्रिका तथा अनुभव सुनाए । पत्रिकालाई कतारको कुनै प्रेसमा छाप्ने र नेपालीहरुले पैसा पठाइरहेका लारि एक्सचेन्ज, सिटी एक्सचेन्ज, अल फरदान तथा ट्राभल एजेन्सी र नेपाली रेस्टुरेन्टहरुको विज्ञापन माग्ने र रामै्रसँग चलाउने निर्णयअनुसार अभागीले कलरमा विज्ञापन मागेर पत्रिकालाई चौबीस पेजको बनाए । उनले बाह्र घण्टाको ड्युटी गरेपछि अतिरिक्त २÷३ घण्टा हरेक दिन समय निकालेर र शुक्रबारको पूरै दिन पत्रिकालाई दिई नेपाली श्रमिकहरुको अन्तर्वार्ता र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरुले भरिएको मरmभूमि मासिक तयार पार्ने मदत गरेकाले मरmभूमिमा हरियाली बनेर मरmभूमि मासिक सबै नेपालीहरुको मनमा बस्न सफल भएको थियो ।
उनको यो लगनशीलतालाई ध्यानमा राखी प्रधानसम्पादक तथा टिमले उनका लागि केही आर्थिक रकम छुट्याउने र पदोन्नति गर्ने निर्णय गरेर उनलाई सहसम्पादक र मासिक २ सय रियाल दिने निर्णय ग¥यो । राम्रो चल्दै आएको मरmभूमि राजदरबार हत्याकाण्डपछि चलाउन नदिने भनेर बन्द गरिएको थियो । यसैबीच साहित्यकार केवि चेम्जोङले सेमी फन्ताङ्लुङ पत्रिका पनि प्रकाशनमा ल्याएका थिए । लगतै कुमार कार्कीले नयाँ नेपाल मासिक प्रकाशनमा ल्याएका थिए जुन एक वर्षसम्म राम्रो सँग चलाइएको थियो ।
“कतारमा रियाल छ, तेल छ, ग्यास छ, तर हिमाल छैन, हामीले फेर्ने नेपाली सास छैन” भनेर कवि दीपक भेटवालले भनिरहँदा मैले म जन्मेको ठाउँ काठमाडौँको डाँछी (हाल कागेश्वरी मनोहरा न.पा.) सम्झिएँ । परदेश जाने व्यक्तिको पानीको फोका झैँ फुट्ने सपनाको हिसाब हुँदैन । यसो भनिरहँदा मैले उनीहरुले पठाएको ब्ल्याङ्केट, टिभी र मोबाइलहरु सम्झेँ । साँच्चै भावनामा बगिरहँदा पनि कहिलेकाहीँ मन हलुङ्गो हुने रहेछ । कविता यसकै लागि थियो । कवि सम्मेलन यही कारण आयोजना गरिएको थियो ।
नेपाली कवि र कतारका कवि जोड्दा नेपालको हिमालको याकको कथा र रेगिस्तानको उँटको कथा पनि आउँथ्यो । कविता र निबन्ध पनि आउँथ्यो । म यस्तै सोचिरहेथेँ । नेपालको चालमको भात र रेगिस्तानको पिठोको खबुजबीच कुनै जोड र तालमेल नभए पनि कतारले जोडिदिएको छ हामीबीच एक विशेष प्रकारको आत्मीय सम्बन्ध ।
त्यहाँ त्यस्तै भइरहेको थियो । मेरो देशको राजधानीका एक दर्जन कवि मेरो कर्मथलो कतारको राजधानी दोहामा मेरै देशको भाषामा मेरै मनको कविता सुनाइरहेका थिए । त्यो हुलमा म बस्दा कर्मथलो र जन्मथलो एक भए झैँ लागिरहेको थियो । सन् २००६ मा स्थापित भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र सन् २००८ मा स्थापित नवोदित साहित्यिक वाचनालयको नाम नेपालीहरुका लागि नयाँ नाम पक्कै होइन । विदेशी भूमिमा रहेर पनि नेपाली भाषा, साहित्य र कलाको उत्थानको लागि निरन्तर लागि परेका छन् यी संस्थाहरु । प्रवासको भोगाइ, नेपाली समाज, आर्थिक तथा राजनीतिक अवस्थाका राम्रा–नराम्रा, सकारात्मक–नकारात्मक दुवै अवस्थाका बारेमा साहित्यमार्पmत उजागर गर्ने गरेका छन् । साथै नेपाली भाषा र साहित्यमा योगदान पु¥याउने राष्ट्रिय विभूतिहरुको जन्म जयन्ती मनाउने, प्रवासमा बसेर साहित्य सिर्जना गर्ने र लेख्ने हौसला प्रदान गर्ने, साहित्यको क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई विभिन्न अवसरमा कदर तथा सम्मान गर्ने र उहाँहरुमा निहीत सीप र कलाको प्रशंसा गर्ने यस्ता संस्थाका अतुलनीय कार्यहरुलाई कतारमा रहेका नेपालीहरुको इतिहासले सदा स्मरण गरिरहनेछ ।
कतारको नेपाली समाजमा भएका भाषा, धर्म, वर्ण, लिङ्ग, सम्प्रदाय, जातजाति आदिका आधारमा भेदभाव नगरी व्यक्तिमा हुने कला, क्षमता र मानवीयतालाई प्राथमिकतामा राखी नेपाली साहित्यको जर्गेना गर्न कहिल्यै पछाडि नपर्ने अनेसास र नवोदितको फरक शैलीले सयौँ मन र भावनालाई जोड्न गरेको प्रयास अत्यन्तै प्रंशसनीय छ । यी संस्थाहरु नितान्त गैर–राजनीतिक संस्थाहरु हुन् । यिनको गज्जबको पक्ष भनेको निर्धारित समयमा सुरm भएर निर्धारित समयमै समाप्त हुने विशेषता बोकेको अनेसास र नवोदितले भर्खरै महिनाँैदेखि नियमित मासिक साहित्य वाचन श्रृङ्खलाको ९९ औँ डबली पूरा गरी स्वर्ण डबली मनाउन आयोजना गरिएको कार्यक्रम कतारको इतिहासमा वास्तवमै स्वर्णिम रहनेछ ।
कतारको भूमिमा रहेर नेपाली साहित्यको विधामा कलम चलाउने ती महान हस्तीहरु दीपक भेटवाल, तीर्थ सङ्गम राई, रविभट्ट ‘रोषी’, सीताराम थापा, दीपमिलन, रुप रसाइली, महेन्द्र खड्का, लीलानाथ घिमिरे, माया केसी आदि मेरा असल मित्र हुन् भने गजल विधामा कलम चलाउने लेख कार्की, श्यामराज रानाभाट, मणि पौडेल, टीका खड्का, दिलीप पराजुली, शेखर बस्नेत, बिन्दा लामा, चक्र कार्की, नारायण भण्डारीका लेखहरुले कतारको नेपाली समाजको इतिहासमा नेपाली कला–साहित्यलाई सयौँ वर्ष जीवन्त राख्नेछ ।
कतारका नाममा नेपाली भाषामा धेरै साहित्य कोरिएका छन् । नेपालका नाममा कतारमा धेरै अक्षरहरु कोरिएका छन् । कतार र नेपाल साहित्यमा समेटिएको छ, कहिल्यै नटुट्ने तरिकाले । मैले देखेको कतार पनि कतार र नेपाललाई अक्षरमार्पmत जोड्ने एउटा कडी हो ।
५) कतारका नेपाली साहित्यिक संस्थाहरु
सन्ध्या ग्रुप कतारको स्थापना २००२ मा भए पनि साहित्यिक गतिविधि ‘साहित्य जीवन र जगतको दर्पण हो’ भन्ने नाराका साथ २००३ सालमा ब्द्ध साइजको पेपरमा छ पृष्ठमा अल मिस्नाद क्याम्पमा पाँच भागसम्म साप्ताहिक भित्ते पात्रोका रुपमा सञ्चालन गर्दै छैटौँ भागदेखि जिरो साइजमा अन्य नेपालीहरु रहेको आधा दर्जन क्याम्पहरुमा पनि विस्तार गर्दै त्यसको एक वर्षपछिबाट त्रैमासिक साहित्य पत्रिका मुग्लानी सौगात सञ्चालन गर्दै थर्च लामाको अध्यक्षतामा मासिक साहित्यिक वाचन श्रृङ्खला नियमित रुपमा चल्दै आएको छ भने कतारका साहित्यिक संस्था नवोदित वाचनालय र साझा संस्था अनेसाससँग सहकार्य गर्दै विभिन्न राष्ट्रिय विभूति एवम् कविहरुको जन्मोत्सवमा नेपालका मुर्धन्य कवि तथा साहित्यकारहरुलाई ल्याएर सम्मान कार्यक्रमहरु पनि गर्दै आएको छ भने पाँच महिनाअघि गणेश क्षेत्रीको अध्यक्षतामा सन्ध्या गु्रपका संस्थापक अध्यक्षदेखि निःवर्तमान अध्यक्षसम्मलाई नेपालको प्रज्ञा प्रतिष्ठानको भवनमा ७८ औँ वाचन श्रृङ्खलाको अवसर पारी उच्च सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो ।
सन्ध्या गु्रप दोहाको एकदमै राम्रो र अग्रज संस्था हो । उक्त संस्थाका संस्थापकदेखि वर्तमान कार्यसमितिसम्मका साथीहरु नेपाली साहित्यको कुनै न कुनै विधामा सम्बन्धित रहेका छन् । नेपाली साहित्यका विविध पक्षसँग प्रत्यक्ष सरोकार राख्ने क्रियाकलापहरु गर्न सन्ध्या गु्रुप कहिल्यै थाक्दैन । मुग्लानी सौगातले पनि आफ्नो साहित्यिक गतिविधिलाई झन्झन् व्यापक र परिस्कृत गर्दै लगेको छ । मुग्लानी सौगातले नेपाली साहित्यकका उज्याला किरणहरुलाई कतारको बालुवाको कणकणसम्म पु¥याउन र लेख्न नजान्नेलाई लेख्न सक्ने सामथ्र्यवान् व्यक्ति बनाउन कुनै कसर बाँकी राखेको छैन ।
नेपाली साहित्यको विकासमा हलेसी मासिकको पनि ठूलो योगदान रहेको छ । न्यून तलबमा अर्काको दासत्व स्वीकार गरेर मालिकको सेवा गरी बाँकी रहेको समयलाई सदुपयोग गरी साहित्य साधनामा लाग्नु चानचुने कुरा होइन । प्रवासी जीवनका व्यस्तता, असहजता र जटिलताका सागरहरु तर्दै नेपाली साहित्यको फाँटलाई भूगोलको यो कुनासम्म फैलाउने हलेसी मासिक पनि अहोरात्र खटिरहेको छ । र, उदीयमान नवोदित साहित्यिक वाचनालयले पनि नयाँ मोड ल्याउनका लागि यहाँको परिस्थितिको विचार गरेर सडक यात्रा वाचनालयको सुरmवात गरिरहेको छ । यहाँको साहित्यिक समूहले कुनै पनि किसिमको वाचनालयको महसुस नगरेको हुँदा समस्त नव आगन्तुक साहित्यानुरागीहरु तथा साहित्य स्रष्ट्राहरुलाई ध्यानमा राखेर वाचनकलामा प्रखरता ल्याउनका लागि र आफ्नो क्षमताको विकास गर्नका लागि यो वाचनालयको स्थापना गरिएको हो । र, आजसम्म पनि यो संस्था क्रियाशील रहँदै आएको छ ।
प्रवासमा आए पनि जनताको सुसूचित हुने हकलाई सुरक्षित गरिरहेको कान्तिपुर साप्ताहिकको ‘पाठक रचना’ र राजधानी साप्ताहिकको ‘मनका कुरा’ ले पनि कतारमा श्रमिकहरुमा साहित्यको रस चखाएका छन् । नेपालमा छँदा कविता सुन्न नचाहनेहरु आज खोजीखोजी कविता गोष्ठीमा आउँछन् । प्रवासी जीवनका विविध पाटालाई सम्याउने एउटा दरिलो माध्यम बनेको छ यहाँको साहित्य । यहाँबाट प्रकाशित हुने विभिन्न जिल्लाका सामाजिक सङ्घ–संस्थाका पत्रपत्रिकामा साहित्यले नै प्रमुख स्थान पाउँछ । नेपाली साहित्य बिनाका पत्रपत्रिकाहरु अशोभनीय देखिन्छन् । मेची र कालीको साहित्यलाई जोड्ने पुलको रुपमा मेचीकाली साहित्य सङ्गम विगतका दिनहरुमा क्रियाशील रहेको भए तापनि आजभोलि त्यति क्रियाशील देखिँदैन । यहाँको मुख्य समस्या भनेकै नेपाली पुस्तकालय नहुनु हो । दोहामा अहिलेसम्म पनि कुनै संस्थागत तथा व्यक्तिगत पहलमा नेपाली पुस्तकालय खोल्ने प्रयास गरिएको छैन । नेपाली समुदायको बाक्लो उपस्थिति देखेर दोहाका केही सीमित पुस्तक पसलहरुमा केही पुराना नेपाली लेखकका पुस्तक नपाइने होइनन् । यद्यपि वर्षौंदेखि अतृप्त बनेका लाखौँ नेपालीहरुलाई यिनीहरुले तृप्त पार्न सक्ने कुरा भएन । समग्रमा भन्नुपर्दा कतारमा नेपाली साहित्यको फाँट अझै सुन्दर र मनमोहक तरिकाले विस्तार हुँदै गएको देख्न सकिन्छ ।
६) नेपाली स्वाद, नेपाली सञ्चार
कतारमा ज्यान भए पनि मन नेपालमै हुन्छ । न्यास्रो नेपालकै लाग्छ ।
नेपालबारे जान्न र बुझ्न मन लाग्छ । के भयो होला आफ्नो गाउँ, सहर र देशमा ? यो कौतूहल मेटाउन सञ्चार माध्यममा आउनैपर्छ । नेपाली सञ्चार माध्यमको विकास कतारमा यही नेपाली सञ्चारको भोक तृप्त गर्न बढिरहेछ ।
सूचनाको समय बदलिँदै गएको छ । हातहातमा मोबाइल अनि मोबाइलमा सामाजिक सञ्जालको कारण अहिले मान्छेले कहाँ कसले के गरिरहेको छ, सहजै थाहा पाइरहेका छन् । आफ्नो हातमा आफ्नो सञ्चार भएको महसुस हुँदै गइरहेको छ । तर पनि विस्तृत रुपमा केही नयाँ कुरा थाहा पाउन यो मन खोजिरहन्छ ।
विविध कारणले मातृभूमिका आँगनमा अटाउन नसकेर खाडी राष्ट्रमा पुगेका नेपालीलाई नेपाली सञ्चार माध्यमले आफ्नै गाउँसँग जोड्ने काम गरिरहेका छन् जसमा प्रविधिको योगदान ठूलो छ । विश्वका विभिन्न देशमा वैदेशिक रोजगारीमा रहने नेपालीका लागि जन्मे–हुर्केको गाउँघर र दूर दराजका समाचार टाढाका विषय रहेनन् ।
सन् १९९४ बाट २००० सम्म धेरै नेपाली कतार प्रवेश गर्दाको अवस्थामा सञ्चार माध्यमको त्यति सुविधा थिएन भन्ने गर्छन् । टेलिफोन आफूहरुको पहुँचभन्दा बाहिरको कुरा भएको आज पनि कतारका पुराना नेपालीहरु वर्णन गर्दछन् । डाँक, हुलाक, चिठीपत्र नै सबैभन्दा ठूलो सञ्चार माध्यम थियो भनेर सुनाउँछन् ।
कतारमा कार्यरत अधिकांश नेपाली न्यून तलबमा काम गर्ने र प्रायः कम शिक्षित हुन्थे । सामान्य पढ्न र लेख्नसम्म जानेका कम नै थिए । अहिले समय बदलियो । पढेलेखेका नेपालीहरु पनि बढ्दै गए । कतारका विश्वविद्यालयमा पढाउने नेपालीहरु पनि भए । समयअनुसारको सूचनाका साधन पनि बदलिए । विभिन्न प्रविधिका माध्यमबाट सरकार, नागरिक समाज, निजी क्षेत्र, विभिन्न सङ्घ–संस्थाले विभिन्न वेभसाइट सञ्चालनमा ल्याएका थिए । यस्ता वेभसाइटसम्म पहुँच बनाउन सक्ने कतारमा ४० प्रतिशत नेपाली पनि थिएनन् । इन्टरनेटसम्म पहुँच बनाउनाले विभिन्न सूचनाप्रदायक वेभसाइट सर्च गरेर देशमा भएका ताजा घटना आफ्ना क्याम्प–क्याम्पमा बताउँथे ।
कतारमा कार्यरत नेपालीमा युवा सङ्ख्या बढी थियो । यौवनावस्थाका महङ्खवपूर्ण वसन्त प्रवासमा बिताउनुपर्दा उनीहरुको मन कम्ती कुँडिएको हुँदैन । कुँडिएको मनलाई सान्त्वना दिन प्रायः युवा जमात युवा मञ्च, प्रेम डायरी, मुक्तक सङ्ग्रह, विभिन्न विधाका उपन्यास, प्रेमसम्बन्धी पुस्तक, सत्यकथा, तथ्यकथाजस्ता सामग्री किनेर पढ्ने गर्दथे । केही वर्ष अघिसम्म यस्ता पत्रपत्रिका कतारी बजारमा बिक्री गर्न पाइँदैनथ्यो । तर अहिले कतारले आफ्नो देशमा आएका विदेशी कामदार तथा अरm नागरिकको मागअनुसार विभिन्न देशका स्थानीय भाषामा प्रकाशित समाचारको सेन्सर गर्ने व्यवस्था गरेको हुँदा नेपाली पत्रपत्रिका सजिलै उपलब्ध हुने गरेका छन् । कतारको नियमअनुसार जुनसुकै देशका पत्रपत्रिका तथा जुनसुकै भाषामा लेखिएका पुस्तक पनि अध्यागमन विभागमार्पmत ल्याई विदेशी प्रकाशन विभागको स्वीकृति लिएपछि निर्वाध रुपमा बिक्री–वितरण गर्न पाइन्छ ।
त्यसबेला कतारका अधिकांश नेपाली कामदारको आर्थिक हैसियत इन्टरनेटसम्म पुग्न नसक्नु र पुग्न सक्ने आर्थिक हैसियत भएकाहरुबाट इन्टरनेटका माध्यमबाट नेपाली सूचना र समाचार खासै सम्प्रेषण हुन सकेको थिएन । सहज सूचनाको पहुँच बनाउन सकिने अनलाइन पोर्टल नै कतारमा बस्ने अधिकांश नेपालीका लागि समाचार र सूचनाका विश्वासिला र भरपर्दा साथी बन्न सकिरहेका थिएनन् । कतारका अधिकांश नेपालीले नेपाली टिभी च्यानलमार्पmत आफ्नो सूचनाको भोक मेटाइरहेका थिए ।
विगतमा कतारमा नेपालीको बाक्लिँदो उपस्थितिसँगै सञ्चारका विभिन्न माध्यमको विकास हुनेक्रम जारी छ । खाडी राष्ट्रमध्ये कतारमा नेपालीको सङ्ख्या उच्च हुनुको फाइदा उठाउँदै कतारबाटै प्रकाशित हुँदै आएको पत्रिका राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकले ६ माघ २०६२ साल बिहीबारबाट आफ्नो यात्रा आरम्भ ग¥यो । त्यसअघि नेपाल समाचारपत्रले २०६२ असार २ गते बिहीबार सुरm गरे पनि धेरै समय चल्न सकेन । नेपाल समाचारपत्र पनि सञ्चालनमा आएको छोटो समयमै बिदा भयो ।
कान्तिपुर साप्ताहिकले २४ डिसेम्बर २००८ अर्थात् पुस ९ गते २०६५ मा सुरm गरेर ३१ जुलाई २०१७ मा कतारबाट बिदा भयो । त्यसबेला राजधानी र कान्तिपुरमा ‘अरबी गुरm’ भन्ने स्तम्भमा त्यहाँका नीति–नियमहरु र कतार–नेपालबारे विभिन्न लेखहरु लेख्थेँ । कान्तिपुर बन्द हुँदा के कता हराइरहेछ झैँ लाग्यो । राजधानी पनि १४ वर्षको कतार यात्रामा बिट मार्दै सन् २०१९ को अप्रिलबाट बन्द भयो । यी दुवै पत्रिका नहुँदा कतारमा रहेका नेपालीले निकै खल्लो अनुभव गरेका छन् । साँच्चै भन्नुपर्दा मैले त हाम्रो उपलब्धि नै गुमेको महसुस गरेको छु । किनभने कतार मध्यपूर्वमा एकमात्र यस्तो देश हो जहाँ नेपालीहरुले स्वतन्त्रतापूर्वक आफ्नो सूचनाको हक निर्धक्क रुपमा प्रयोग गर्न पाइरहेका थिए । यस्ता विषय मध्यपूर्वका अन्य मुलुकहरुमा विरलै देख्न र सुन्न पाइन्छ । कान्तिपुर र राजधानी साप्ताहिक कतारी भूमिबाट बिदा हुँदा साताभरि हुने दैनिकी नै बदलिन पुगेको थियो ।
कान्तिपुर साप्ताहिकले विदेशी भूमिमा रहेर पनि नेपाली सूचनाको क्षेत्रमा उल्लेख्य काम गर्दै आएको थियो । प्रवासमा नेपाली पत्रिकाको सम्पादन र प्रकाशन आफैँमा महङ्खवपूर्ण विषय हो । भूगोलको पल्लो कुनामा रहे पनि नेपालीलाई आफ्नो गाउँ–सहर र देशको ताजा खबर पु¥याउन यिनीहरु लागि परेका थिए । अधिकांश नेपालीको न्यून पारिश्रमिकलाई लक्षित गरेर यहाँ पत्रपत्रिका प्रकाशन हुँदै आएका थिए । दुई रियालमै सहजै प्राप्त गर्न सकिने छापा संस्करणले कतारको नेपाली समाजमा सूचना सम्प्रेषण गरेर आप्रवासी नेपालीहरुमाथि ठूलै गुन लगाएको कुरालाई नकार्न सकिँदैन । विभिन्न प्रविधिमार्पmत नेपाल टेलिभिजन, कान्तिपुरलगायत अन्य च्यानल हेर्न सक्ने अवसरको पनि विकास भएको थियो त्यसताका मैले देखेको कतारमा ।
हाल कतारमा सूचना सम्प्रेषण गर्न नयाँ अनलाइन मिडियाहरु सञ्चालन गरिएका छन् । कतारमा पहिलो अनलाइन पोर्टल ‘नेपाल कतार डटकम’ को सुरmवात स्व. शिखर वैद्यले गर्नुभएको थियो भने उहाँको निधनपछि यो पोर्टलको सञ्चालन अवरmद्ध हुन पुगेको छ । त्यसपछि ‘नेपाल कतार अनलाइन डटकम’, ‘नेपाल कतार न्यूज अनलाइन डटकम’, ‘रेस्क्यु न्यूज अनलाइन डटकम’ सञ्चालनमा आएका थिए भने अहिले यी सबै पोर्टल बन्द भइसकेका छन् । अहिले कतारको प्रभावकारी उत्तरदायी र विश्वसनीय समाचार सम्प्रेषण गर्ने न्यूज पोर्टल ‘क्युएन खबर डटकम’ बन्न सफल भएको छ । यो पोर्टलले अहोरात्र कतारका नेपालीको सूचनाको प्यास मेटाउने प्रयास गरिरहेको छ । यसैगरी ‘साझा नेटवर्क डटकम’, ‘प्रभाव डटकम’, ‘लालीगुराँस डटकम’, ‘म्याग्दी अनलाइन डटकम’, ‘मुगलानी खबर अनलाइन डटकम’ आदि जस्ता न्यूज पोर्टलले विभिन्न समाचार एवम् रोचक जानकारीहरु सम्प्रेषण गरेर कतारका नेपालीहरुलाई सुसूचित गरिरहेका छन् । यहाँसम्म कि नेपाली सञ्चार जगतका सञ्चारकर्मीहरुको संस्था नेपाल पत्रकार महासङ्घले कतार शाखा नै खोलेको छ मैले देखेको कतारमा ।
कतारमा अन्य समुदायको आफ्नै रेडियो च्यानल भए पनि नेपाली च्यानलको विकास जरmरी छ । हाल कतारमा नेपालीहरुले सर्वाधिक सुन्ने रेडियो ‘उर्दु रेडियो १०७ मेगाहर्ज’ हो भने ‘रेडियो ओलिभ १०६.३ मेगाहर्ज’ पनि उत्तिकै लोकप्रिय छ भन्दा फरक पर्दैन । नेपालीले हिन्दी र उर्दु भाषामा भन्दा पनि नेपाली भाषामै रेडियो सुन्न पाएको भए कति मज्जा हुन्थ्यो होला भन्ने लागिरहन्छ ।
७) कतारका नेपाली व्यवसायी
कतारमा नेपाली श्रमिकमात्र होइन, नेपाली व्यवसायी पनि छन् । व्यावसायिक संस्था पनि छन् । कतार आई आफ्नै व्यवसाय सञ्चालन गर्नेमा पहिलो नेपालीको रुपमा कीर्तिपुर पाँगाका डा. देवकाजी डङ्गोल स्थापित थिए । उनले पहिलोपटक कतारमा सन् १९९४ मा आफ्नो कतारी स्पोन्सरको नाममा अल मन्सुर सुपरमार्केट खोलेर व्यावसायिक यात्राको प्रारम्भ गरेका थिए । यसैगरी सन् १९९८ मा नेपाल र नेपालीपन झल्कने गरी एभरेस्ट ग्यारेज खोलेका थिए । सन् २००३ मा एभरेस्ट कलर ल्याब सञ्चालनमा ल्याएका थिए भने नेपाली खानाको परिकार कतारी भूमिमा दिनका निम्ति नेपाली भान्छाघर सोही वर्ष स्थापना गरेका थिए । सामान्य श्रमिकको रुपमा कतार भित्रिएर आफ्नै व्यवसाय सञ्चालन गर्नेमा झापाका स्व. पशुपति चौधरी पहिलो नम्बरमा पर्दछन् । निजले नेपाली बुक सपका रुपमा पहिलो व्यावसायिक यात्रा सुरm गरेका थिए । सो बुक सप कतारको राजधानी दोहास्थित नेपालीहरुले नेसनल भनेर चिनिने स्थानमा रहेको थियो जसलाई पछि महेन्द्र चम्लागाईंले सञ्चालन गरेका थिए ।
सन् १९९४ सेप्टेम्बरमा कतार छिरेका गोरखाका बद्री पाण्डे कतारको नेपाली व्यावसायिक इतिहासमै पहिलो नेपाली थिए जसले कतारी कानुनअनुसार ४९–५१ प्रतिशत व्यावसायिक साझेदारीअन्तर्गत पूर्ण अधिकारसहित कम्पनी सञ्चालनमा ल्याएका थिए । सन् २००१ मा अल फजर इन्टरनेसनल टे«डिङ एण्ड कन्ट्राक्टिङ नामको कम्पनी कतारमा नेपालीहरुका हजारौँ चुलो जलाउन महङ्खवपूर्ण भूमिका निर्वाह गर्ने एक कम्पनी हो ।
यसैगरी गोरखाकै नेपाली मूलका बेलायती नागरिक अशोकबाबु श्रेष्ठले पनि एक समयमा कतारकै व्यावसायिक सफलताको शिखर चुम्न सफल व्यवसायीका रुपमा आफूलाई स्थापित गरेका थिए । यसैगरी कतारका नेपाली व्यवसायीहरुमध्ये चितवनका राजेन्द्र कुमार शर्मा (आरके शर्मा) द्वारा स्थापित पिजन इन्जिनियरिङ टे«डिङ कम्पनी धेरै नेपाली र आप्रवासीहरु कार्यरत रहेको कम्पनी हो । यो कम्पनी सन् २००४ मा उनले स्थापना गरेका थिए । कतारको निर्माण क्षेत्रमा यस कम्पनीको महङ्खवपूर्ण भूमिका रहेको कुरा फिफा सम्पन्न र हस्तान्तरण गर्ने संस्था सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीको वेभसाइटमा उल्लेख छ । कतारको सहरी विकास रुपान्तरणमा उल्लेख्य भूमिका निर्वाह गरेको पिजन इन्जिनियरिङ एन्ड प्रोजेक्टले विश्वकप २०२२ का निम्ति निर्माणाधीन प्रायः सबै रङ्गशाला निर्माण परियोजनाहरुमा सेवा गरिसकेको छ । एस्सी श्रमिक कल्याण मापदण्डमा रहेर काम गर्नु ठूलै चुनौतीको विषय भए तापनि यस कम्पनीले सबै नियम–कानुन पालना गर्दै लामो समयदेखि उत्कृष्ट कार्य सम्पन्न गर्दै आएको छ । पिजन इन्जिनियरिङ एन्ड प्रोजेक्ट कम्पनी कतारी निर्माण कम्पनीहरुले विश्वास गरेको नेपालीहरुको एकमात्र कम्पनी हो ।
नाम : पर्शुराम दाहाल
जन्मस्थान : सङ्खुवासभा
हाल : ललितपुर, काठमाडौँ
उहाँ यसो भन्नुहुन्छः–
म नेपालबाट प्रथमपटक व्यापारिक उद्देश्य राखेर दोहा उत्रिएको थिएँ । पहिलोपटक अक्टुबर महिनामै आए पनि दोहा मेरा लागि निकै तातो ठाउँ थियो । तर समय र परिस्थितिका कारण यहाँको तातो नै मेरो जीवनको अभिन्न समय बन्न पुग्यो । हेर्दाहेर्दै दिन, महिना र वर्षहरु बित्दै जाँदा आज एक्काइस वसन्त पार भइसकेको छ । नेपालमा जन्मिएर आफनो
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij