काठमाडौं, १२ जेठ । बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सियाले स्पेनिस कोपा डेल रेको उपाधि जितेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनालाई २–१ ले पराजित गर्दै भ्यालेन्सियाले कोपा डेल रेको उपाधि जितेको हो ।
भ्यालेन्सियाका लागि केभिन गेमेरियो र रोड्रिगोले एक एक गोल गरे । बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले एक गोल गरे ।
खेलको २१ औं मिनेटमा गेमेरियोले गोल गर्दै भ्यालेन्सियाले अग्रता लिएको थियो । ३३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै भ्यालेन्सियाको अग्रतालाई दोब्बर बनाएका थिए । यस्तै, ७३ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो पर्याप्त रहन सकेन ।
सिजनको दोस्रो उपाधि जित्ने बार्सिलोनाको सपना अधुरै रह्यो । भ्यालेन्सिया सन् २००८ पछि पहिलोपटक कोपा डोल रे च्याम्पियन बनेको हो ।