काठमाडौं । स्पेनिस लालिगा फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा शीर्षस्थानको एट्लेटिको मड्रिडले सहज जीत निकालेको छ । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले इल्चेलाई ३-१ गोलअन्तरले हराएको हो ।
एट्लेटिकोको जीतमा लुइस सुआरेजले २ तथा डिएगो कोस्टाले १ गोल गरे । इल्चेका लुकास बोएले सान्त्वना गोल फर्काए ।
खेलको ४१औं मिनेटमा किरान ट्रिपियरको पासमा सुआरेजले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।
५८औं मिनेटमा सुआरेजले यानिक कारास्कोको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिको म्याड्रिडको पनि अग्रता दोब्बर पारे । ६४औं मिनेटमा लुकास बोएले गोल फर्काउँदै खेललाई २–१ को अवस्थामा ल्याए ।
८०औं मिनेटमा सब्सिच्युट डिएगो कोस्टाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । मार्काेनले पेनाल्टीबक्समा कोस्टामाथि नै फल गरेपछि प्राप्त पेनाल्टीमा कोस्टा आफैंले गोल गरेका थिए । उनी ७३औं मिनेटमा जोआओ फेलिक्सको स्थानमा मैदान छिरेका थिए ।
यस जीतसँगै शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले ३ अंकको अग्रता बनाएको छ । एट्लेटिकोको १२ खेलमा २९ अंक छ भने दोस्रो स्थानको रियल सोसिडाडको १५ खेलबाट २६ अंक छ । पराजित इल्चे १४ अंकसहित १५औं स्थानमा छ ।
बार्सिलोना बराबरीमा रोकियो
गएराति नै सम्पन्न अर्को खेलमा साविक उपविजेता बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा २-२ को बराबरी खेलेसँगै बार्सिलोनाले अंक बाँड्न बाध्य भयो ।
खेलको २९औं मिनेटमा भ्यालेन्सियाका मुक्टर डियाखाबीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । उनले कार्लोस सोलेरको पासमा गोल गरेका थिए । तर मेस्सीले पहिलो हाफको इन्ज्युरी समयमा खेल बराबरीमा ल्याए ।
भ्यालेन्सियाका कप्तान जोसे गायाले एन्टोइन ग्रिजमनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए । रेफ्रीले गायालाई सुरुवातमा रातो कार्ड दिएपनि भीएआरबाट कार्डलाई पहेंलोमा परिवर्तन गर्दै पेनाल्टीको निर्णय भने कायम राखे । मेस्सीको पेनाल्टी गोलरक्षक जौमेले बचाएपनि रिबाउन्डमा जोर्डी अल्बाको क्रसलाई मेस्सीले हेडरमार्फत गोलमा परिणत गरे ।
कप्तान लियोनेल मेस्सीले बराबरी गोल गर्दै विश्व फुटबलका महान हस्ती पेलेसँग कीर्तिमान बराबरी पनि गरे । उनले पेलेले सान्तोसका लागि खेल्दै एकै क्लबका लागि गरेको ६ सय ४३ गोलको कीर्तिमान बराबर गरेका हुन् । त्यस गोलको मदतले बार्सिलोना पहिलो हाफ १-१ को बराबरी गर्न सफल रहेको थियो ।
दोस्रो हाफमा बार्सिलोनाले ५३औं मिनेटमा अग्रता लियो । रोनाल्ड अराउजोले सानदार सिजर किकको मदतले गोल गर्दै बार्सिलोनालाई अघि बढाएका थिए । ६९औं मिनेटमा भ्यालेन्सिया पुन: खेलमा फर्कियो । म्याक्सी गोमेजले गायाको क्रसलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।
यस बराबरीसँगै बार्सिलोनाले १३ खेलमा २१ अंक जोड्दै पाँचौ स्थानमा यथावत रहेको छ । भ्यालेन्सिया भने १४ खेलमा १४ अंकसहित १२औं स्थानमा छ ।