काठमाडौं । कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नेपाली समुदायका परिवारहरुलाई कतार सरकारले खाद्यान्न सहयोग गर्ने भएको छ ।
कतारमा रहेका आप्रवासी समुदायका परिवारहरुलाई कतार च्यारेटीले खाद्यान्न ( फुड कीट) उपलब्ध गराई सहयोग गर्ने कार्यक्रम अन्तर्गत नेपाली समुदायका परिवारलाई सहयोग गर्न लागेको हो ।
नेपाली परिवारहरुको विवरण संकलन गर्न लागिएकाले खाद्यान्नको समस्या भएका नेपाली परिवारलाई सम्पर्क गर्न गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान आग्रह गरेका छन् ।
सहयोग प्राप्त गर्न आवश्यक पर्ने कागजातहरुमा पूरा नाम थर, कतार आईडी नम्बर, परिवारको सदस्या संख्या र कतार आईडिको प्रतिलिपी इमेल गर्न उनले आग्रह गरे ।
कतार सरकारको परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गृह मन्त्रालयले परोपकारी संस्था कतार च्यारिटीमार्फत कोरोना भाइरसको महामारीबाट प्रभावित भएका आप्रवासी श्रमिकहरुलाई यसअघि पनि सहयोग गरेको थियो ।
कतारमा स्थापित सम्पूर्ण संघ संस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू, सम्पूर्ण पंजीकृत सदस्य ज्युहरू तथा दोहामा बस्नु हुने सम्पूर्ण नेपाली दीदी बहिनी तथा दाजुभाई हरू सम्पूर्णमा हार्दिक नमस्कार अस्सलामो अलैकुम!
विज्ञप्तिसहित
विषय: आवश्यक सहयोगको लागि अनुरोध सम्बन्धमा।
उपरोक्त सम्बन्धमा कतार सरकारको परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गृह मन्त्रालय द्वारा कतारको परोपकारी संस्था कतार च्यारिटी मार्फत बिगत देखीनै कतारमा रहेका आप्रवासी समुदायको श्रमिकहरुलाई विभिन्न सहयोग गर्दै आईरहेको हामी सबैमा अवगत छ। हाल कतारमा रहेका आप्रवासी समुदायका परिवारहरुलाई कतार चारेटिले खाद्यान्न ( फुड कीट) उपलब्ध गराई सहयोग गर्ने कार्यक्रम अन्तर्गत नेपाली समुदायका परिवारहरुलाई सहयोग गर्नका लागि विवरण माग भए बमोजिम एनसीसी कतार मार्फत नेपाली परिवारहरुको विवरण संकलन गर्न गैईरहेको जानकारी गराउदै यहाँहरुको सम्पर्कमा रहेका त्यस्ता समस्यामा परेका नेपाली परिवारहरुको तल उल्लेखित बमोजिमको विवरण एनसीसी कतारको अफिसियल ईमेल ठेगना [email protected] मा पठाई सहयोग गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।
सहयोग प्राप्तका लागि आवश्यक विवरण :
१. पूरा नाम थर
२. कतार आई डि नम्बर
३. परिवारको सदस्या संख्या
४. कतार आई डि को प्रतिलिपी
मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार