काठमाडौं । बेल्जियम र इटाली युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति सम्पन्न खेलमा बेल्जियमले डेनमार्क तथा इटालीले बोस्निया हर्जगोभिनालाई हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।
घरेलु मैदानमा भएको खेलमा बेल्जियमले डेनमार्कलाई ४-२ ले हराएको हो । बेल्जियमको जीतमा रोमेलु लुकाकुले २ तथा युरी टाइलेमन्स र केभिन डि ब्रुयनाले १-१ गोल गरेका थिए । डेनमार्कका लागि ओल्डर विन्डले १ गोल गर्दा एक गोल उपहार पाएको थियो ।
टाइलेमन्सले खेलको तेस्रो मिनेटमै गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । १७औं मिनेटमा विन्डले गोल गरेपछि खेल बराबरीमा आएको थियो । पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको ५७औं र ६९औं मिनेटमा लुकाकुले गोल गरेपछि बेल्जियमले ३-१ को अग्रता बनायो । ८६औं मिनेटमा बेल्जियमका नासर चाड्लीले आत्मघाती गोल गरेपछि खेल ३-२ मा पुग्यो । त्यसको एक मिनेटपछि डिब्रुयनाले गोल गर्दै बेल्जियमलाई ४-२ को जीत दिलाए ।
इटालीले भने इटालीले बोस्निया हर्जगोभिनालाई २-० ले हरायो । इटालीको जीतमा एन्ड्रिया बेलोट्टी र डोमेनिको बर्नार्डीले १-१ गोल गरेका थिए ।
स्पेन र फ्रान्स यसअघि नै नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।