नेपाल मार्लस आर्टस् हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तीमगर लन्डन इन्टरनेसनल हल अफ फेमबाट सम्मानित भएका छन् । मास्टर कालीबहादुर १५औँ लन्डन इन्टरनेशनल हल अफ फेममा सम्मानित भएका हुन् ।हाप्किडो खेलको विकासमा पुऱ्याएको योगदानको कदरस्वरूप उनी सम्मानित भएका हुन् । उनीसँगै १९ देशका अरू ७९ जनाले पनि यो अवार्ड प्राप्त गरेका छन् । नेपालबाट यो अवार्ड प्राप्त गर्ने भने उनी एक्ला हुन् ।मास्टर कालीबहादुर दुई वर्षअघि म्युनिख हल अफ फेमबाट पनि सम्मानित भएका थिए । आत्मरक्षासम्बन्धी खेल हाप्किडो सन् २०१६ मा कालीबहादुरले नै नेपाल भित्र्याएका हुन् । राष्ट्रिय खेलकुद परिषदमा खेल संघको रूपमा दर्ता भएको छोटो समयमै देशको धेरै ठाउँमा फैलाउन सफल हाप्किडो थोरैमध्येको खेल हो ।
हाप्किडोको अहिले सातै प्रदेशमा गरी ५४ जिल्लामा शाखा विस्तार भएको छ । यसै वर्षको सुरुवातमा अन्तर्राष्ट्रिय मार्सल आर्टस् हाप्किडो सेमिनारको आयोजना गरेको संघले नियमित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको आयोजना गर्दै आइरहेको छ ।संघले जिल्ला संघको विस्तारसँगै खेल पूर्वाधारको विकासमा पनि जोड दिँदै आएको छ । संघले दाङ, नुवाकोट र पोखरामा जग्गा लिएर आफ्नो छुट्टै ट्रेनिङ सेन्टर निर्माणको काम सुरु गरिसकेको छ । धरानमा कभर्डहल निर्माणका लागि जग्गा प्राप्त गरेर प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।अन्तर्राष्ट्रिय निकायबाट प्राप्त यस्ता सम्मानले खेल विकासमा थप हौसला मिलेको उनले बताए । ‘खेलकुदको विकासकै लागि जिम्मेवारी लिएर अघि बढेको हुँ । हामीले संघ स्थापना गरेर मात्रै हुँदैन, खेलाडी र उनीहरूले अभ्यास गर्ने ठाउँको पनि विकास गर्नुपर्छ भन्ने बुझेका छौँ,’ उनी भन्छन्, ‘त्यसअनुसार छोटो समयमा खेलाडीको संख्या बढाएका मात्रै छैनौँ, तीन ठाउँमा हाम्रो कभर्ड हल निर्माणको काम सुरु गरिसकेका छौँ । धरानमा कभर्डहलका लागि जग्गा प्राप्त भइसकेको छ । अन्य ठाउँमा पनि यो प्रक्रिया अघि बढाउनेछौँ ।’