काठमाडौं, २ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शनिबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । प्रतियोगितामा सातौं जीत निकाल्ने क्रममा उसले चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्यो ।
चेन्नईले दिएको १८० रनको लक्ष्य पछ्याएको दिल्लीले एक बलअगावै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । दिल्लीको जीतमा ओपनर शिखर धवनले शतक प्रहार गरे । उनी १०१ रनमा अविजित रहे । मार्कस स्टोइनिसले २४ कप्तान श्रेयस अय्यरले २३ तथा अक्षर पटेलले अविजित २१ रन बनाए । दिल्लीलाई जीतका लागि अन्तिम ओभरमा १७ रन आवश्यक थियो । पेस बलर ड्वेन ब्राभो फिट नभएका कारण अन्तिम ओभर गर्न आएका रविन्द्र जडेजाले पहिलो बल वाइड फाले । दोस्रो बलमा धवनले १ रन लिएपछ अक्षर स्ट्राइकमा आए । उनले त्यसपछिका २ बलमा २ छक्का प्रहार गरेपछि दिल्लीलाई ३ बलमा ३ रन आवश्यक थियो । त्यसपछि २ रन लिएका अक्षरले पुनः अर्को छक्का प्रहार गर्दै दिल्लीलाई जीत दिलाए ।
यसअघि शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनाएको थियो । ओपनर फाफ डुप्लेसीले ५८ रन बनाए भने अम्बाती रायुडुले अविजित ४५ शेन वाट्सनले ३६ र जडेजाले अविजित ३३ रन बनाएका थिए । दिल्लीका एनरिच नोर्त्जेले २ तथा तुषार देशपाण्डे र कगिसो रबाडाले १ १ विकेट लिए ।
जीतसँगै ९ खेलबाट १४ अंक बटुलेको दिल्ली पुनः अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने पराजित चेन्नई ६ अंकसहित हाल पुछारबाट तेस्रोमा छ ।
शिखर धवनको शतक
१८० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीका लागि ओपनर शिखर धवनले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरे । ५८ बलको सामना गरेका उनले १४ चौका र १ छक्का प्रहार गरी १०१ रनमा अविजित रहेका थिए । आइपिएलमा उनको यो पहिलो शतक हो ।
यस संस्करणको आइपिएलमा भने शतक प्रहार गर्ने धवन तेस्रो खेलाडी हुन् । यसअघि किङ्स इलाभेन पञ्जाबका केएल राहुल र मयंक अग्रवालले पनि शतक प्रहार गरिसकेका छन् ।