काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले दिएको १६३ रनको लक्ष्य पछाएको मुम्बईले १९.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
मुम्बईका लागि क्वेंटन डिकक र सूर्यकुमार यादवले ५३(५३ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै इशान किसनले २८ रन बनाएका थिए भने केरन पोलार्डले अविजित ११ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित शर्माले ५ रन बनाएर आउट भएका थिए भने क्रुनाल पाण्डेयले अविजित १२ रन बनाएका थिए ।
यस आघ टस जितेर पहिला ब्याटिंग गर्दै दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले अविजित ६९ रन बनाएका थिए भने कप्तान श्रेयस अय्यरले ४२ रन बनाएका थिए । त्यस्तै आजिख्य रहानेले १५, मार्कोस स्टोइनिसले १३ र एलेक्स केरीले १४ रन बनाएका थिए । मुम्बईका बलर क्रुनाल पाण्डेयले २ विकेट लिए भने ट्रेन्ट बोल्टले एक विकेट लिएका थिए ।
यो जितसँगै मुम्बईले ७ खेलमा ५ खेल जितेर अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ । त्यस्तै मुम्बईले २ खेलमा हार बेहोरेको छ । त्यस्तै दिल्ली क्यापिटल्सको पनि ७ खेलमा ५ जित र २ हारसहित १० अंक छ भने रनरेटको आधारमा दिल्ली दोस्रो स्थानमा रहेको छ ।
चेन्नईमाथि बेंगलोरको उत्कृष्ट जित
रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौंथो जित निकालेको छ । दुबईमा गएराति भएका खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बैंगलोरले चौंथो जित निकालेको हो ।
बैंगलोरले दिएको १ सय ७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।
यो जितसँगै बैंगलोरले ६ खेलमा चौथो जित हासिल गरेको छ । बैंगलोरले २ खेलमा हार बेहोरेको छ । त्यस्तै चेन्नईको भने यस सिजनमा यो पाँचौ हार हो । चेन्नईले खेलेका ७ खेलमा ५ हार र २ जित हासिल गरेको छ ।