मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एस्टन भिल्लासँग लिभरपुल र घरेलु मैदानमा टोटनह्यामसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

सोमबार, असोज १९ २०७७

काठमाडौं । डिफेन्डिङ च्याम्पियन लिभरपुलले प्रिमियर लिग फुटबलमा लज्जास्पद हार व्यहोरेको छ । गएराति भएको खेलमा लिभरपुलले एस्टन भिल्लासँग ७-२ को लज्जास्पद हार व्यहोरेको हो ।

घरेलु मैदान भिल्ला पार्कमा पाहुना टोली लिभरपुललाई पराजित गर्न ओले वाटकिन्सले ह्याट्रिक गरेका थिए भने ज्याक ग्रिलिशले दुई गोल गरेका थिए । त्यस्तै जोन म्याकगीन र रोज बार्कलीले एक/एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि दुवै गोल मोहमद सलाहले गरेका थिए ।प्रिमियर लिगको इतिहासमा डिफेन्डिङ च्याम्पियन्स ७ गोल खाएर पराजित भएको यो घटना सन १९५३ पछि पहिलो पटक हो । १९५३ मा आर्सनल सन्डरल्याण्डसँग ७ गोल खाएर पराजित भएको थियो ।

चार खेल खेलेको लिभरपुलले ९ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ । तीन खेल खेलेको एस्टन भिल्लाले भने लगातार तीनवटै खेलमा जित निकाल्दै ९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।

इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा टोटनह्यामले युनाइटेडलाई ६-१ गोल अन्तरले पराजित गरेको छ । युनाइटेडले घरेलु मैदान ओल्ड टाफोर्डमा लज्जास्पद हार बेहोरेको छ । त्यस्तै टोटनह्यामको युनाइटेडको घरेलु मैदानमा अहिलेसम्मकै फराकिलो जित हासिल गरेको छ ।

टोटनह्यामको जितमा सन हेंग मिन र ह्यारी केनले २-२ गोल गरेका थिए भने टांगुय एनडोमबेले र सेर्गी अयूरिएरले एक एक गोल गरेका थिए ।

म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले एक गोल गरेका थिए ।

यस खेलमा युनाइटेडका एन्थोनी मार्सियल खेलको २८औ मिनेटमा रातो कार्ड खाएर मैदान छोड्दा युनाइटेड १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि टोटनह्यामले यस सिजनको प्रिमियर लिगमा दोस्रो जित हासिल गरेको छ । अहिलेसम्म खेलेका चार खेलमा २ जित, एक बराबरी र एक हारसहित टोटनह्यामले ७ अंक हासिल गरेको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेडको भने अहिलेसम्म प्रिमियर लिगमा ३ खेलमा यो दोस्रो हार हो । एक खेल जितेको युनाइटेडको ३ अंक रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार