काठमाडौं, २ भदौ । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधबार राति १२ बजेदेखि एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको हो।
निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।
काठमाडौं उपत्यकामा पछिल्लो समय काेराेना संक्रमणकाे उच्च दरमा बढ्दै गएकाे छ । पछिल्लाे २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा २०५ जना संक्रमित थपिएको जानकारी दिएका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा १३८, भक्तपुरमा ५० र ललितपुरमा १७ संक्रमित थपिएका हुन् ।
यस्तै नेपालमा आज (मंगलबार) थपिएका अहिलेसम्मकै धेरै एक हजार १६ जनामा संक्रमित भएका छन । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ । भने १४४ जना मृत्यु भइसकेकाे छ ।