बिहिबार, साउन १५ २०७७
काठमाडौँ(जस)–मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै छ । आर्थिक गतिविधि चलायमान भएसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमणको जोखिम बढाउँछ । यो अवस्थामा भौतिक दूरी कायम गर्ने, मास्क र स्यानेटाइजरको प्रयोग गर्ने, पटकपटक साबुनपानीले हात धुने र भीडभाडमा नजाने गर्दा सङ्क्रमणबाट जोगिन सकिन्छ । भीडभाड बढ्दा मानिसले चाहेर पनि भौतिक दूरी कायम गर्न नसक्ने हुँदा अब अझै सावधानी जरुरी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
आमनागरिकसँगै सुरक्षाकर्मीमा देखिएको पछिल्लो सङ्क्रमणले समेत जोखिम बढेको महसुस गर्न सकिन्छ । नेपाल प्रहरीको मुख्यालय प्रहरी प्रधान कार्यालयमा साउन ११ गते चार जनामा कोभिड–१९ देखियो । त्यसपछि कन्ट्रयाक्ट ट्रेसिङ गर्दा मङ्गलबारको परीक्षणमा थप ३१ जनामा कोभिड–१९ पुष्टि भयो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही पछिल्लो चरणमा प्रहरीमा कोभिड–१९ सङ्क्रमण बढेको बताउँछन् । “पहिले पनि सुरक्षा मापदण्ड बनाएर काम गरिएको थियो, हेडक्वाटरमै सङ्क्रमण देखिएपछि अझै थप सावधानीका साथ खटिन निर्देशन दिएका छौँ”, शाहीले भने । मङ्गलबार सशस्त्र प्रहरीमा पनि एकजनामा कोभिड–१९ देखिएको छ । प्रहरीमा अहिलेसम्म २०६ जनामा सङ्क्रमण भइसकेको छ ।
अहिलेसम्मको प्राप्त विवरणअनुसार चार सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) का कूल ३८२ जनामा सङ्क्रमण देखिइसकेको छ । अझै पनि १४१ जना उपचाररत रहेका छन् तर जटिल खालका बिरामी भने नभएको जनाइएको छ । हालसम्म नेपालमा १९ हजारमा कोभिड–१९ देखिएकामा झण्डै १४ हजार निको भएर घर फर्किसकेका छन् । पाँच हजार उपचारमा छन् । कोरोनाका कारण ४९ जनाको निधन भएको छ । पहिले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको बन्दाबन्दीको आदेश कार्यान्वयन गर्न सुरक्षाकर्मी अग्रपङ्क्तिमा थिए । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै मानिसको चहलपहल बढ्दा र व्यवसाय सञ्चालन हुँदा पनि अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय नै हो । त्यसकारण सुरक्षाकर्मी थप जोखिम हुने स्वास्थ्य विज्ञको भनाइ छ ।
सुरक्षाकर्मीले उपलब्ध व्यक्तिगत स्वास्थ्य सुरक्षा अपनाउँदै कार्यस्थलमा काम गरिरहे पनि कतिपय सुरक्षाकर्मीलाई कोभिड–१९ को सङ्क्रमण भएको छ । आम समुदायसँग नियमित सम्पर्कमा पुग्ने सुरक्षाकर्मीमा सङ्क्रमण हुँदा नागरिकमा सर्ने सम्भावना बढी हुन्छ । मानिसको भीडभाड रोक्नुपर्ने अवस्थामा सुरक्षाकर्मीले चाहेर पनि भौतिक दूरी कायम गर्न सकेका हुँदैनन् । अझै पनि सुरक्षामा अपनाउनुपर्ने मापदण्ड पूर्णरुपमा प्रयोग गर्न सकेका छ्रैनन् । सामान्य कपडाको मास्कमै कार्यस्थलमा खटिएका छन् । सङ्क्रमणको जोखिम हुन्छ भन्ने आँकलन गरेरै प्रहरीले उच्च मनोबलका साथ काममा खटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउँछन् । जोखिम रोक्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आवश्यक क्वारेन्टिनको व्यवस्थापन गरेका छन् । घर बिदाबाट आएकालाई क्वारेन्टिनमा राखेर स्वास्थ्य मापदण्डअनुसार राखिन्छ ।
बुधबारसम्मको प्राप्त विवरणअनुसार नेपाल प्रहरीका २०६ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म ९९ जना निको भएर घर फकिए पनि १०७ उपचाररत छन् । सीमा क्षेत्रको सुरक्षामा खटिएको सशस्त्र प्रहरीका ९२ जनामा कोभिड–१९ सङ्क्रमण भएको छ । उनीहरुमध्ये अझै २८ जना उपचाररत रहेका छन् । सीमा क्षेत्रमा प्रत्यक्षरुपमा मानिससँग सम्पर्कमा पुग्नुपर्ने भएकाले पनि सङ्क्रमण देखिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्याल बताउँछन् । नेपाली सेनामा पनि सङ्क्रमण बढिरहेको छ । नेपाली सेनामा पहिलोपटक गत जेठ ३ गते सङ्क्रमण देखिएको थियो । त्यसयता अहिलेसम्म कूल ७९ जनामा सङ्क्रमण भइसकको छ । अहिलेसम्म ७२ जना उपचारपछि निको भएको र सात जनाको उपचार जारी रहेको नेपाली सेनाका सूचना अधिकारी सन्तोषबल्लभ पौडेल बताउँछन् ।
उनका अनुसार जनमानसमा सम्पर्कमा जानुपर्ने भएकाले पनि सुरक्षाकर्मीमा जोखिम कायमै छ तर पनि सेनाले कन्ट्रयाक ट्रेसिङ युनिटमार्फत नियन्त्रणको काम जारी राखेको छ । मुख्यगरी नेपाली सेनालाई भारतबाट आउने र तेस्रो मुलुकबाट आउने नेपालीलाई सुरक्षितरुपमा होल्डिङ सेन्टरमा ल्यएर सम्बन्धित क्षेत्रमा पठाउने जिम्मेवारी छ । त्यसपछि क्वारेन्टिन व्यवस्थापन र शव व्यवस्थापन सेनाको अर्काे जिम्मेवारी हो । सरकारले तोकेको अन्य काममा पनि नेपाली सेना सक्रिय छ । नागरिकको सम्पर्कमा जाँदा आवश्यक सावधानी अपनाउँदाअपनाउँदै पनि केहीलाई सङ्क्रमण देखिएको र त्यो नियन्त्रणमै रहेको पौडेलले राससलाई बताए । उता राष्ट्रिय अनुसन्धान विभागका चार जनामा कोभिड–१९ देखिएको जनाइएको छ । मुलुकको शान्ति सुरक्षा कायम गर्न, आपराधिक घटना रोक्न, अन्य घटना हुँदा आम नागरिकले पहिले सम्झने नेपाल प्रहरीलाई नै हो । सामान्य भीडभाड, झै–झगडा, दुर्घटना, चोरी, झडप, मुलुकका महत्वपूर्ण निर्णय कार्यान्वयनमा नेपाल प्रहरी अग्रपङ्क्तिमा हुन्छ । त्यसैले अरु निकायमा भन्दा बढी प्रहरीमा सङ्क्रमण देखिएको छ । कोभिड–१९ को नियत्रणका लागि नेपालभर ४४ हजार बढी प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुरक्षाको दोस्रो घेरामा सशस्त्र प्रहरी र त्यसपछि नेपाली सेनाले काम गरिरहेको छ ।
४५ सयमै कोरोना परीक्षण, पाँच घण्टाभित्र ‘रिपोर्ट’
सरकारले शुल्क लिएर कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्न अनुमति दिएसँगै विध म्यानेजमेन्टद्वारा सञ्चालित कोभिड–१९ प्रयोगशालाले कोरोना भाइरस परीक्षण गर्ने तयारी गरेको छ । सरकारबाट अनुमति पाएसँगै उक्त प्रयोगशालाले भोलि बिहीबारदेखि औपचारिक रुपमा कोरोनाको परीक्षण थाल्ने सञ्चालक विके भण्डारीले जानकारी दिए । ललितपुरको कुपण्डोलमा रहेको उक्त ल्याबले दैनिक चार हजारभन्दा बढी नमूना परीक्षण गर्ने र पाँच घण्टामै ‘रिपोर्ट’ उपलब्ध गराउने विध म्यानेजमेन्टले जनाएको छ । प्रयोगशालामा पाँच थान अटोमेटिक आरएनए एक्ट्याक्सन मेशिन जडान गरिएको छ ।
प्रयोगशालाका प्रमुख भण्डारीले कोरोना परीक्षणको दायरा फराकिलो पारी छिटोभन्दा छिटो संक्रमित पहिचान गर्ने सरकारको यस अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको बताए । उनले सरकारले दिएको नमूना तथा स्वेच्छाले परीक्षण गर्न आउने व्यक्तिको कोरोना परीक्षण गरिने जानकारी दिए । सरकारले केही सरकारी तथा निजी प्रयोगशालालाई रु पाँच हजार ५०० शुल्क लिएर कोरोना परीक्षणको अनुमति दिएको भए पनि सो प्रयोगशालाले रु चार हजार ५०० मै कोरोना परीक्षण गर्ने जनाएको छ । “विपद्को समयमा सकिन्छ भने सस्तो मूल्यमा नै परीक्षण गरौँ भन्ने सोचका साथ काम गरेका हौँ”, प्रयोगशालाका प्रमुख भण्डारीले भने ।
कोभिड–१९ को परीक्षणका लागि जनतालाई छिटोछरितो एवं सर्वसुलभ सेवा उपलब्ध गराउने सरकारको यस प्रयासमा आफ्नोतर्फबाट यथासम्भव सहकार्य गर्ने र सहयोग पुर्याउने उद्देश्य रहेको विध म्यानेजमेन्टद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । पछिल्लो समय सरकारले लकडाउन केही खुकुलो बनाउँदै गएपछि मुलुकभर कोरोना संक्रमणको जोखिम झन् बढेको छ । जसले गर्दा कोरोना परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने आवश्यकता बढेर गएको छ ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले विध म्यानेजमेन्टलाई गत असार १२ गते कोभिड–१९ परीक्षणसम्बन्धी प्रयोगशाला स्थापनाका लागि आशयपत्र दिएको थियो । आशयपत्र पाएको एक सातामा नै आफूहरुले प्रयोगशाला स्थापना गरिसकेको प्रमुख भण्डारीले बताए । यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले प्रयोगशालाको स्थलगत निरीक्षण गरेका थिए । सरकारले यसअघि स्टार अस्पताल र केएमसीलगायत सात वटालाई कोरोना परीक्षणको अनुमति दिइसकेको छ । धुम्रबाराहीस्थित ह्याम्स अस्पतालले पनि सःशुल्क कोभिड–१९ परीक्षणको अनुमति पाएको छ । ह्याम्सले शुल्क लिएर बुधबारदेखि कोरोना परीक्षण थालिसकेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले केहीदिनअघि मन्त्रालयमा आयोजित नियमित ‘प्रेस ब्रिफिङ’मा सरकारी तथा निजी प्रयोगशालामा दैनिक १८ हजार नमूना परीक्षण गर्ने गरी तयारी भइरहेको बताए ।
थप २१० जनामा कोरोना पुष्टि
नेपालमा थप २१० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले २१० जना संक्रमित थपिएको जानकारी दिएका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ३६० रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४६ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १४ हजार २१ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा ६ हजार ३७ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ३ लाख ५८ हजार ३४४ नमुनाको पिसिआर परिक्षण भएको छ ।
त्यस्तै अहिले देशभरमा १४ हजार ४७१ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार १३९ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ५ जिल्ला कोरोना मुक्त भएका छन् । मनाङ, मुस्ताङ, रसुवा, संखुवासभा र भोजपुर रहेका छन् । नेपालमा कोरोनाबाट अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ ।
लकडाउन खुलेसँगै संक्रमणको दर बढ्यो
लकडाउन खुलेसँगै कोभिड–१९ संक्रमणको दर बढेको पाइएको छ । लकडाउन खोल्नुअघिको आठ दिन र लकडाउन खुलेपछिको आठ दिनपछि परीक्षण र संक्रमितको संख्या हेर्दा कोरोनाको संक्रमण दर बढेको पाइएको हो । लकडाउन खुल्नअघिको आठ दिनको अवधिमा कूल ३४ हजार ४५७ नमूना परीक्षण गर्दा एक हजार ४९ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै लकडाउन खुलेको पछिल्ला आठ दिनमा ३४ हजार १०९ नमूना परीक्षण गर्दा एक हजार २७९ जनामा कोरोना पुष्टि भएको छ । लकडाउन खुल्नुअघिको आठ दिन तीन प्रतिशतमा सीमित रहेको कोरोना संक्रमण पछिल्ला आठ दिनको अवधिमा बढेर ३.७ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बन्दाबन्दी खुलेसँगै सबै नवसामान्यीकरणमा आएको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले कोभिड अगाडिको जस्तै सामान्य जीवनमा फर्किएका रुपमा नबुझ्न आग्रह गरे । कोरोना भाइरसको जोखिमकैबीचमा काम गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले उचित जनस्वास्थ्य सावधानी अपनाउन अनुरोध गरे । पछिल्लो केही दिनदेखि लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा विभिन्न २९ वटा प्रयोगशालामा छ हजार ३७ नमूना परीक्षणमा २१० जनामा कोभिड–१९ पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।
बुधबार सबैभन्दा बढी डोटीमा ५२ संक्रमित फेला परेका छन् । त्यस्तै पर्सामा ३४, स्याङ्जामा २६, महोत्तरी र काठमाडौँमा १४र१४, धनुषामा १२, मोरङ, कैलाली र कञ्चनपुरमा आठरआठ, धादिङ र बागलुङमा सातरसात, म्याग्दी, सप्तरी कपिलवस्तु र बैतडीमा दुईरदुई तथा सुनसरी, सर्लाही, भक्तपुर, रौतहट, तनहुँ र सुर्खेतमा एकरएक संक्रमित थपिएका छन् । मुलुकभर अहिले पनि सक्रिय संक्रमितको संख्या पाँच हजार २०३ रहेको छ । प्रदेश नं १ मा २२६, प्रदेश नं २ मा एक हजार ९८२, वाग्मती प्रदेशमा ४८३, गण्डकी प्रदेशमा २८८, प्रदेश नं ५ मा ४०१, कर्णाली प्रदेशमा ३०२ र सुदूरपश्चिम प्रदेशमा एक हजार ५२१ सक्रिय संक्रमित छन् । रौतहट र कैलालीमा अझै पनि ५०० बढी सक्रिय संक्रमित उपचाररत छन् । क्वारेन्टिनमा रहनेको संख्या १४ हजार ४७१ छ ।
नेपालमा हालसम्म कूल संक्रमितको ७२.७ प्रतिशत कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १४६ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए । हालसम्म १४ हजार २१ जना कोरोनालाई जितेर घर फर्केका छन् । प्रदेश नं १ मा ७८९, प्रदेश नं २ मा तीन हजार १८, वाग्मती प्रदेशमा ५१८, गण्डकी प्रदेशमा एक हजार २२७, प्रदेश ५ मा तीन हजार ९१०, कर्णाली प्रदेशमा एक हजार ६८६ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ८७३ जना कोरोनामुक्त भई डिस्चार्ज भइसकेका छन् । प्रदेश नं १ को भोजपुर र संखुवासभा, बाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय संक्रमित छैनन् । नेपालमा प्रति १० लाखमा १२ हजार २८४ जनाको कोरोना परीक्षण गरिएको छ भने मृत्युदर प्रति १० लाखमा १.६ रहेको छ । हालसम्म विश्वभर एक करोड ६९ लाख १७ हजार ७१४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाबाट छ लाख ६३ हजार ९४२ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमणमुक्त भएर एक करोड चार लाख ४२ हजार ३८३ ‘डिस्चार्ज’ भएका छन् ।
बुधबार सिंहदरबारभित्र ५०८ को स्वाब संकलन
कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले स्वाब संकलन गर्न प्रयोगमा ल्याएको ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’ प्रभावकारी देखिएको छ । नेपाली सेनाको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले स्वाब संकलनका लागि पहिलो पटक प्रविधियुक्त यस्तो गाडी प्रयोगमा ल्याएको हो । विश्वभर फैलिरहेको कोभिड विषाणुको संक्रमणबाट चिकित्सकलाई जोगाउन नाष्टले गाडीभित्र यस्तो प्रविधि जडान गरेको हो । उक्त उपकरणबाट बुधबार सिंहदरबार परिसरमा महान्यायाधिवक्तासहित ५०८ जनाको स्वाब संकलन गरिएको थियो ।
सिहदरबारभित्र बढी भीड रहेका मन्त्रालयका शाखा, महाशाखा तथा फोहर संकलन र चमेना गृहमा खटिनृ जनशक्तिलाई लक्ष्य गरेर त्यहाँ यस घुम्ती भ्यानलाई प्रयोग ल्याइएको केन्द्रले जनाएको छ । दैनिकरुपमा ५०० देखि ७०० जनासम्मले सजिलै स्वाव संकलन गर्न सकिने भएकाले यो उपकरण सहज र उपयोगी सावित भएको चिकित्सकको प्रारम्भिक प्रतिक्रिया रहेको छ । चिकित्सकले कोरोना प्रभावित व्यक्तिबाट स्वाब संकलन गर्दा हुनसक्ने संक्रमणको खतरालाई अन्त्य गर्न पिपिइर्, ग्लोब्स, पोजिटिभ पे्रसर च्याम्बर, भाइरस फिल्टर गर्ने प्रविधि र आइस बक्सलगायत आवश्यकीय वस्तु यसभित्र जडान गरिएको छ । यस भ्यानमा स्वाब संकलनका लागि चाहिने जति सबै प्रविधि जडान गरिएको नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा शङ्कर ढकालले बताए ।
स्वास्थ्यकर्मीले आफ्नो खुट्टाले स्विच अन गर्दा पिपिई, ग्लोब्स र चालकले हातले स्विच अन गर्दा पूरै गाडी संक्रमणमुक्त हुने प्रविधि यसमा जडित छ । भ्यानभित्रको निःसंक्रमित क्याबिनमा तीन स्वास्थ्यकर्मी रहन सक्छन् जसबाट बाहिर बसेका सेवाग्राहीलाई सहजरुपमा सेवा उपलब्ध हुनेछ । यो भ्यानको प्रयोगबाट पिपिईमा लाग्दै आएको ठूलो रकम बचत हुने बताइन्छ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij