बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

तातोपानी, बाह्रबिसेलगायतका नदी तटीय बस्तीहरूमा अर्ली वार्निङ सिस्टम जडान गर्न सांसद दुलालको आग्रह

बुधबार, भाद्र २४ २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकको खोजी कार्यलाई प्रभावकारी र निरन्तर रूपमा अगाडि बढाउन सरकारसँग माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा सिन्धुपाल्चोक जिल्लाबाट मात्रै २ सय ३९ जना नागरिक अझै बेपत्ता रहेको बताए ।

उनले बेपत्ता नागरिकहरूको खोजी कार्यलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए । साथै, बाढीपहिरोजस्ता विपद्बाट पाठ सिक्दै नदी तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली तत्काल जडान गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘गत भदौ १० गतेको भोटेकोशीको बाढीमा सिन्धुपाल्चोक जिल्लाबाट मात्रै २ सय ३९ जना नागरिक अझै बेपत्ता हुनुहुन्छ । सबै बेपत्ता नागरिकहरूको निरन्तर खोजी कार्य प्रभावकारी ढङ्गले अगाडि बढाउनको लागि सरकारसँग जोडदार माग गर्दछु ।’

सांसद दुलालले विगतमा मेलम्चीमा आएको बाढी र अहिले भोटेकोशीमा आएको बाढीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई थप त्रसित बनाएको बताए । सिन्धुपाल्चोकको तातोपानी, बाह्रबिसेलगायतका नदी किनारका बस्तीका नागरिक बाढीको जोखिमका कारण त्राहिमाम अवस्थामा रहेको उनको भनाइ छ ।

उनले विपद्को जोखिम न्यूनीकरणका लागि नदी तटीय बस्तीमा अर्ली वार्निङ सिस्टम (पूर्वसूचना प्रणाली) तत्काल जडान गर्न सरकारसँग माग गरे ।

उनले भने, ‘घटनाबाट चेतना पैदा हुनुपर्छ । कुनै बेला मेलम्चीमा आएको बाढी अकल्पनीय थियो । अहिले भोटेकोशी नदीमा आएको बाढी हामी सबैलाई अकल्पनीय लागेको छ । अहिले पनि नदी किनारका थुप्रै बस्तीहरू सिन्धुपाल्चोक जिल्लाको तातोपानी, बाह्रबिसेलगायतका बस्तीहरू कुन दिन बाढी आउने हो भन्ने विभिन्न सूचनाबाट त्राहिमाम छन् । त्यसकारण विगतदेखि नै हामीले माग गर्दै आएका छौँ, नदी तटीय बस्तीहरूमा अर्ली वार्निङ सिस्टम जडान गर्नका लागि सरकारलाई पटक–पटक भनेका छौँ । त्यो अभिलम्ब जडान गरियोस् र घटनाबाट चेतना पैदा होस् ।’

प्रतिक्रिया
सम्बन्धित समाचार