काठमाडौं, १४ जेठ । युएईको दुबईमा मे २७ बुधवारदेखि लकडाउन खुकुलो बनाइएको छ। बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म लगाइएको कर्फ्यु बुधवारदेखि राती ११ बजेदेखि बिहान ६ बजेसम्म मात्रै गरिने भएको छ। यससँगै दुबई सरकारले आर्थिक गतिविधि सुरु गर्ने घोषणा गरेको छ। बुधवारबाट बिहान ६ बजेदेखि राती ११ बजेसम्म सबै खुल्ला गरिएको छ।
सरकारी सेवाका कार्यालयहरू पनि सबै खुल्ला हुनेछन्। त्यसैगरी विभिन्न शिक्षण संस्था तथा प्रशिक्षण केन्द्रहरू, सिनेमा हल, खेलकुद क्षेत्र, जीम हाउस, क्लब, थोक तथा होलसेल पसलहरू खुल्नेछन्।
स्वास्थ्य सेवाका क्षेत्रमा यस अघि बन्द गरिएका नाक,कान,घाँटीका उपचार गरिने क्लिनिकहरू पनि खुल्नेछन्।
दुबई विमानस्थलबाट त्यहाँको आवासीय भिसा हुनेहरू गन्तव्यमा जान तथा ट्रान्जिट भिसा हुनेहरू रोकिन सक्नेछन्।
यी सबै खुल्ला गरिएका क्षेत्रमा आवतजावत गर्दा मुखमा मास्क र हातमा ग्लोभ्स अनिवार्य लगाउनुपर्ने र अनिवार्य रूपमा सुरक्षाका उपाय अपनाउनुपर्ने नियम बनाइएको छ।