रोम(रासस/एएफपी) : कोरोनाभाइरसको सङ्क्रमणका कारण इटालीमा एकै दिन ६४७ जनाको मृत्यु भएको इटालीका स्वास्थ्य अधिकारीले बताएका छन् । यो सहित इटालीमा मृत्यु हुनेको सङ्ख्या चार हजार ३२ पुगेको छ । एक महिनाअघि भाइरसको सङ्क्रमण देखिएयता इटालीमा भयावह अवस्था सिर्जना भएको छ । चीनपछि सबैभन्दा बढी व्यक्तिको इटालीमा मृत्यु भएको छ भने सङ्क्रमित व्यक्तिको सङ्ख्या पनि चीनपछि इटालीमै देखिएको छ । चीनमा करिब तीन हजार २५५ जनाको मृत्यु भएको थियो । इटालीको नागरिक सुरक्षा निकायका अनुसार इटालीमा कूल सङ्क्रमितको सङ्ख्या ४७ हजार २१ पुगेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार यो सङ्ख्या करिब १४.६ प्रतिशतले वृद्धि भएको हो ।
इटालीको राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (आइएसएस)का अनुसार मृत्यु भएका व्यक्तिको औसत उमेर ७८.५ वर्ष रहेको छ । मृत्यु भएकामध्ये सबैभन्दा कम उमेरका व्यक्ति ३१ वर्षका थिए भने सबैभन्दा बढी उमेरका व्यक्ति १०३ वर्षका थिए । त्यस्तै मृत्यु भएकामध्ये ४१ प्रतिशत ८० देखि ८९ वर्षका तथा ३५ प्रतिशत व्यक्ति ७० देखि ७९ वर्ष उमेरका थिए । इटालीमा जापानपछि विश्वमै सबैभन्दा बढी बुढ्यौली उमेरका व्यक्ति रहेका छन् । मुलुकको कूल जनसङ्ख्याको करिब २३ प्रतिशतको उमेर ६५ वर्षभन्दा माथि छ । चिकित्सा विज्ञको भनाइमा विश्वका अन्य भागको तुलनामा यहाँ मृत्युदर बढी किन भइरहेको छ भन्ने यही तथ्याँकले नै पुष्टी गर्दछ ।
मृत्यु भएका तीन हजार २०० व्यक्तिको सर्वेक्षणका आधारमा तयार पारिएको आइएसएसको प्रतिवेदनमा मृतकमध्ये ७०.६ प्रतिशत पुरुष र २९.४ प्रतिशत महिला रहेको उल्लेख छ । तुलनात्मकरुपमा कोरोना सङ्क्रमित व्यक्तिको औसत उमेर ६३ वर्ष रहेको छ । अध्ययनमा समेटिएका ४८१ जना मृतक व्यक्तिको गहिरो विश्लेषण गर्दा झण्डै ९९ प्रतिशतमा एक वा त्योभन्दा बढी किसिमका रोगबाट पीडित भएको देखिएको छ । करिब ७३.८ प्रतिशत व्यक्तिमा उच्च रक्तचाप थियो भने ३४ प्रतिशतमा मधुमेह र ३०.१ प्रतिशतमा मुटुरोग थियो । अस्पतालमा भर्ना हुँदा ७६ प्रतिशतमा ज्वरो आएको थियो भने ७३ प्रतिशतलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । करिब ४० प्रतिशतमा खोकी थियो भने आठ प्रतिशत व्यक्तिमा झाडापखाला लागेको थियो । प्रतिवेदनमा औसतरुपमा रोगको लक्षण देखिएपछि आठ दिनभित्र मानिसको मृत्यु उल्लेख छ । यी मानिस औसतमा चार दिनमात्र अस्पतालमा भर्ना भएको पाइएको छ । सर्वेक्षणमा समेटिएका तीन हजार २०० मृत्युमध्ये नौ जना मात्र ४० वर्षभन्दा मुनिका थिए ।