मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

जेनजी आन्दोलनको एक वर्ष पूरा, सुशासन कायम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

मंगलबार, भाद्र २३ २०८३

काठमाडौं(जस)–जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ । गतवर्ष भदौं २३ गते जेनजी युवाहरुले प्रदर्शनको आयोजना गर्दै सरकारससँग सुशासन र जवाफदेहिताको माग पूरा गर्न भन्दै दबाब दिएका थिए । सो दिन सरकारले आन्दोलनको केन्द्र बनेको नयाँ वानेश्वरमा युवाहरुमाथि दमन गरेसँगै आन्दोलन हिंसात्मक बनेको थियो । जसले देशमा ठूलो धनजनको क्षति भएको थियो । सोही दिनको एक वर्ष पुगेको अवसरमा जेनजी सहिदहरूको सम्झनामा मंगलबार देशभर स्मृति दिवस मनाइयो ।
जेनजी आन्दोलन भएको दिनको स्मरणमा जेनजी सहिद परिवार कल्याणकारी समाजद्वारा तत्कालीन सङ्घीय संसद भवन नयाँबानेश्वरमा जेनजी सहिद स्मृति दिवस समारोहमा आयोजना गरिएको थियो । कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ, कानुनमन्त्री सोबिता गौतम, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, स्वास्थ्यमन्त्री निशा मेहता, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, कृषिमन्त्री गीता चौधरी लगायत कार्यक्रममा सहभागी भएका थिए । त्यस्तै कार्यक्रममा जेनजी आन्दोलनका घाइते, सहिद परिवारहरु पनि सहभागी भएका थिए । तर, कार्यक्रममा प्रधानमन्त्री बालेन साह भने उपस्थित भएनन् ।
यद्यपि प्रधानमन्त्री बालेन्द्र शाहले सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जेनजी शहीद दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत छोटो सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले जेनजी पुस्तालाई सम्बोधन गर्दै सुशासन कायम हुने बताएका हुन् । ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ,’ उनले लेखेका छन् । प्रधानमन्त्री शाहले जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् । ‘शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली,’ उनले भनेका छन् ।
यसैगरी गृहमन्त्री सुदन गुरुङले जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारले सरकारसँग ठूलो आशा राखेको भन्दै आफूहरूलाई प्राप्त विश्वासलाई निराशामा परिणत हुन नदिने बताएका छन् । मंगलबार जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालको संयुक्त आयोजनामा भएको जेनजी स्मृति दिवस कार्यक्रममा गृहमन्त्री गुरुङले आन्दोलनका क्रममा घाइते तथा शहीद भएका जेनजी युवाहरूको सम्झना अझै पनि आफूलाई भावुक बनाउने बताए । उनले आन्दोलनका क्रममा रगताम्य अवस्थामा रहेका घाइतेलाई अस्पताल पुर्याएको र शहीदहरूलाई काँधमा बोकेर पशुपति लैजाँदाको क्षण अझै स्मरणमा रहेको बताए । उनले भने, ‘आज ताली चाहिएको छैन, आज हामीलाई आशा चाहिएको छ । यही ठाउँमा बसेर हामीले लड्दै गर्दाखेरी कति भाइहरूलाई उठायौँ, रगतै–रगत भएका भाइबहिनीहरूलाई अस्पताल पुर्याएको स्मरण छ । अझै पनि त्यो रगत मेरो हातमा लागेको रगत तातै महसुस हुन्छ । ती शहीदहरूलाई काँधमा बोकेर पशुपति लैजाँदाको सम्झिँदा अझै पनि यो काँध भारी भइरहन्छ ।’
गृहमन्त्री गुरुङले घाइते जेनजी युवाहरूले आफूबाट ठूलो अपेक्षा राखेको भन्दै उनीहरूको विश्वास पूरा गर्न आफूलाई निरन्तर दबाब महसुस हुने बताए । सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको उनको भनाइ छ । उनले वर्तमान परिवर्तन र देशले प्राप्त गरेको निकासको श्रेय जेनजी आन्दोलनका शहीद, घाइते तथा आन्दोलनमा सहभागी युवाहरूलाई नै जाने दाबी गरे । गृहमन्त्रीले जेनजी आन्दोलनलाई पुराना दलका नेताहरूले विभिन्न ढंगले व्याख्या गरेकोप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको इतिहासलाई कसैले परिवर्तन गर्न नसक्ने बताए । ‘अचम्म लाग्छ, पुराना दलका साथीहरूले आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरिरहनु भएको छ । म उहाँहरू सबैजनालाई भन्न चाहन्छु, त्यो इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन । इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस् ।’
जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुँदैनौ
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनको मूल मर्मबाट आफूहरू एक इन्च पनि विचलित नहुने बताएका छन् । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार विज्ञप्ति जारी गर्दै सभापति लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताविरुद्ध सचेत युवा पुस्ता सडकमा उत्रिएको बताएका हुन् । उनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवासहित कर्तव्य पालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै, घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिको पूर्ण उपचार, परिवारको उचित हेरचाह र दीर्घकालीन पुनस्र्थापनाको दायित्व राज्यले पूरा गर्नुपर्ने बताएका छन् ।
लामिछानेले जेनजी आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा नभई पूर्णतः स्वस्फूर्त रूपमा भएको उल्लेख गर्दै त्यसलाई कुनै दल वा नेताले आफ्नो सङ्कुचित राजनीतिक स्वार्थका लागि प्रयोग गर्न नहुने बताएका छन् । उनका अनुसार शान्तिपूर्ण रूपमा सडकमा उत्रिएको युवा पुस्ताको आन्दोलन परम्परागत राजनीतिक शैलीप्रतिको स्पष्ट अस्वीकृति थियो । डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना र स्वाभिमान बोकेको युवा पुस्ताले कुशासन स्वीकार नगर्ने सन्देश आन्दोलनले दिएको उनले बताएका छन् । ‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ,’ लामिछानेले भनेका छन्, ‘हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ ।’
उनले युवा, नागरिक समाज र आम नागरिकलाई रास्वपाको कार्यसम्पादनप्रति निरन्तर रचनात्मक खबरदारी तथा निर्मम समीक्षा गर्न आग्रह गरेका छन् । तर, नागरिकमा निराशाको भाष्य स्थापित हुन नदिन पनि उनले अपील गरेका छन् । ‘नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा हामी सबै एकताबद्ध हुनैपर्छ,’ उनले भनेका छन् । लामिछानेले जेनजी आन्दोलनले देखाएको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट आफूहरू विचलित नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जेनजी आन्दोलनका घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन कांग्रेसको माग
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको बलिदानको सम्मान गर्दै राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार वक्तव्य जारी गर्दै आङ्देम्बेले आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले कर्तव्यपालनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति पनि सम्मान व्यक्त गरेका छन् ।
उनले जेनजी युवाहरू भ्रष्टाचार, बेथिति, नातावाद, कुशासन र निराशाविरुद्ध सडकमा उत्रिएको उल्लेख गर्दै उनीहरूको माग केवल सरकार परिवर्तनमा सीमित नरहेको बताएका छन् । युवाहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता, रोजगारी र अवसरसहितको नयाँ राजनीतिक संस्कार खोजेको उनको भनाइ छ । आङ्देम्बेले भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरी हिंसात्मक बनाउन उक्साउने प्रयास, तत्कालीन सरकारबाट भएको अत्यधिक बल प्रयोग तथा भदौ २४ गते भएको आगजनी, तोडफोड र विध्वंसका कारण ठूलो जनधनको क्षति भएको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले घटनाबारे अनुसन्धान गरी शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन उक्साउने, घुसपैठ गर्ने, अत्यधिक बल प्रयोग गर्ने तथा भदौ २४ गते विध्वंस मच्चाउने सबै पक्षमाथि कारबाहीका लागि सिफारिस गरिसकेको छ । प्रतिवेदनमा केही पात्रलाई जोगाउने गरी सत्ता नेतृत्वबाट हस्तक्षेप भएको हुनसक्ने आशंका व्यक्त गर्दै उनले आयोगको प्रतिवेदन गौरीबहादुर कार्की आयोगको प्रतिवेदनभन्दा विश्वसनीय रहेको दाबी गरेका छन् । उनले आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी त्यसमा गरिएका सिफारिस पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
“भदौ २३ गतेको अत्यधिक बल प्रयोगमा जिम्मेवार हुने जोसुकै हुन्, कानुनको दायरामा ल्याइनुपर्छ,” आङ्देम्बेले भनेका छन् । त्यस्तै, भदौ २४ गतेको विध्वंस, आगजनी, तोडफोड, सार्वजनिक तथा निजी सम्पत्तिको विनाश र हिंसामा संलग्न तथा आन्दोलनमा घुसपैठ गरी हिंसात्मक बनाउन भूमिका खेल्ने व्यक्ति वा समूहलाई पनि उन्मुक्ति दिन नहुने उनले बताएका छन् । राजनीतिक संरक्षण वा सत्ताको प्रभावका आधारमा कसैलाई उन्मुक्ति दिन नमिल्ने उल्लेख गर्दै उनले राज्यशक्तिको दुरुपयोग गर्ने तथा आन्दोलनका नाममा कानुन हातमा लिएर देशलाई विध्वंसतर्फ धकेल्ने सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
आङ्देम्बेले प्रधानमन्त्रीलाई जेनजीले खोजेको परिवर्तन आएको छ कि छैन भन्ने प्रश्नसमेत गरेका छन् । सरकारको कार्यशैली जेन–जीले परिकल्पना गरेको देश निर्माणतर्फ उन्मुख छ कि छैन भन्ने प्रश्न गर्दै उनले भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शिता, युवाका लागि रोजगारी, विदेश पलायन रोक्ने कार्यक्रम तथा सार्वजनिक पदमा हुने नियुक्तिमा योग्यता र पारदर्शिताबारे सरकारसँग जवाफ मागेका छन् । जेनजीको बलिदानलाई सत्तामा पुग्ने भर्याङका रूपमा प्रयोग गरेर उनीहरूले उठाएका मूल प्रश्नलाई बेवास्ता गर्ने अधिकार वर्तमान सरकारलाई नभएको उनको भनाइ छ । सरकारले आफूलाई जेनजी आन्दोलनको राजनीतिक उपलब्धिको प्रतिनिधि ठान्छ भने आफ्नो शासनशैली जेनजीका मूल्य, मान्यता र अपेक्षासँग मेल खाने प्रमाणित गर्नुपर्ने आङ्देम्बेले बताएका छन् । उनले अब अरू दलको आलोचना गर्नुभन्दा आफ्नै सरकारको कामको हिसाब जनतालाई दिनुपर्ने बताएका छन् ।
जेनजीले व्यक्ति परिवर्तन नभई व्यवस्था सञ्चालनको संस्कार परिवर्तन खोजेको उल्लेख गर्दै उनले आलोचनालाई शत्रुको बोली नठान्न, प्रश्न उठाउने नागरिकलाई दण्डित गर्ने प्रवृत्ति त्याग्न तथा राज्यलाई पारदर्शी, जवाफदेही र जनउत्तरदायी बनाउन सरकारसँग आग्रह गरेका छन् । उनले जेनजी शहीदहरूको सपना कुनै दल वा व्यक्तिको निजी राजनीतिक सम्पत्ति नभई नेपाली समाजको साझा परिवर्तनको आकांक्षा भएको बताएका छन् । त्यसलाई सत्ता प्राप्तिको राजनीतिक उपलब्धिमा सीमित नगरी राज्यको नीति, शासन र व्यवहारमै रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ । आङ्देम्बेले जेनजी शहीदहरूको बलिदानको सम्मान गर्दै घाइतेहरूको दीर्घकालीन उपचार, पुनःस्थापना र आवश्यक सहयोग सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार