काठमाडौं(एजेन्सी)–फ्रेन्च लिग च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मन (पीएसजी) ले एन्जर्सलाई २–१ ले पराजित गरेको छ । एन्जर्सको घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीलाई जिताउन नेइमार र एन्जल डी मारियाले गोल गरे । नेइमारले २०औं मिनेटमा ड्यानी आल्भेसको पासमा उत्कृष्ट हेड गोल गरेका थिए । मारियाले ५८औं मिनेटमा गोल गरे । मारियाले नेइमारको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । एन्जर्सका लागि फ्लाभिएन टेटले ८८औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।
८५औं मिनेटमा पीएसजी १० खेलाडीमा समेटिएको थियो । विपक्षीलाई फल हानेपछि पीएसजीका मार्किन्होस रातो कार्ड पाउँदै बाहिरिएका थिए । यसअघिनै लिग जितेको पीएसजीले ३६ खेलबाट ८८ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लिलेको ३५ खेलबाट ६९ अंक छ । ४५ अंक बनाएको एन्जर्स १२औं स्थानमा छ ।