अष्ट्रेलिया (जस)– अष्ट्रेलियाको सिड्नीमा गैर आवासीय नेपाली (एनआरएनए) को तेस्रो ओशिनिया क्षेत्रीय सम्मेलन शनिबारदेखि शुरु भएको छ । दुई दिनसम्म चल्ने यो ओसिनिया क्षेत्रीय सम्मेलनको उद्घाटन कानुन मन्त्री भानुभक्त ढकाल, अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोलम्यान, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले गरे । एनआरएनएहरू माझ निकै चासो र अर्थपूर्ण रूपमा हेरिएको यो सम्मेलनमा बिभिन्न क्षेत्र र पेशासंग आबद्ध ब्यक्तित्वहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा नेपालबाट कानुन मन्त्री भानुभक्त ढकाल, अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोलम्यान, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, महासचिव बद्री केसी, सह कोषाध्यक्ष सोम सापकोटा लगायत बिदेशी प्रतिनिधिको पनि सहभागिता रहेको छ । सम्मेलन ‘समृद्ध नेपालको लागि एनआरएन सदैव र सबैको लागि’ भन्ने मूल नारामाथि आधारित रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भबन भट्टले तेस्रो ओशेनिया क्षेत्रीय बैठकको सफलताको कामना गरे । ‘कार्यक्रममा उपस्थित कानुन मन्त्री माननीय भानुभक्त ढकालज्यू लगायत सबैमा हार्दिक धन्यबाद। बैठकको भव्य सफलताको पनि कामना गर्दछु, यस्ता सम्मेलनले एनआरएन अभियानमा लागेका साथीहरुलाई उर्जा प्राप्त हुनेछ र सम्मेलनबाट छलफल गरेर नयाँ घोषणापत्र घोषणा हुनेछ’, भट्टले भने ।

‘इन्भेस्टमेन्ट, इनोभेसन र टुरिजम’ भन्ने विषयमा केन्द्रित हुने सम्मेलनमा यस क्षेत्रका बुद्धिजिबिले कार्यपत्रहरु पेश गरेको र त्यसमाथि ब्यापक बौद्धिक तथा ब्यबहारिक बहस भइरहेको आयोजक समितिका संयोजक तथा एनआरएन ओसेनिया संयोजक धर्मराज अधिकारीले बताए । सम्मेलनमा क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारी, अस्ट्रेलियामा क्रियाशील डा राजु अधिकारि, डा कुश श्रेष्ठ, डा कृष्ण हमाललगाएतले विभिन्न बिषयमा कार्यपत्र पेश गरेका छन् । सम्मेलनका निष्कर्षहरू नेपालको विकास निमार्णका लागि निकै उपयोगी हुने संयोजक अधिकारीले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुल आचार्यले भने -“गैर आवासीय नेपाली संघले लामो समय देखि उठाउदै आएको संसारभरि छरिएका नेपालीहरुको बौद्धिक लगानी नेपालकै विकास र समृद्धिका लागि परिचालित गर्ने विषय ढिलै भए पनि उठाएकोमा परराष्ट्र मंत्री प्रदिप ज्ञवाली लगायत नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु। तर प्रस्तावित ‘ब्रेन गेन सेन्टर’ (BGC) को स्थापना, संचालन तथा अनुगमनका लागि गैर आवासीय नेपाली संघसंग सहकार्यको कुनै चर्चा पनि नहुनु दुखको कुरा हो। यसबारे मैले माननीय परराष्ट्र मंत्री तथा परराष्ट्र सचिवज्यूको ध्यानाकर्षण गराइसकेको छु। ८० मुलुकमा फैलिएको र अझै विस्तार हुने क्रममा रहेको संघको नेटवर्कसंग सहकार्य गरी प्राथमिकताहरु तोकी ‘ब्रेन ड्रेन’ लाई रोकेर ‘ब्रेन गेन’ का लागि काम गर्न म नेपाल सरकारलाई आग्रह गर्दछु। गत अक्टोबर महिनामा गैर आवासीय नेपाली संघद्वारा काठमाडौँमा आयोजित पहिलो विश्व ज्ञान सम्मेलनबाट विदेशमा रहेका नेपालीहरुको ज्ञान र सीप कसरी नेपालको विकासमा प्रयोग गर्ने भन्नेबारे ठोस सुझावहरु सहितको प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीज्यूलाई बुझाइएको थियो। सोही प्रतिवेदनको स्पिरिटको आधारमा अघि बढ्न पनि म सबै साथीहरुलाई अनुरोध गर्दछु।”

सम्मेलनमा न्युजिल्याण्ड, भानुवातुलगायत २० भन्दा बढी देशबाट पनि प्रतिनिधि आएका छन् । सम्मेलनको पहिलो दिन शनिबार लगानी, पर्यटन प्रर्वधन अनि बिदेशमा सिकेको सिप र ज्ञानलाई नेपालको विकासमा कसरी लान सकिन्छ भन्ने बिषयमा छलफल भएको छ । सममेलन आज सिड्नी घोषणापत्र सार्वजनिक गर्दै समापन हुनेछ । कार्यक्रमको समापनसँगै अतिथिलाई सिड्नी भ्रमणको ब्यवस्था समेत गरिएको आयोजकले जानकारी दिएका छन् ।

अष्ट्रेलियन मन्त्रीद्वारा १० लाख डलर सहयोग घोषणा
अष्ट्रेलियाका अध्यागमन मन्त्री डेभिड कोलम्यानले सिड्नीमा नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख डलर दिने घोषणा गरेका छन् । सिड्नी र गैरआवासीय नेपाली संघको ओसिनिया रिजनल सम्मेलनलाई शनिबार सम्बोधन गर्दै मन्त्री कोलम्यानले सहयोगको घोषणा गरेका हुन् । यहाँको सबैभन्दा पुरानो संस्था नेप्लीज अष्ट्रेलियन एसोसिएसन (एनएए)मार्फत् उनले रकम सहयोग गर्ने छन् । यो सहयोगलाई यहाँका नेपाली समुदायले महत्वपूर्ण उपलब्धी ठानेको सम्मेलनका आयोजक तथा गैरआवासीय नेपाली संघ ओसिनिया संयोजक धर्मराज अधिकारीले बताए ।
