मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

‘बी’ डिभिजन लिग फुटबल : सातदोबाटो र बाँसबारी विजयी लयमा

मंगलबार, फाल्गुन २७ २०७६

काठमाडौँ(जस)–सातदोबाटो युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा लगातार चौथो जीत हात पारेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा मंगलबार भएको खेलमा सातदोबाटोले पुल्चोक स्पोर्टस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार चौथो जीत हासिल गरेको हो ।
यसअघि सातदोबाटोले श्री कुमारी क्लब, नयाँ बस्ती युथ क्लब र टुसाल युथ क्लबलाई पराजित गरेको थियो । सातदोबाटोको जीतमा भुवन बस्नेतले निर्णायक गोल गरे । उनले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे । जीतसँगै सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोले चार खेलमा १२ अङ्क जोडेको छ ।
यता पुल्चोकको भने यो लगातार चौथो हार व्यहोर्नु परेको छ । लिगको पुछारमा रहेको पुल्चोकले अहिलेसम्म अङ्क जोड्न सकेको छैन । आगामी चैत २३ गतेसम्म चल्ने लिगमा विभिन्न १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने एक टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने अन्तिम स्थानमा रहने एक टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।
बाँसबारीको अपराजित यात्रा कायमै
बाँसबारी क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा अपराजित यात्रालाई चौथो खेलसम्म कायम राखेको छ । बाँसबारीले मंगलबार रानीपोखरी कर्नर टीम (आरसीटी)लाई २(१ ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा बाँसबारीले १–० ले पछि परेको स्थिति उल्टाएको हो । शिसश थापाले २४औं मिनेटमा गरेको गोलमा आरसीटीले अग्रता लिएको थियो । तर, आरसीटीले उक्त अग्रतालाई जोगाउन नसक्दा अंक गुमायो । अमृत गुरुङको गोलमा बाँसबारीले ५१औं मिनेटमा बराबरी गोल फर्काएको थियो । ७६औं मिनेटमा सजिन थापामगरले गरेको गोल बाँसबारीलाई तीन अंक दिलाउन पर्याप्त भयो । बाँसबारीले चार खेलबाट १२ अंक जोडेको छ । तथापि गत सिजन पुछारमा रहेका कारण बाँसबारीको एक अंक घटाइएको छ । आरसीटी भने अझै जीतविहीन छ । आरसीटीले दुई खेल बराबरी खेलेको छ भने दुई खेलमा पराजित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार